सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले भने, मिर्गौलाले काम गर्न छोड्यो’

डिसी नेपाल
१६ कार्तिक २०७६ १६:०४

काठमाडौं। बुधबार र बिहीबार राजधानीको धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा मिर्गौलाको डायलसिस गराएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले शनिबार बसेको पार्टी सचिवालय बैठकमा आफ्नो मिर्गौलाले काम गर्न छोडेको जानकारी गराएका छन्।

बैठकमा आफ्नो स्वास्थ्यबारे जानकारी दिँदै उनले अब डायलसिस र मिर्गौला प्रत्यारोपणमात्र विकल्प रहेको जानकारी दिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए। उनले स्वास्थ्य परीक्षणको केही रिपोर्ट आउन अझै बाँकी रहेको र रिपोर्ट आएपछि चिकित्सकले दिले सल्लाहअनुसार गरिने प्रधानमन्त्री ओलीले बताएका छन्।
करिब १३ वर्षअघि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका ओलीले फेरि दोस्रो पटक प्रत्यारोपण गराउनु पर्ने भएको छ।

अब वालुवाटारमै नियमित डायलसिस गराउनेबारे प्रधानमन्त्रीको सचिवालयले तयारी गरिरहेको छ। मिर्गौलाले काम गर्न छोडेपछि रगतमा मिसिने विकार छान्ने र रगतलाई शुद्ध बनाउने प्रक्रिया नै डायलसिस हो। यो हप्तामा दुई वा तीन पटकसम्म पनि गराउनुपर्ने हुन्छ। प्रधानमन्त्री ओलीको बिहीबार डायलसिस गरिएकाले आइतबारसम्म फेरि डायलसिस गराउनुपर्ने अवस्था छ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले आफ्नो स्वास्थ्यबारे जानकारी दिएको र हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताए।

प्रधानमन्त्री ओली स्वास्थ्यमा समस्या देखिएपछि हालै दुई पटक सिंगापुर पुगेका थिए। पछिल्लो पटक भदौ ५ मा सिंगापुर गएका उनी प्लाज्माफेरिसिस गराएर भदौ २० मा फर्केका थिए। त्यसपछि पनि मुटुमा क्याथर राख्नका लागि ओली दुई पटक त्रिवी शिक्षण अस्पताल पुगेका थिए भने दुई पटक ग्राण्डी पुगिसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *