मृतकका परिवारलाई राहत

डिसी नेपाल
१२ कार्तिक २०७६ १५:१५

दमौली। चितुवाको आक्रमणमा परेर मृत्यु भएका तनहुँको भानु नगरपालिका–२ फुस्रेटारका सात वर्षीय ऋतिक रोकाको परिवारलाई आज डिभिजन वन कार्यालय तनहुँले किरियाखर्चबापत रु ५० हजार उपलब्ध गराएको छ । रोकाको सोमबार राति मृत्यु भएको थियो ।

कार्यालयका निमित्त प्रमुख बाबुराम उप्रेती र भानुनगरपालिका–२ का वडाध्यक्ष अर्जुनबहादुर केसीले मृतकको घरमै पुगेर उनका मामा मिलन गैह्रेलाई सो रकम हस्तान्तरण गरेका हुन् । चितुवाको आक्रमणबाट मृत्यु भएका बालकको परिवारलाई रु १० लाख राहत उपलब्ध गराइनेसमेत निमित्त प्रमुख उप्रेतीले जानकारी दिए ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिका बमोजिम वन्यजन्तुको आक्रमणमा परी सामान्य घाइतेमा रु ५० हजारसम्म, गम्भीर घाइते भएमा रु एक लाखसम्म र मृत्यु भएमा निजका परिवारलाई अधिकतम रु १० लाखसम्म उपलब्ध गराउने व्यवस्था छ ।

घरको आँगनबाटै चितुवाले आक्रमण गर्दा बालकको मृत्यु भएको थियो । मृतक रोकाको शव घरभन्दा करीब १०० मिटर टाढा जङ्गलमा कम्मरमुनिको भाग चितुवाले खाइसकेको अवस्थामा भेटिएको थियो ।

भानुनगरपालिका–२ का वडाध्यक्ष केसीले चितुवा नियन्त्रणका लागि सबै क्षेत्रबाट प्रयास भइरहे पनि चितुवा आक्रमण नरोकिएको बताए । “चितुवा नियन्त्रणका लागि डिभिजन वन कार्यालय, नगरपालिका, प्रहरी सबै लागिपरेकै छन्,” केसीले भने, “तर पनि चितुवा आक्रमण नरोकिँदा त्रास छाएको छ ।”

निमित्त प्रमुख उप्रेतीले भानुनगरपालिकाका बस्ती जङ्गलसँग जोडिएकाले जोखिम बढेको बताउँदै “साँझको समयमा अभिभावक सचेत भएर बालबालिकाको विशेष ध्यान दिनुपर्छ’ भने । मृतकका बुबा राजु रोका विगत पाँच/छ वर्षदेखि बेपत्ता छन् । मृतकका आमा मजदूरी गर्छिन् । उनीहरु केही वर्षदेखि मामाघरमा बस्दै आएका थिए । सोमबार बिहान मात्रै भानुनगरपालिका–३ स्थित एक सामुदायिक वनमा थापिएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको थियो ।

चितुवाको आक्रमणबाट भानुनगरपालिका–१, २, ३ र ४ मा डेढ वर्षको अवधिमा छ बालबालिकाको मृत्यु भइसकेको छ । चितुवाको आक्रमणबाट विसं २०७४ फागुन १ गते भानुनगरपालिका–३ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठ, विसं २०७५ कात्तिक २९ गते भानुनगरपालिका–४ जोखानेका चार वर्षीया रन्जिता लम्साल, मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ, जेठ २४ गते भानुनगरपालिका–२ भकुण्डथोक निवासी नौ वर्षीया पुष्पा अधिकारी, असोज २१ गते भानुनगरपालिका–१ जामुनेगैह्राका चार वर्षीय आशिष बानियाँ र कात्तिक ११ गते भानु नगरपालिका–२ फुस्रेटारका सात वर्षीय ऋतिक रोकाको मृत्यु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *