कात्तिक १५ गतेदेखि नारायणी महोत्सव हुने

डिसी नेपाल
१ कार्तिक २०७६ १९:१३

चितवन । अपाङ्गता भएका बालबालिकाहरुको सहयोगार्थ आगामी कात्तिक १५ गतेदेखि नारायणगढमा ‘नारायणी महोत्सव २०७६’ हुने भएको छ। अपाङ्गता भएका बालबालिकाहरुको लागि काम गर्दै आएको संस्था रेविका बाल प्रतिष्ठानले आयोजना गरेको महोत्सव कात्तिक २५ गतेसम्म नारायणी नदी किनारमा हुनेछ।

भरतपुर २ क्षेत्रपुरमा रहेको प्रतिष्ठानमा रहेका अपाङ्गता भएका बालबालिकाको सहयोगार्थ महोत्सव गर्न लागिएको आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। संस्थाका व्यवस्थापक रोशन राजकर्णिकारका अनुसार महोत्सवमा तीन सय वटा व्यवसायिक स्टलसहित पिङ, डुङ्गालगायतका मनोरञ्जनात्मक खेलहरु समेत समावेश गरिनेछ।

महोत्सवलाई थप आकर्षक बनाउनका लागि बद्रि पङ्गेनी, प्रमोद खरेल, प्रकाश सपुत, शिव परियार, ज्योति मगर, प्रिती आले, रामजी खाँण, दुर्गेश थापा, कुलेन्द्र विश्वकर्मा, रमेशराज भट्टराईसहित ३५ जना भन्दा बढी कलाकारहरुको प्रस्तुती रहने राजकर्णिकारले बताए।

महोत्सवलाई पूर्ण रुपमा सुरक्षित बनाउनका लागि महोत्सव परिसरमा सिसि क्यामेरा जडानसहित सम्पूर्ण व्यवसायिक स्टलको वीमा गरिएको राजकर्णिकारको भनाइ छ।

महोत्सवबाट एक करोड रुपैयाँ आम्दानी गर्ने तथा महोत्सव सञ्चालनका लागि ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको रेविका बाल प्रतिष्ठानका अध्यक्ष रुवि थापाले बताइन्।

महोत्सवको स्टलहरु बुकिङ खुला गरिएको उल्लेख गर्दै थापाले महोत्सवको दैनिक १० हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने बताइन्। शारीरिक रुपमा असक्त भएका २५ जना बालबालिकाहरु प्रतिष्ठानमा राखिएको उल्लेख गर्दै महोत्सवबाट भएको बचतबाट उनीहरुको शिक्षा, दीक्षामा खर्च गर्ने थापाले बताइन्।

महोत्सव अवलोकन गर्न सर्वसाधारणका लागि ५० रुपैयाँ तथा विद्यार्थीहरुका लागि ४० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने प्याकेजमा टिकट खरिद गर्नेलाई विशेष छुट रहेको थापाले बताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *