काँग्रेस सभापति देउवासँग एनआरएनए टोलीको भेटघाट

डिसी नेपाल
७ कार्तिक २०७६ १२:४८

काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए/आईसीसी) को नयाँ टोलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरेको छ। देउवा निवास बुढानिलकण्ठमा भएको भेटघाटमा  संघका अध्यक्ष कुमार पन्तले भर्खरै सम्पन्न नवौं विश्व सम्मेलनमा भएका गतिविधिको बारेमा उनलाई अवगत गराएका थिए।

भेटमा पन्तले यसपालिको चुनावमा राजनीति हावी भएको भन्दै सम्मेलन  सन्तोषजनक नभएको बताए।  उनले आगामी चुनाव अनलाइन प्रविधिमार्फत गर्नै योजना रहेको पनि जानकारी गराएका थिए।

पन्तले एनआरएनमा श्रमिकहरूको संख्या संगठनमा ठूलो रहेको बताउँदै संघ उनीहरूका मुद्दामा विशेष भूमिका खेल्नेसमेत बताए  । ‘श्रमिकहरुको राहतका लागि हामीले काम सुरु गरिसकेका छौं । त्यसका लागि राजनीतिक दलबाट पनि पहल होस् भन्ने हामीले चाहेका छौं’, अध्यक्ष पन्तले भने।

सभापति देउवाले पासपोर्ट र नागरिकताका विषयमा एनआरएन प्रतिनिधिलाई स्पष्ट पारेका थिए । राजदूतावासमा पास तुरुन्तै नपाइने समस्या तथा नागरिकताको विषय यतिबेला संसदको राज्य व्यवस्था समितिमा छलफल भइरहेकाले केही गर्न नसकिने देउवाको भनाइ थियो।

भेटघाट कार्यक्रममा  संघका उपाध्यक्ष सोनाम शेर्पा, मन केसी, अर्जुनकुमार श्रेष्ठ, डा. बद्री केसी, कोषाध्यक्ष महेशकुमार श्रेष्ठ, यूरोप उपसंयोजक कृष्ण तिमिल्सिनालगायतको टोली सहभागी थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *