एनआरएनए पहिलो बैठकको निर्णय: श्रमिक कल्याणकारी कोषका लागि १ करोड ६ लाख 

डिसी नेपाल
३ कार्तिक २०७६ १०:४७

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहिलो बैठकले मध्यपूर्वी मुलुकहरूमा रहेका नेपाली श्रमिकका लागि स्थापित श्रमिक कल्याणकारी कोषका लागि १ करोड ६ लाख रुपैयाँ राहत रकम दिने निर्णय गरेको छ । संघका अध्यक्ष कुमार पन्तको प्रस्तावमा संघका नव निर्वाचित पदाधिकारी एवं सदस्यले उक्त रकम दिने घोषणा गरेका हुन् । बैठकले १९ वटा एजेन्डामाथि बृहत् छलफल गरेको थियो।

बैठकले यसअघिकै कार्यसमितिको एजेन्डालाई निरन्तरता दिँदै विभिन्न महत्वपूर्ण निर्णय समेत गरेको छ । बैठकले सरकारले अघि सारेको भिजिट नेपाल २०२० मा सहकार्य गर्नका लागि निवर्तमान अध्यक्ष भवन भट्टको संयोजकत्वमा समिति गठन गरेको छ । यस्तै पूर्वाधार विकासका लागि १० अर्बको लगानी भित्र्याउने अभियान अगाडी बढाउन अध्यक्ष कुमार पन्तको संयोजकत्वमा एक समिति बनाई १ महिनाभित्र कार्ययोजना प्रस्तुत गर्न बैठकले निर्देशन दिएको छ।

विद्युतीय पद्दतीबाट प्रत्यक्ष मतदान गर्न र निशुल्क सदस्यता बारे अध्ययन प्रतिवेदन पेश गर्न उपाध्यक्ष मन केसीको संयोजकत्वमा एक समिति गठन गरेको छ । महासचिव डा हेमराज शर्माको संयोजकत्वमा विशेष महाधिवेशन बोलाउने तयारी गर्ने निर्णय समेत बैठकले गरेको छ । विशेष महाधिवेशनले संस्थागत संरचना र निर्वाचन प्रणालीको परिवर्तन गर्नेछ । यस्तै बैठकले संघको काठमाडौँस्थित सचिवालयलाई चुस्त बनाउन डा हेमराज शर्माको नेतृत्वमा एक समिति गठन गरेको छ।

संस्थाको आर्थिक प्रतिवेदन तयार गर्न कोषाध्यक्ष महेश श्रेष्ठको संयोजकत्वमा एक समिति निर्माण गर्ने निर्णय गरेको छ । आगामी २ वर्षका लागि कार्ययोजना ररणनीति तय गर्नका लागि निकट भविष्यमा एक कार्यशालाको आयोजना गर्ने भएको छ ।

संघमा अब ५ विभाग

बैठकले ५ उपाध्यक्षहरूको नेतृत्वमा ५ विभाग ९वैदेशिक रोजगार, परोपकारी तथा मानव कल्याण, व्यापार तथा लगानी, सीप, ज्ञान, र नवप्रवर्तक, नेपाल प्रवर्द्धन निर्माण गर्ने र विभागमा अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्यहरू र सम्बन्धित क्षेत्रका विज्ञहरूको रहने व्यवस्था गरेको छ । एनआरएनए फाउण्डेसन स्थापना गरी परोपकारका सबै कार्यक्रम यसै फाउण्डेसनमार्फत एकद्वार प्रणालीबाट गर्ने निर्णय गरेको छ । प्रथम एनआरएन विज्ञ गर्ने निर्णय गरिएको छ । क्षेत्रीय सम्मेलन मध्यपूर्वमा आयोजन गर्ने निर्णय समेत बैठकले गरेको छ।

संघको संरक्षक समिति गठन

बैठकले गैरआवासीय नेपाली संघको संरक्षक परिषद्को सदस्य समेत चयन गरेको छ । बैठकमा उपस्थित सम्पूर्ण पदाधिकारी र सदस्यको सहमतिमा प्रमुख संरक्षक शेष घले चयन हुनुभएको छ । यस्तै संरक्षक समितिको सदस्यहरूमा डा उपेन्द्र महतो, पूर्वअध्यक्षहरू जीवा लामिछाने, देवमान हिराचन, निवर्तमान अध्यक्ष भवन भट्ट र पूर्वसंरक्षक रामप्रताप थापा चुनिनु भएको छ ।

सल्लाहकार समिति गठन

बैठकले गैरआवासीय नेपाली संघको ११ सदस्यीय सल्लाकार समितिमा समेत गठन गरेको छ । सो समितिमा निवर्तमान उपाध्यक्ष कुलआचार्य युके, सपिला राजभण्डारी (रसिया), रामेश्वर शाह (नेपाल), टीबी कार्की (कतार), सोम सापकोटा (माल्टा), त्रिलोक गुरुङ (हङ्कङ), विश्व आदर्श पण्डित (युके), पुष्प तिमल्सिना (स्पेन) ,जमुना गुरुङ (अष्ट्रेलिया), एसी शेर्पा (अमेरिका), र हरिबोल भट्टराई (अमेरिका)  रहेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *