देउवाको अबको बाटो : सभापति छाडेर अभिभावक

डिसी नेपाल
८ कार्तिक २०७६ १५:२२

नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइराला र २०४७ पछि आएका धेरै सभापति कामको हिसावले मूल्याकंन गर्ने हो भने कुशल र सक्षम मानिन सक्छन्। तर नीति र दूरदर्शिताको हिसाबले बिपी कोइरालालाई सत्ता पक्ष वा प्रतिपक्ष, कांग्रेस होस वा कम्युनिष्ट होस्, राप्रपा होस्, हिजोका सत्ताधारी हुन् वा आजका वा भोलिका नै किन नहुन्, सधैं सबैले सम्झिनु पर्ने र हरेक राजनीतिक परिवर्तनमा बिपी कोइरालाको नाम जोडिन्छ। बेला बेलामा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाम हरेकका भाषणमा सुनिन्छन्।

भौतिक रुपले मानिस सधैं बाँचिरहँदैन। मानिस जन्मिन्छ र मृत्यु पनि हुन्छ। त्यसैले मानिसले राम्रो काम गर्ने प्रयास गर्ने हो। राम्रो काम गर्ने प्रयास स्वरुप र राम्रो काम गरिएको मूल्यांकन भएर नै यी पूर्वज, अग्रज संस्थापक नेताहरुको नाम सबैले लिएका हुन्। वर्तमान कांग्रेसका सभापति शेरबहादुर देउवाले आजसम्म कांग्रेसको सभापति वा प्रधानमन्त्री भएर जे जति काम गर्नु भयो ती सबै स्मरणीय छन् ।

उहाँले आफ्नो जीवनमा भएको उर्जा खर्चिइ सकेको र गरिसकेको हुनाले अब उहाँले पद बाहिर बसेर पार्टी, पार्टीका नेता वा आफ्नो उत्तराधिकारी जसले पद सम्हाल्छ, उसलाई अभिभावकत्व प्रदान गर्नुपर्छ। त्यसो भयो भने उहाँको उचाइ बढ्छ। त्यसो भयो भने उहाँलाई बिपी, सुवर्ण शमशेर, गणेशमान सिंह, गिरिजाप्रसादलाई जसरी सम्झिएका छन् त्यसैगरी शेरबहादुर देउवालाई पनि सम्झिने छन्।

देशी विदेशी र अहिलेको सत्ताले कांग्रेसमा अहिले शेरबहादुरकै नेतृत्वलाई निरन्तरता दिन पर्छ र आगामी महाधिवेशनबाट पनि देउवा नै नेतृत्वमा आउनुपर्छ भन्ने मनसाय राख्न सक्छन्। उनीहरुको यस्तो व्यवहार बेला बेलामा देखिन्छ पनि। कांग्रेस कार्यकर्तालाई प्रलोभनमा पारेर पछाडिबाट देउवालाई नै सभापति बनाउन सहयोग गर्न सक्छन्।

देउवाले इतिहास बनाउने भनेकै पार्टीको कुनै पनि पदमा नरहेर, पार्टी भन्दा आफूलाई माथि राख्ने र आउने पिँढीलाई बाटो देखाउने, सल्लाह सुझाव दिने र मार्ग निर्देशन गरेर पार्टी संचालन गर्ने तथा पार्टीलाई बहुमत दिलाएर सरकार संचालन गर्न सहयोग गर्नुपर्छ। त्यसो भयो भने मात्र देउवाको इतिहास बन्छ।

अब गुट उपगुट वा तेरो मेरो नभनी सबै मेरा हुन् भन्ने सोचेर जो प्रतिस्पर्धाबाट नेतृत्वमा आउँछन् उनीहरुलाई बाहिरै बसेर सहयोग गर्नुपर्छ। आफू सधैं भित्रै बस्ने र यसैगरी गुटउपगुट फस्टाउँदै जाने र सही दिशातर्फ पार्टीलाई लिएर जान नसक्ने हो भने कांग्रेस सत्तामा पुग्ने संभावना रहँदैन। त्यसकारण सभापति देउवाले कांग्रेसलाई सत्तामा पुर्याउन आफू बाहिर बस्नुपर्छ। यो अहिलेको आवश्यकता पनि हो।

आज कांग्रेसका हरेक भातृ संगठनमा किचलो छ, त्यो केका कारणले भएका हो ? जिल्ला कमिटीमा भएको किचलो केका कारणले हो? कांग्रेसको राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा बिग्रँदो छवि केका कारणले भएको हो? कांग्रेसका समानान्तर हैसियत भएका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेतालाई समेट्न किन नसकिएको हो? किन कांग्रेसका विभागहरु गठन हुन नसकेका हुन्? किन भातृ संगठनका चुनाव हुन सकेनन्? नेविसंघ, तरुण दलको अवस्था के छ? यी सबै प्रश्नको जवाफ खोजिनुपर्छ ।

लेखक : जगदीश दाहाल

यो सबैको मूल्याकंन गर्दा के निष्कर्षमा पुग्न सकिन्छ भने नेतृत्वको दूरदर्शिता, सोच विचार सिद्धान्त र त्याग देखिएन। त्याग भनेको सडकमा हिँड्ने कुनै निष्ठावान कांग्रेस कार्यकर्ताले देखाएर पुग्दैन। त्यो त्याग सभापतिले देखाउनुपर्छ, नेतृत्वले देखाउनुपर्छ। नेतृत्वले बाहिर बसेर अब थिंक ट्यांकको काम गर्नुपर्छ भन्ने आम कार्यकर्ताको भावना पनि छ ।

देशी विदेशी र अहिलेको सत्ताले कांग्रेसमा अहिले शेरबहादुरकै नेतृत्वलाई निरन्तरता दिन पर्छ र आगामी महाधिवेशनबाट पनि देउवा नै नेतृत्वमा आउनुपर्छ भन्ने मनसाय राख्न सक्छन्। उनीहरुको यस्तो व्यवहार बेला बेलामा देखिन्छ पनि। कांग्रेस कार्यकर्तालाई प्रलोभनमा पारेर पछाडिबाट देउवालाई नै सभापति बनाउन सहयोग गर्न सक्छन्। यसमा अचम्म मान्नुपर्ने कुरा केही पनि छैन। कांग्रेसमा गुट उपगुट, द्वन्द्व, झै–झगडा र कमजोर, असक्षम र नाम मात्रको कांग्रेस बनाउन पनि अहिलेकै नेतृत्वलाई निरन्तरता दिन सहयोग गर्यो भने त्यसले उनीहरुलाई लाभ हुनेछ ।

कांग्रेसीजनले त्यो बुझेर अहिले सोच्नुपर्ने कुरा के हो भने के त्यसले कांग्रेसको भलो गर्छ? कांग्रेसको त्यो नेतृत्व सही दिशामा जाला? यो सबैले बुझ्न आवश्यक छ। चिनियाँ राष्ट्रपतिले देउवासँग के छलफल गरे? भालि मोदी आएर के भन्लान्? उनीहरुको कुरामा लाग्ने कि आफ्ना विचार र सिद्धान्त र समानान्तर साथीहरुको विचार र सहमतिमा चल्ने?

घरभित्रको किचलो नमिले सम्म वा मिलाउन नसकेसम्म दरिलो र बलियो संगठन निर्माण हुन सक्दैन। त्यसैले लोकतन्त्रको रक्षा, लोकतान्त्रिक संविधानको सही कार्यान्वयन र रक्षा तथा संघीय संरचनाको सही कार्यान्वयन र परिचालन गर्न पनि नेपाली कांग्रेस सत्तामा पुग्न आवश्यक छ। सांसारिक परिस्थिति र हाम्रा छिमेकीको माया, स्नेह, सहयोग आदि कुरालाई विचार गरेर अहिलेको सरकारको झुकाव कता छ र नेपाली कांग्रेसको झुकाव कतापट्टि छ? यसले छिमेकीहरुको इच्छा सहजै अनुमान गर्न सकिन्छ।

दुई सशक्त ठूला राजनीतिक दलहरुको झुकाव कस्तो छ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ। यसले भोलि मुलुक माल्दिभ्स वा श्रीलंकाको अवस्था नहोला भन्न सकिन्न। के हामी अशान्ति र द्वन्द्वतर्फ मुलुकलाई फेरि लैजाने? यदि त्यसो नगर्ने हो भने एउटै उपाय भनेको सशक्त र इमान्दार कांग्रेस, भिजनरी नेतृत्व र कांग्रेसमा त्याग चाहिन्छ। त्यो त्याग सभापतिबाटै सुरु हुनुपर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *