प्रधानमन्त्री ओलीकाे स्वास्थ्य अवस्था किन लुकाइन्छ?

डिसी नेपाल
१५ कार्तिक २०७६ १०:४४

दुई तिहाइ जनताले विश्वास गरेका प्रधानमन्त्री केपी ओली विगत केही समयदेखि अस्वस्थ हुनुहुन्छ। केही समयअघि मात्र सिंगापुर पुगेर उपचार गराएर फर्केका प्रधानमन्त्री ओली बुधबारदेखि फेरि अस्वस्थ भएर उपचाररत हुनुहुन्छ।

उहाँ अस्वस्थ हुँदा पनि काममा खटिरहनु भएको छ। यो बीचमा अस्वस्थ हुँदा पनि प्रधानमन्त्री सक्रिय रहनु भएको छ र बिमारी हुँदा पनि देशका लागि काम गरिरहनु भएको छ भनेर देखाउने प्रयाससमेत भइरहेको छ।

यो एक हिसाबले हेर्दा सकारात्मक नै देखिन्छ। उहाँले जनताको अभिमतको कदर गर्नु सकारात्मक कुरा हो। तर, अर्को हिसाबले हेर्ने हो भने राज्य सत्ता उहाँको निजी घर घरायसी कामकाज जस्तो नभएर सार्वजनिक भएको हुनाले सहज रुपमा आफ्ना उत्तराधिकारीलाई राज्य सत्ता सुम्पँदा राम्रो हुन्छ।

यसका लागि स्वाथ्यलाभ नहुँदासम्मको लागि कसैलाई कार्यवाहक दिने वा प्रधानमन्त्री पद नै त्यागेर आफ्ना उत्तराधिकारीलाई प्रधानमन्त्री बनाउने दुई विकल्प छन् । यीमध्ये कुन विकल्प रोज्ने भन्ने कुरा प्रधानमन्त्री स्वयं, उहाँको पार्टी र उहाँको नेतृत्वमा गठित मन्त्रिपरिषदले छलफल गरेर टुंगो लगाउँदा उचित देखिन्छ ।

प्रधानमन्त्री ओलीले अब आफ्ना उत्तराधिकारीलाई प्रधानमन्त्री बनाउन ढिला गर्नु हुँदैन। अब प्रधानमन्त्री ओलीले पछाडि बसेर अभिभावकको भूमिका निर्वाह गर्नुपर्छ। त्यो मुलुक र स्वयं प्रधानमन्त्रीलाई पनि फाइदाजनक हुन्छ। त्यसो हुन सक्यो भने प्रधानमन्त्री माथिको जनताको विश्वास कायम रहन्छ।

प्रधानमन्त्री ओलीले अब आफ्ना उत्तराधिकारीलाई प्रधानमन्त्री बनाउन ढिला गर्नु हुँदैन। अब प्रधानमन्त्री ओलीले पछाडि बसेर अभिभावकको भूमिका निर्वाह गर्नुपर्छ। त्यो मुलुक र स्वयं प्रधानमन्त्रीलाई पनि फाइदाजनक हुन्छ। त्यसो हुन सक्यो भने प्रधानमन्त्री माथिको जनताको विश्वास कायम रहन्छ।

यसो गर्दा आफ्नो स्वास्थ्यमा समस्या नभएका बेला उहाँले प्रधानमन्त्रीलाई सल्लाह, सुझाव र दिशानिर्देश गर्ने अभिभावकको भूमिका निर्वाह गर्न सक्नुहुनेछ भने स्वास्थ्यमा समस्या देखिएका बेला उहाँ उपचारमा हुँदा समेत प्रधानमन्त्रीको काम रोकिँदैन र अस्वस्थ भएका बेलासमेत उहाँले धपेडी गर्नुपर्ने स्थिति रहँदैन ।

हामी सबैलाई थाहा भएकै कुरा हो प्रधानमन्त्रीको स्वास्थ्यमा जुनसुकै समयमा समस्या आउन सक्छ किनकि उहाँका आफ्ना दुवै मृगौला फेल भएर उहाँ दाताले दिएको मृगौलाको सहारामा बाँचिरहनुभएको छ। विश्वमा यसरी प्रत्यारोपित मृगौलाको सहारामा बाँचेका बिरामीहरुको स्वास्थ्यको स्थिति हेर्दा पनि प्रधानमन्त्रीको स्वास्थ्यमा जुनसुकै समय समस्या आउन सक्ने खतरा विद्यमान छ।

अर्कोतर्फ प्रधानमन्त्री अस्पताल भर्ना भएपछि धेरै किसिमका कुरा आए। प्रधानमन्त्रीको स्वास्थ्यमा आएको खास समस्या के हो र उहाँको उपचारको लागि के गरिँदैछ भन्ने विषयमा संचारमाध्यमलाई जानकारी दिइएन । संचारमाध्यमलाई जानकारी नदिइनुको अर्थ जनतालाई जानकारी नदिइनु थियो किनकि जनतासम्म त्यो सूचना पुर्याउने जिम्मेवारी संचारमाध्यमकै थियो।

प्रधानमन्त्री उपचारको लागि भर्ना भएको अस्पताल प्रशानले प्रधानमन्त्रीको सचिवालयले सूचना दिन आग्रह नगरेको भन्दै सूचना दिन आनाकानी गर्यो। प्रधानमन्त्रीको सचिवालयले समेत सही सूचना दिएन। सघन उपचार कक्ष (आइसीयू)मा भर्ना भएका प्रधानमन्त्री नियमित चेकजाँचका लागि गएको भन्ने प्रधानमन्त्रीको सचिवालयको जानकारी विश्वास गर्न सकिने देखिएन।

लेखक : जगदीश दाहाल

सूचना किन लुकाइयो? यो गम्भीर विषय हो। दुई तिहाइ जनताले विश्वास गरेका प्रधानमन्त्री अस्वस्थ हुँदा उहाँको स्वास्थ्यबारे जनताले सूचना पाएनन्। जनतालाई गलत सूचना दिएर भ्रमित पार्ने प्रयास भयो । यो कसले गरिरहेको छ ? प्रधानमन्त्री स्वयंले सूचना नदिन भन्नुभएको थियो ? वा प्रधानमन्त्री अस्वस्थ भएको अवस्थामा उहाँको अस्वस्थताको फाइदा उठाउँदै अरु कसैले सूचना लुकायो ? प्रधानमन्त्री बिरामी भएर नियमित काममा सक्रिय हुन नसक्नुभएको मौका पारेर अनैतिक लाभ लिने कोही सक्रिय भइरहेको पो छ कि? सूचना लुकाइँदा यस्ता कैयौं गम्भीर प्रश्नहरु उठिरहेका छन् ।

सार्वजनिक जिम्मेवारीमा नहुनुभएको भए उहाँको स्वास्थ्यका बारेमा यति धेरै प्रश्न उठ्दैनथे । एक आम नागरिक केपी ओली र प्रधानमन्त्री केपी ओलीमा फरक छ । अहिले उहाँ आम नागरिक होइन देशको प्रधानमन्त्री हो । देशको प्रधानमन्त्री अर्थात देशको सर्वशक्तिमान कार्यकारी प्रमुख । प्रधानमन्त्री ओली तीन करोड नेपाली जनतामध्ये सबैभन्दा शक्तिशाली व्यक्ति हुनुहुन्छ साथमा सबैभन्दा धेरै जिम्मेवारी बोकेका व्यक्ति पनि हुनुहुन्छ ।

उहाँसँग जति ठूलो शक्ति छ, जिम्मेवारीको भार पनि उत्तिकै छ । सम्पूर्ण नेपाली जनताको सपना पूरा गर्छु भनेर जिम्मेवारी लिएर देशको कार्यकारी प्रमुख बनेका व्यक्तिको स्वास्थ्यबारे जनताले किन जान्न नपाउने ? प्रधानमन्त्रीको स्वास्थ्यबारे जान्न पाउने सबै जनताको अधिकार हो र उहाँको स्वास्थ्यबारे सबै सत्य तथ्य सूचना सार्वजनिक गर्नु उहाँको सचिवालयको दायित्व हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *