कास्कीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापित

डिसी नेपाल
१८ कार्तिक २०७६ ६:२२
4
Shares

पोखरा । आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

सो कार्यालयको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उद्घाटन गर्दै मतदाता नामावली, निर्वाचन सामाग्री, मतपत्रको डिजाइन, मतदाता शिक्षा, विभिन्न समिति गठन, आचारसंहिता निर्देशिकालगायत सम्पूर्ण निर्वाचनका कार्य अगाडि बढिरहेको बताए ।

निर्वाचन सम्पन्न गर्न प्रदेश र स्थानीय सरकारको पनि भूमिका महत्वपूर्ण हुने भएकाले सोहीअनुसारको सहयोगको अपेक्षा गरिएको उनको भनाइ थियो।

विशेष गरी आचारसंहितालाई बढी कडाइका साथ पालना गराउन मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा आचारसंहिता जिल्ला समिति गठन गरिएको बताउँदै उहाँले यही कात्तिक २० गते पत्रकार सम्मेलन गरी निर्वाचनका गतिविधिबारे जानकारी दिइने बताए।

कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले निर्वाचनमा हुन सक्ने सुरक्षा खतरालाई कडाइका साथ निगरानी गरेर भयरहित वातावरणमा स्वच्छ र निष्पक्ष रुपमा चुनाव सम्पन्न गर्न सुरक्षा योजना बनाएर लागु गरिने बताए ।

गण्डकी प्रदेश आन्तरिक मामिला सचिव किरणराज शर्माले जिल्ला एकीकृत सुरक्षा योजनासहित विधिवत् र सूत्रबद्ध पद्धतिमार्फत निर्वाचन सम्पन्न गरिने बताए ।

कास्की क्षेत्र नं २ मा ७१ हजार ८७१ मतदाता तथा ३२ स्थल र ८२ केन्द्र रहेको कास्कीका निर्वाचन अधिकृत महेन्द्रराज सुवेदीले जानकारी दिए ।

राप्रपाबाट भण्डारी उम्मेदवार हुने

कास्की –२ को उपनिर्वाचनमा राप्रपाले केन्द्रीय सदस्य रोमबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको राप्रपा प्रचार विभाग केन्द्रीय सदस्य सूर्य बास्तोलाले जानकारी दिए ।

रिक्त स्थानीय तहअन्तर्गत नगरपालिकाका प्रमुख र उपप्रमूखका उम्मेदवर छनोट गर्न सम्बन्धित प्रदेश कार्यसमिति र नगरपालिकाका वडाध्यक्ष, गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष र वडाध्यक्षको उम्मेदवार छनोट गर्न सम्बन्धित जिल्ला कार्यसमितिलाई अधिकार प्रत्यायोजन गरिएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।

यसअघि साझा पार्टीले रजनी केसीलाई उम्मेदवार बनाइसकेको छ। नेकपाले आजै विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। नेपाली काँग्रेसले आफ्नो आधिकारिक उम्मेदवार तोकिसकेको छैन। नेकपा गण्डकी प्रदेशले क्षेत्र नं २ बाट भट्टराई, सोमनाथ प्यासी र राजकाजी गुरुङको नाम सिफारिश गरेको थियो भने काँग्रेसले १६ जनाको नाम केन्द्रमा पठाएको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *