डोजर प्रकरणः घाइतेलाई उपचारका लागि भारत लगियो

डिसी नेपाल
८ कार्तिक २०७६ २१:०९

बैतडी। दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा डोजरले हुत्याउँदा घाइते भएकी गौरी जोशीलाई थप उपचारका लागि भारत लगिएको छ । यसअघि उनको धनगढी र नेपालगञ्जमा उपचार गरिएको थियो । बेहोस हुने समस्या कायम रहेकाले थप उपचारका लागि भारत लैजानु परेको गौरीका श्रीमान् जगदिश जोशीले बताए।

गौरीलाई नेपालगञ्जमा उपचार गरी घर ल्यायँदै थियो । उनलाई बाटोमा असहज भएपछि थप उपचारका लागि भारत लगिएको हो । जगदिशका दाजु बिसनदत्त जोशीका अनुसार गौरीलाई उपचारका लागि भारत लगिएको र आफू उपचार खर्च जुटाउन घर फर्किएको बताए। “उपचार गराउन खर्च अभाव भएको छ, मजदूरी गरेर खाने मान्छे उपचार गराउन कहाँबाट पैसोको जोहो गर्नु”, उनले भने।

नेकपाको ध्यानाकर्षण

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बैतडीले दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा भएको डोजर प्रकरणमा आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेकपाले गत सोमबार स्थानीयवासीबीच विवाद हुँदा घटेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

नेकपा बैतडीका अध्यक्ष सुरेन्द्र पालले आज विज्ञप्ति जारी गर्दै दशरथचन्द नगरपालिकाले नै सुणन्नाखानदेखि पार्स जोड्ने सडक खन्नका लागि अनुमति दिएको, नगरप्रमुख आफैँले सडकको उद्घाटन गरेको र दुई सडक निर्माणका लागि नगरपालिकाले आश्वासन दिएको बताए।

नेपाली काङ्ग्रेसका क्रियाशील सदस्य गोपालदत्त जोशीलाई समितिको अध्यक्ष बनाई अर्को सडक खन्न लगाउँदा विवाद भएको पालको आरोप छ । काङ्ग्रेससँग आबद्ध शिक्षक दुर्गादत्त जोशीको उक्साहटमा सडक निर्माण गरिरहेका बेला एक्कासी निर्माण गर्ने पक्षमाथि आक्रमण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

दशरथचन्द नगरपालिकाले विगतदेखि बिना योजना दर्जनौँ सडक निर्माण गरी करोडौँ रुपैयाँ खर्च गरेकोप्रति नेकपाले आफ्नो ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारावाही गर्न नेकपाले आग्रह गरेको छ ।

उक्त घटना सत्ता र शक्तिका आडमा भएको काङ्ग्रेसको केन्द्रीय छानबिन समितिको निष्कर्ष छ । काङ्ग्रेसले गठन गरेको केन्द्रीय छानबिन समितिले यहाँ पत्रकार सम्मेलन गर्दै घटनालाई उत्तेजित बनाउन सत्ता र शक्तिको प्रयोग भएको छानबिन समितिका संयोजक बहादुरसिंह थापाको आरोप छ । काङ्ग्रेसको छानबिन टोलीले घटनास्थलमा पुगेर स्थानीयसँग छलफल गरेको थियो ।

बिना सम्झौता सडक खनियोः नगरपालिका

दशरथचन्द नगरपालिकाले उक्त सडक खन्न आर्थिक वर्ष २०७४÷७५ मा रु चार लाख विनियोजन गरिएको र सो रकम बराबरको काम सम्पन्न भइसकेको जनाएको छ । हाल सो सडकका लागि बजेट विनियोजन नभएको र डिजाइन स्टमेट पनि नबनाएको नगरपालिकाले जनाएको छ । “योजना निर्माणका लागि नगरपालिकासँग सम्झौता भएको छैन”, नगरप्रमुख नरेन्द्रसिंह थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

चालकसहित चार जनाविरुद्ध मुद्दा

गौरीलाई डोजर लगाएर हुत्याउने चालक किशोर बोहरा, डोजर मालिक भानीदत्त जोशी, स्थानीयवासी भोजराज जोशी र धर्मानन्द जोशीविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ । कात्तिक ४ गते चिलाउने–पार्स सडक खन्ने क्रममा डोजरले हुत्याउँदा गौरी घाइते भएकी थिइन् । सडक खन्ने क्रममा दुई पक्षबीच झडप हुँदा अन्य सात जना सामान्य घाइते भएका थिए । उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन जिल्ला प्रशासन कार्यालयले छानबिन समिति गठन गरेको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *