यस कारण भइरहेको छ, सरकारको आलोचना

डिसी नेपाल
६ कार्तिक २०७६ ११:५०

काठमाडाैं।  सरकार आलोचित छ। आलोचना खेप्ने यो पहिलो सरकार होइन। यसअघिका सबै सरकारले आलोचना खेपेकै हुन्। तर, अरु सरकारको आलोचना र यो सरकारको आलोचनामा केही फरक छ। यसअघिका सरकार गठबन्धन सरकार थिए। ती सरकारको काँधमा ठूला ठूला राजनैतिक परिवर्तनका जिम्मेवारीहरु थिए त्यसैले ती सरकारले विकासका काम नगर्दा पनि यिनै बहानामा जोगिएका थिए।

तर, अहिले न राजनैतिक परिवर्तनको एजेण्डा छ न त गठबन्धनका कसैले साथ नदिएर सरकार ढल्ला भन्ने चिन्ता। सरकार शक्तिशाली छ तैपनि आलोचित छ।

निर्वाचन अगाडि बाम गठबन्धनले बहुमत पाएमा देशलाई समृद्धितर्फ लैजाने बाचा गरे। जनताले पत्याएर मत दिए। बाम गठबन्धनले मागेजस्तै झण्डै २ तिहाइ बहुमत पनि पायो। गठबन्धनबीच एकीकरण पनि भयो र विशाल नेपाल कम्युनिष्ट पार्टी पनि गठन भयो।

नेताले जनतासँग मागेका कुरा पाए। अब जनताको पालो थियो नेतासँग माग्ने तर जनताले भने मागेको केही पनि पाएनन्। त्यसैले सरकार आलोचित छ। शक्तिशाली भएर पनि निरन्तर गाली पाइरहेको छ। यस्तो किन भयो ? यसको विश्लेषण जरुरी छ।

एकपटक एकजना ज्वाइँ ससुराली गएछन्। ज्वाइँ नबोली बसेको देखेर ससुरा बाले भनेछन् ‘ज्वाइँ गफ गर्नुस् न।’ ज्वाइँले भनेछन् ‘ससुरा बा मलाइ त्यस्तो गफ गर्नै आउँदैन के गरुँ।’ ससुरा बाले फेरि थपेछन् ‘जे भए पनि गफ त गर्नुस्, यसरी नबोली बसेको राम्रो देखिएन।’

त्यसपछि ज्वाइँले भनेछन् ‘हेर्नुस् ससुरा बा भर्खर मंसिर लागेको थियो। खेतमा पहेंलपुर धान पाकेको थियो। हजुरकी छोरी पनि माइती आएकी घरमा म एक्लै थिएँ। त्यति धेरै धान कसरी काटिसक्नु भनेर सोच्दै थिएँ। यत्तिकैमा आइडिया आयो। हाम्रो खेत वरपर एउटा स्याल घुमिरहन्थ्यो। मेरो पालो त्यो स्यालको पुच्छरमा हँसिया बाँधि दिएँ। स्याल खेतभरी दौडियो। त्यसको पुच्छरमा बाँधेको हँसियाले सबै धान काटेर सक्यो।’ ससुराले जिल्ल पर्दै भने ‘यस्तो पनि हुन्छ र ?’ ज्वाइँले जवाफ दिए ‘गफ त हो नि ससुरा बा।’

हामीकहाँ पानीजहाज र रेलको कुरा गरिँदैछ। हाम्रोमा पानीजहाज र रेल चल्न नसक्ने होइन। कैयौं पहाडी देशमा रेल कुदिरहेका छन्, कैयौं भूपरिवेष्ठित देशले पानीजहाज चलाउँछन्। भूपरिवेष्ठित देश मंगोलियामा सयौं पानी जहाज छन्। यो समृद्धि नेपालमा सम्भव छैन भन्ने पनि होइन र यी कुरा नेपालमा ल्याउनु हुँदैन भन्ने पनि होइन।

हाम्रो देशमा त्यही भएको हो। जनताले जिम्मेवारी दिएका नेताले विकासको योजना बनाउने हो। त्यो योजना पूरा गर्न कति समय, स्रोत साधन र जनशक्ति लाग्छ भन्ने कुराको विज्ञसँग परामर्श गरेर लागत पूर्वानुमान गर्ने हो। त्यसको लागि स्रोत साधन जुटाउने हो। अनि त्यसलाई कार्यान्वयनमा लैजाने हो।

काम सम्बन्धित व्यवसायीबाट गराउने हो, आफूले प्राविधिकसँग गएर त्यसको अनुगमन गर्ने हो। तर, हाम्रोमा निर्वाचनका बेला नेताले आश्वासन बाँडे। उनीहरुले आश्वासन त बाँडे तर त्यसको प्राविधिक पक्ष उनीहरुलाई जानकारी नै थिएन। त्यसलाई पूरा गर्ने क्रममा के कस्ता चुनौतीहरु आउँछन् भन्ने पूर्वानुमान गरेकै थिएनन्। अहिले त्यसलाई कार्यान्वयन गर्ने क्रममा समस्या आए त्यसपछि बल्ल उनीहरुको चेत खुल्दैछ। बल्ल बुझ्दैछन्, भनाइ र गराइमा कति फरक हुँदो रहेछ।

आदर्श र यथार्थ नितान्त फरक कुरा हुन्। आदर्श कल्पनामा मिठो सुनिन्छ तर त्यही आदर्शमा बाँच्न सम्भव छैन। बाँच्ने यथार्थमै हो। हाम्रोमा पनि निर्वाचनका बेला उम्मेदवारले आदर्शकै कुरा गरेका हुन्। तर, ती सबै आदर्शका कुरालाई यथार्थमा परिणत गर्नु सहज थिएन। त्यही आदर्श यथार्थमा परिणत नहुँदा जनता आक्रोशित भएका हुन्।

आदर्शले केही समय झुक्याउन सकिएला तर सधैं झुक्याउन सकिँदैन। अहिलेको जनआक्रोश यही हो। भैंसीलाई हरियो चस्मा लगाएर पराल हालिदिँदैमा भैंसी झुक्किँदैन। उसले चिन्छ – त्यो हरियो घाँस होइन पराल हो। किनकि चस्माले उसको आँखालाई झुक्याउन सक्ला तर उसको जिब्रोलाई झुक्याउन सक्दैन। उसले थाहा पाइहाल्छ।

हामीकहाँ पानीजहाज र रेलको कुरा गरिँदैछ। हाम्रोमा पानीजहाज र रेल चल्न नसक्ने होइन। कैयौं पहाडी देशमा रेल कुदिरहेका छन्, कैयौं भूपरिवेष्ठित देशले पानीजहाज चलाउँछन्। भूपरिवेष्ठित देश मंगोलियामा सयौं पानी जहाज छन्। यो समृद्धि नेपालमा सम्भव छैन भन्ने पनि होइन र यी कुरा नेपालमा ल्याउनु हुँदैन भन्ने पनि होइन।

तर, सडक संरचनाकै बेहाल भएको देशमा रेल र पानीजहाजको सपना कसरी पत्याउने? सडक नै गतिलो बन्न सकिरहेका छैनन् रेल आउला भनेर कसरी आशा गर्ने? सरकारले देखाएको समृद्धिको सपना जनताले पत्याउन सकेका छैनन् त्यसैले सरकार आलोचित छ।

भर्खरै चिनियाँ राष्ट्रपति नेपाल आएर गए। सी नेपाल आउँदा काठमाडौंलाई झकिझकाउ पारियो। राजधानीका सडक एक सातामै चिल्ला भए। बिग्रिएका सडक रातारात मर्मत भए। यसले देखाउँछ, इच्छाशक्ति भएमा समृद्ध सम्भव रहेछ। अन्यत्र होइन हाम्रो नेपालमा सम्भव रहेछ, हामी नेपालीबाटै सम्भव रहेछ।

तर, सी आउँदा रातारात बन्ने सडक अरु बेला किन बन्दैनन्? सी हिँड्ने राजधानीका सडक एक सातामै मर्मत भइसक्दा नागढुंगाको सडक महिनौं बितिसक्दा पनि किन बनेन? सी हिँड्ने चाबहिलको चक्रपथ रातारात चिल्लो भयो तर त्यही चावहिलबाट जोरपानी जाने सडकमा किन सुख्खामा धुलो पानी पर्दा हिलो भरिन्छ? यी सबको पछाडिको एउटै कारक तत्व हो इच्छा शक्ति।

सडक संरचनाकै बेहाल भएको देशमा रेल र पानीजहाजको सपना कसरी पत्याउने? सडक नै गतिलो बन्न सकिरहेका छैनन् रेल आउला भनेर कसरी आशा गर्ने? सरकारले देखाएको समृद्धिको सपना जनताले पत्याउन सकेका छैनन् त्यसैले सरकार आलोचित छ।

स्रोत भन्छ चावहिल जोरपाटी सडक प्रधानमन्त्री स्वयंले निर्देशन नदिँदासम्म बन्दैन। स्थानीय तहका जनप्रतिनिधि, सांसद र मन्त्रीसम्मको पावरले त्यो सडक बन्ने वाला छैन। प्रधानमन्त्री पनि यो सडक बनाउन निर्देशन दिन सकिरहेका छैनन्। यस्तो किन भइरहेको छ?

स्रोत भन्छ यसको पछाडि मतदातालाई प्रभावित गर्न नचाहने स्वार्थ लुकेको छ। निर्वाचनमा आफ्ना मतदाता घट्ने डरले विकासका काममा अगाडि बढ्न आनाकानी भइरहेछ। निर्वाचनका बेला ‘एजेण्डा’ र ‘आश्वासन’को रुपमा देखाउन र मतदाता लोभ्याउन विकासका काम रोकेर चुनावसम्म अलपत्र राखिन्छ हाम्रो देशमा।

अहिले सरकारले ठूला र दीर्घकालीन काम सुरु गरेको भनिरहेको छ। हो, दीर्घकालीन संरचना तयार गर्न ठूलो लगानी र लामो समय लाग्छ। तर, दीर्घकालीन काम सुरु गरेको भन्दैमा नियमित र सानातिना कामलाई नजरअन्दाज गर्नु हुँदैन। जनताले तत्कालै परिवर्तन महसुस गर्ने र सरकारले केही गरिरहेछ भन्ने यस्तै साना कामले हो। तिनै साना काममा सरकार चुकिरहेछ।

कुनै परिवारले घर कति वर्षमा बनाउला? कसैकसैले जीवनभरमा एउटा घर बनाउलान् कसैको जीवन घर नै नबनाइ पुर्ख्यौली घरमा पनि बित्ला। एउटा परिवारको लागि घर बनाउनु निकै दीर्घकालीन महत्वको र ठूलो लगानी लाग्ने विशेष परियोजना हो।

तर, परिवारमा विशेष परियोजना चलिरहेको छ भन्दैमा त्यो परिवारको नियमित काम रोकिँदैन। उनहिरुको दैनिकी पहिलेजस्तै चलिरहेको हुन्छ र सधैं भइरहने काम त्यो अवधिमा पनि चलिरहन्छ। एउटा परिवारले विशेष काम थाल्दैमा नियमित काम प्रभावित हुँदैन भने देशको नियमित काम कसरी प्रभावित हुन सक्छ?

बाटो हिँड्दा कतिबेला खाल्डोमा परेर लडिने डर छ। धारामा पानी आउँदैन। बिरामी पर्दा सहज औषधीमूलो छैन। छोराछोरी पढाउन नजिक स्कुल छैन। शहरमा बस्नेलाई स्कुल महंगो भएर छोराछोरी पढाउनै सकस छ। बजारमा महंगी छ, आम्दानी छैन। खानेकुरा विषाक्त छन्।

त्यसैमाथि मिसावट छ। जनता यिनै विषयमा संघर्ष गरिरहेछन् र उनीहरुको लागि सबैभन्दा महत्वका विषय यिनै हुन्। आफ्नो प्रत्यक्ष सरोकारको कुरामा गुनासो गर्दा सुनुवाइ नभएपछि जनता सरकारलाई गाली गर्न छाडेर रेल चढेर घुम्न जालान्?

सरकार सामान्य पिता बन्न सकिरहेको छैन। एउटा सामान्य पिताले पनि पहिले आँगनमा भएको खाल्डो पुर्छन् त्यसपछि मात्र छोरालाई गाडी खेलौना किनिदिन्छन्। छोरीलाई पहिले जामा किनिदिन्छन् अनि मात्र घुमाउन लैजान्छन्। पहिले घर बलियो र सुरक्षित बनाउँछन् अनि बल्ल रमाइलो पनि गरौं भनेर टिभी किन्न जान्छन्।

छोराछोरीलाई सुकिलो लुगा नलगाइ घुमाउन लैजाने पिता देखेको छौ सरकार ? अनि हामीचाहिँ ट्याक्टरले समेत तीन बल्ड्याङ खाने सडकमा चिल्लो रेल कहाँ कुदाउँला? पहिले हाम्रो गाउँमा कुद्ने जीप त हिलोमा नफसी गुड्न सकोस् अनि चढौंला रेल।

राजधानीले पूरै देशको प्रतिनिधित्व गर्छ। राजधानीमै नागरिकको बेहाल छ भने देशमा नागरिकको अवस्था कस्तो होला सहजै अनुमान गर्न सकिन्छ। सी आउँदा चिरिच्याट्ट पार्ने सडक सधैं त्यस्तै बनाए हुँदैन? चाहने भने हुँदो रहेछ भन्ने त देखियो अब चाहना पनि उब्जियोस् भन्ने मात्रै हाम्रो कामना हो।

पाहुनालाई देखाउन मात्रै चिरिच्याट्ट पार्नुभन्दा सधैंभरी यस्तै बनाए अर्का पाहुना आउँदा फेरि यसैगरी रातारात दुःख पाउनु त पर्ने थिएन। सरकार, त्यो सडकमा हामी मात्रै हिँड्ने होइनौं तिमी हिँड्ने सडक पनि त्यही हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *