नेकपा एकता प्रक्रिया : पोलिटब्यूरो गठन हुन सकेन, विभाग र जनवर्गीय संगठन अझै अपूर्ण

डिसी नेपाल
६ कार्तिक २०७६ ८:२९

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले विगतमा भएका सहमति कार्यान्वयन गर्ने संकेत नदेखाएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रुष्ट बनेका छन्।

प्रचण्डले आफूलाई कार्यकारी अधिकारसहितको अध्यक्ष दिनुपर्ने बताउँदै आएपछि त्यसमा अर्का अध्यक्ष ओली तयार नभएपछि दुई अध्यक्षबीचको विवाद सतहमा नै देखिएको छ। शीर्ष नेताबीच सम्बन्ध राम्रो नहुँदा त्यसको असर विभाग तथा जनवर्गीय संगठन गठनमासमेत देखिएको छ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा गठन भएको झण्डै डेढ वर्ष पूरा हुँदा समेत एकताले पूर्णता पाउन सकेको छैन। तत्कालीन एमाले र माओवादी केन्द्रबीचमा ३ जेठ २०७५ मा पार्टी एकता भएको थियो ।

दुई ठूला कम्युनिस्ट पार्टीबीच एकीकरण भएको १८ महिना बित्दा समेत एकताको सबै काम पूर्ण रूपमा टुंगो नलाग्दा उसका विभाग तथा जनवर्गीय संगठन निष्क्रिय बनेका छन्।

नेताहरुले एकताको सबै काम छिटै टुंगो लाग्ने र सबै विभाग र जनवर्गीय संगठन सक्रिय हुने बताए पनि त्यस्तो संकेत देखिएको छैन। एकताको सबै काम टुंगो लगाएर देशैभर दुई चरणको अभियान सुरु गर्ने नेकपाको तयारी छ,। तर शीर्ष नेतामा कुरा नमिल्दा एकताका बाँकी काम पनि ओझेलमा परेका छन्।

पछिल्लो समम ओली र प्रचण्डबीच विगतमा भएका सहमति कार्यान्वयन गर्ने विषयमा विवाद छ। पार्टी एकता हुँदा आलोपालो सरकार संचालन गर्ने भद्र सहमति गरिएको भन्दै प्रचण्डले उक्त सहमति कार्यान्वयन हुनुपर्ने बताउँदै आएका छन् भने ओलीले पाँच वर्षसम्म आफैं प्रधानमन्त्री बन्ने अडान राखेका छन्।

प्रचण्डले ओली पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने भए पार्टी संचालन गर्ने कार्यकारी अधिकार आफूलाई दिनुपर्ने बताउँदै आएका छन्। तर प्रधानमन्त्री ओली त्यसमा पनि तयार छैनन्।

यद्यपी प्रचण्डले बाहिर मिडिया आएजस्तो आफूहरुबीच कुनै विवाद नभएको बताएका छन्। मंगलबार पाँचथर पुगेका प्रचण्डले बाहिर आएजस्तो आफूहरुबीच कुनै विवाद नभएको बताएका थिए। उनले आफूहरु नियमति सम्कर्पमा नै रहेको भन्दै महाधिवेशनसम्म जाँदा विगतमा भएका सहमति कार्यान्वयन हुने विश्वास व्यक्त गरेका थिए।

तर दुई अध्यक्षबीच सहमति नहुँदा एकता प्रक्रियाका बाँकी कामले भने गति लिन सकेको छैन। पार्टी एकतापछि नेकपाका जनसंगठनको कार्यक्रम शून्य जस्तै छ। एकताबारे अझै पार्टीले जनस्तरसम्म सन्देश प्रवाह गर्न नसकेको भन्दै पार्टी तहबाट नै आलोचना हुने गरेको छ ।

नेकपामा २२ वटा जनसंगठन छन्। यसैगरी, ३३ वटा विभाग छन्। पार्टी एकताको लामो समयपश्चात् पार्टीले यी संगठन र विभागको नेतृत्व टुंगो लगाएको भए पनि पूर्णता दिन सकेको छैन। नेताहरूको रुचि बाझिँदा संगठन र विभागले पूर्णता नपाएको हो।

नेकपाको अझैसम्म पनि पोलिटब्युरो कमिटी गठन हुन सकेको छैन । नेकपा स्रोतका अनुसार पोलिटब्युरो गठनका लागि तत्कालीन एमालेका तर्फबाट नामावली तयार भए पनि तत्कालीन माओवादी केन्द्रका तर्फबाट नामावली टुंगो लाग्न नसक्दा ढिलाइ भएको हो।

नेकपामा ४४५ सदस्यीय केन्द्रीय कमिटी छ। पार्टीको अन्तरिम विधानअनुसार केन्द्रीय कमिटीको एक तिहाइ अर्थात् १४७ जनासम्मको पोलिटब्युरो कमिटी बनाउनुपर्छ । शीर्ष नेताबीच तत्कालीन एमालेलाई ८१ र माओवादीलाई ६६ जना भागबन्डा गर्ने सहमति यसअघि नै भइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *