ती महिलाहरु जसको जीवन सुहागरातका कारण बर्बाद भयो

डिसी नेपाल
१९ कार्तिक २०७६ १५:३८

एजेन्सी। विवाहका विषयमा संसारभर मानिसहरुमा धेरै उत्सुकता हुन्छ । तर संसारका केही भागहरुमा विवाहसँग जोडिएका केही उत्सवले धेरै चोट दिएर जान्छन् । उनीहरुको विवाहको पहिलो रात यस्तो बित्छ, जसका पीडादायी यादले जीवनभर उनीहरुको पिछा गरिरहन्छन् ।

कैयौं अरब र मुस्लिम देशमा यो अपेक्षा गरिन्छ कि विवाहको पहिलो रातमा महिलाहरु कुमारी होउन् । बीबीसी अरबीले अलग अलग सामाजिक परिवेशबाट आउने केही कहिलाहरुसँग यसबारेमा कुरा गर्यो र यो बुझ्ने कोसिस गर्यो कि विवाहसँग जोडिएका रिवाजको उनीहरुको विवाहित जीवनमा के असर पर्यो र कसरी यौन शिक्षाको कमीले उनीहरुको विवाहमा प्रभाव पार्यो । यो ती महिलाहरुसँग गरिएको कुराकानीको संक्षिप्त अंश हो जसमा उनीहरुले यो बताएका छन् कि सुहागरातको साथमा उनीहरुको जीवन कसरी उथलपुथल भयो ।

सोमैया, उमेर – ३३ वर्ष

सोमैयाले आफ्ना ब्वाइफ्रेण्ड इब्राहिमसँग विवाह गर्न परिवारसँग लामो लडाइँ लडेकी थिइन् । परिवार यसको लागि राजी थिएन । तर, सोमैया इब्राहिमसँग धेरै प्रेम गर्थिन् र उनलाई कुनै पनि युवतीको लागि आदर्श पति मान्थिन् । तर सोमैयालाई यो कुराको बिल्कुल पनि अन्दाज थिएन कि उनलाई निकै ठूलो धक्का लाग्नेवाला छ ।

विवाहपछि इब्राहिमसँग पहिलो रातमै केही यस्तो भयो, सोमैयाको सबै प्रेम हावामा उड्यो । विवाहपछि पहिलो रात वा सुहागरातलाई ‘प्रवेशको रात’ पनि भनिन्छ । त्यो रात सोमैयाको कुमारित्वलाई लिएर उठेको प्रश्नले उनको मनबाट इब्राहिमको लागि प्रेमलाई सदाका लागि मेटाइदियो ।

त्यतिबेला सोमैयाको उमेर २३ वर्ष थियो । उनी सिरियाको राजधानी दमास्कसको विश्वविद्यालयमा अरबी साहित्य अध्ययन गरिरहेकी थिइन् । उनको डिग्री पूरा हुनै लागेको थियो । तर, उनी इब्राहिमसँग धेरै प्रेम गर्थिन् । इब्राहिमले पनि सोमैयासँग बाचा गरेका थिए कि जेसुकै भए पनि उनी उनलाई पढाइ पूरा गर्न दिनेछन् ।

सोमैयाको परिवार चाहन्थ्यो कि उनी पहिले पढाइ पूरा गरुन् । साथमा सोमैयाको परिवारलाई यो कुरा चित्त बुझेको थिएन कि इब्राहिमसँग आफ्नो घर थिएन । तर पनि सोमैया इब्राहिमसँग विवाह गर्नको लागि अड्डी लिएकी थिइन् । उनले आफ्नो पूरै परिवारको विरोडको डटेर प्रतिवाद गरिन् । यहाँसम्म कि उनले यो पनि भनिदिइन् कि उनी इब्राहिमकी आमाकहाँ बस्न जानेपछन् जसलाई उनी आफ्नी आमाजस्तै मान्थिन् ।

तर, सुहागरातमा सोमैयालाई ठूलो झट्का लाग्यो । त्यतिबेला सोमैया विवाहको सबै विधि पूरा गरेर ठिकसँग सास पनि लिन पाएकी थिइनन् कि उनका पति शारीरिक सम्बन्धको लागि जोड दिन थाले । सोमैयाका पति इब्राहिमलाई बस उनको कुमारित्व जाँच्ने हतार थियो । उनी बस यो जान्न चाहन्थे कि सोमैयाको योनीद्वारको झिल्ली जस्ताको तस्तै छ वा छैन ।

इब्राहिमले उनलाई यो भनेर सम्झाउने कोसिस गरे कि यो त उनको सोमैयाप्रतिको प्रेम हो जो उनी उनलाई पाउनको लागि यति हतारिएका छन् । ‘सोमैया भन्छिन् ‘म थाकेकी थिएँ तर मैले सहयोग गरें । उनको जिद्दीको अगाडि म झुकें ।’

जब अचानक रोमान्स बेपत्ता भयो

तर, सोमैयाको प्रेमपूर्ण अनुभूति तुरुन्तै बेपत्ता भयो । जब यौन सम्बन्ध राखेपछि इब्राहिमले भने कि रगत त आएन । त्यसपछि सोमैयालाई लाग्यो कि उनका पतिलाई उनको कुमारित्वमाथि शंका भएको छ । इब्राहिमलाई यो लागिरहेको थियो कि उनी कुमारी थिइनन् । पहिलो पटक यौन सम्बन्ध बनाउँदा धेरै महिलाहरुको रगत आउँछ । यसको मात्रा महिलाअनुसार फरक हुन्छ । यसको कारण हो योनीद्वारमा हुने एक झिल्ली जसलाई हाइमेन भनिन्छ ।

तर, डाक्टर र जानकारहरुका अनुसार पहिलो पटक सम्बनध बनाउँदा हरेक युवतीको रगत आओस, यो जरुरी छैन किनकि हाइमेन पनि फरक फरक किसिमका हुन्छन् । केही त यति बाक्लो हुन्छन् कि तिनीहरुलाई काट्नुपर्छ । अर्कोतर्फ हेकी यति नाजुक हुन्छन् कि रगत नबगेरै च्यातिन्छन् । केही महिलाहरुको योनीमा त हाइमेन नै हुँदैन । अर्कोतर्फ कुनै घटनाका कारण उनीहरुको यो झिल्ली बाल्यकालमै च्यातिन्छ ।

सोमैया आफ्ना पतिको प्रतिक्रियाबारे भन्छिन् ‘उनका आँखाका चक्कु मेरो छातीमा घोचिरहेका थिए । उनले यो थाहै पाएनन् कि त्यो नजरले मेरो हस्ती मेटाइदियो ।’ सोमैया अगाडि भन्छिन् ‘इब्राहिमले मसँग कुरा गर्ने पनि कोसिस गरेनन् । मलाई यस्तो लागिरहेको थियो कि म संदिग्ध हुँ र ममाथि मुद्दा चल्नेवाला छ । विवाहअगाडि हामीले धेरै कुरामा चर्चा गरेका थियौं । यहाँसम्म कि हामीले सुहागरातको बारेमा पनि कुरा गरेका थियौं, जो हाम्रो जीवनको सबैभन्दा सुन्दर रात हुनुपर्थ्यो । हामीलाई लाग्थ्यो कि हामी उक अर्काको बारेमा धेरै जान्छौं । तर, जब सुहागरातमा रगत आएन, सबै प्रेम बेपत्ता भयो ।’

रगतले लत्पतिएका तन्नाहरु

यद्यपि जुन समाजसँग सोमैया सम्बन्धित छिन् त्यहाँ यस्ता कुरा सामान्य हुन् । तर, सोमैयालाई यसको अन्दाज पटक्कै थिएन कि स्वयं उनले पनि यतो अनुभवबाट गुज्रिनुर्नेछ । सोमैयालाई लाग्थ्यो कि नयाँ पिढीका मानिसहरुको दृष्टिकोण यस्ता कुराहरुमा फेरिएको छ । उनका हुनेवाला पति पनि बुद्धिमान छन्, खुला विचारका छन् र उनले विश्वविद्यालयमा पढेका छन् ।

तर, जब विवाहको भोलिपल्ट इब्राहिमले सल्लाह दिए कि सोमैयाको कुमारित्व परीक्षणका लागि उनी डाक्टरकहाँ जानुपर्छ, सोमैया चकित परिन् । युवतीहरुको कुमारित्व परीक्षण धेरै पुरानो परम्परा हो । तर यसको उद्देश्य र कुमारित्व जाँच्ने तरिका दुवै हरेक ठाउँ र समाजको हिसाबले बदलिन्छन् । धेरै रुढीवादी परिवारमा कुनै युवतीको विवाहको रात उनी कुमारी प्रमाणित भएको उत्सव धुमधामले मनाइन्छ । जस्तै बेहुला र बेहुलाको परिवारलाई रगतको धब्बा लागेको तन्ना देखाइन्छ । कैयो पटक त कुमारित्वको परीक्षण हुँदा खास आयोजना पनि गरिन्छ ।

कुमारित्वको प्रमाण हासिल गर्ने पनि कैयौं तरिका प्रचलित छन् । यदि कुनै युवतीको योनीको झिल्ली च्यातिएको भए त्यसलाई सर्जरीको माध्यमले फेरि सिलाउन सकिन्छ । त्यसपछि चीनमा बनेका प्रोस्थेटिक हाइमेन पनि आउँछन् । जब यौन सम्बन्ध बनाउँदा यिनीहरुमा दबाब पर्छ त्यसपछि तिनीहरुबाट रगतजस्तो देखिने रातो द्रव निस्किन्छ । तर महिलाहरुलाई यति हुँदाहुँदै पनि अलग किसिमका परिस्थितिको सामना गर्नु पर्न सक्छ । यदि उनीहरुको कुमारित्व विवाहको दिन प्रमाणित भएन भने उनहिरुको सम्मानको नाममा हत्या पनि गर्न सकिन्छ ।

जब सम्भोगसँग घृणा लाग्न थाल्यो

विवाहको भोलिपल्ट सोमैया र उनका पतिले एक डाक्टरलाई भेटे । डाक्टरले जाँचपछि बताए कि सोमैयाको हाइमेन निकै बाक्लो थियो र यो त्यतिबेला मात्र च्यातिनेछ जब उनले प्राकृतिक रुपमा कुनै बच्चा जन्माउनेछिन् । यो थाहा पाएर सोमैयाका पतिले राहतको सास लिए र उनको अनुहारमा मुस्कुराहट आयो । तर, त्यतिबेलासम्म निकै ढिलो भइसकेको थियो । सोमैयाले मन बनाइसकेकी थिइन् कि उनी इब्राहिमसँग जतिसक्यो छिटो सम्बन्धविच्छेद गर्नेछिन् ।

तलाक लिन यति ढिलो गरेको बारेमा सोमैया बताउँछिन् ‘मेरा पति मेरो लागि पूर्ण रुपमा अन्जान बनिसकेका थिए । मलाई यो कुराले निकै सतायो कि उनको सोच पनि उस्तै थियो जस्तो समाजका अन्य मानिसहरुको थियो । उनी पनि कुमारित्वलाई लिएर त्यही सोच राख्थे जो अरुले राख्थे । मलाई अब यो कुराको अन्दाज थिएन कि उनी अगाडि के गर्न सक्छन् । जे पनि हुन सक्थ्यो । म अब उनीसँग रहेर आफूलाई सुरक्षित महसुस गर्दिनथें । उनले वर्षौंको प्रेमको केही पलमै हत्या गरिदिएका थिए ।’

केही बेर रोकिएर सोमैयाले अगाडि भन्छिन् ‘वास्तविकता त यो हो कि मलाई यो पनि थाहा छैन कि म आफ्नो हाल कसरी बयान गरुँ । म त्यो रातपछि उनको बारेमा कस्तो महसुस गर्थें । तर, जुन दिनदेखि उनले मेरो हस्तीलाई एक मामुली झिल्लीसम्म समेटिदिएका थिए, त्यस दिनदेखि मेरो लागि उनको साथमा एक–एक पल बिताउँन निकै गाह्रो भएको थियो । आखिर म एक मानव हुँ एक मांशपेशीको टुक्रा त होइन ।’

त्यसदिनपछि सोमैयाको मानसिक सन्तोष खोसिएको थियो । उनले मानिसहरुसँग भेटघाट गर्न छोडिदिएकी थिइन् । उनी कहीँ पनि आउन जानबाट बच्थिन् । उनलाई लाग्थ्यो कि उनी कुनै आम महिलाजतै जिन्दगी नै बाँचिरहेकी छिन् जहाँ पत्नी आफ्नो पतिको अनुमतिबिना कमजोर हुन्छिन् । उनको आफ्नो कुनै हस्ती नै हुँदैन ।

त्यसपछिका तीन महिनासम्म उनी मन नलागी नलागी इब्राहिमसँग सेक्स गरिरहिन् । सोमैया भन्छिन् ‘जब उनी मसँग सम्भोगमा हुन्थे मलाई भित्रबाट घृणा लाग्थ्यो । म उनलाई चाहँदिनथें । मलाई केही पनि महसुस हुँदैनथ्यो किनकि मेरो सबै उत्साह सुहागरातकै दिन समाप्त भइसकेको थियो । म बस उनले काम पूरा गर्ने प्रतिक्षा गर्थें ताकि उनले मलाई एक्लै छोडिदेउन् । उनीसँग सेक्स गर्नु मलाई फोहोरी र धोकेबाजी जस्तो लाग्थ्यो । मेरो लागि यो एक काम थियो । एक जिम्मेवारी थियो जो निभाउनु पर्थ्यो । यो प्रेम थिएन ।

विवाहको रातको लागि सल्लाह

सोमैया जुन समाजसँग सम्बन्धित छिन् त्यहाँ यस्ता कुराहरु सामान्य हुन् । उनीजस्ता धेरै महिलाहरु छन् जो बलियोसँग बन्द ढोकापछाडि आफूलाई लुकाएर जिन्दगी बाँचिरहेका छन् ताकि समाजको घृणा भरिएका कुराहरुबाट आफूलाई बचाउन सकुन् । तर यस्ता विवाहबाट हुनेवाला बच्चा र परिवारमा यस्ता कुराहरुको निकै नराम्रो असर हुन्छ । खासगरी जब यस्ता कुराहरुमा खुलेर चर्चा हुँदैन ।

अमल अल हामिद एक मनोचिकित्सक हुन् । उनले बीबीसीसँग यस विषयमा कुरा गरे र बताए कि विवाहको रात युवतीको हालत कस्तो हुन्छ । अमल यस्ता धेरै युवती र जोडीहरुलाई सल्लाह दिन्छन् जसको विवाह हुनेवाला छ ताकि नचाहेका समस्या उत्पन्न नहोउन् । अमल भन्छिन् ‘हाम्रो समाजमा आम रुपमा मनोवैज्ञानिक सल्लाह लिइन्न किनकि यसलाई लिएर कैयौं किसिमका पूर्वाग्रह छन् ।’

अमल अल हमिद मान्छिन् कि विवाहपहिले यस्ता सल्लाहबाट विवाहित जिन्दगीको सुरुवात तीतोपनाबाट हुँदैन । किनकि कुनै पनि विवाहित जिन्दगीको सुरुवात एक अर्कासँग खुलेर कुरा गर्ने र बुझ्ने गर्दा राम्रो बन्छ । अमल भन्छिन् ‘विवाह गर्ने जोडीहरुले निकाहभन्दा पहिले कामको कुरा जानुन् र उनीहरुले कुनै पनि कुरा चाहे जति नै निजी किन नहोस् त्यसको बारेमा सोधुन् । जस्तो कि हाइमेनको अलग अलग प्रकार र यो सुनिश्चित गर्नु कि पहिलो पटक कसरी सेक्स गर्ने ताकि युवतीहरुलाई यसले जीवनभरको लागि घाउ नदेओस् । तर वास्तविकतामा यसको उल्टो हुन्छ । महिलाहरुको लागि सुहागरात जीवनको सबैभन्दा खराब रात बनिदिन्छ ।’ अमल भन्छिन् ‘धेरै घटनाहरुमा यस्ता समस्यालाई सुल्झाउनुको सट्टा घाउ नै छाडिन्छ जो अगाडि गएर अझै समस्याको कारण बन्छन् ।’

कुमारी भएको सबुत

बीबीसीले २० जनासँग सोध्यो कि यदि उनीहरुले पहिलो पटक शारीरिक सम्बन्ध बनाउँदा पत्नीमा ‘कुमारित्वको सबुत’ नभेटेमा उनीहरु के गर्छन् ? यी मानिसहरुको उमेर २० देखि ४५ वर्ष थियो । यिमध्ये केही विवाहित थिए र केही त पढेलेखेका परिवारका थिए, जो डाक्टर थिए, अध्यापक थिए र आफूलाई खुला विचारको भएको दावी गर्थे ।

र, यिनीहरुको जवाफ के थियो ? धेरैजसोको जवाफ घुमाइफिराइ नकारात्मक नै थियो । धेरैजसो पुरुषहरुले तन्नामा रगतको दागलाई युवती कुमारी भएको सबुत माने । उनीहरुका अनुसार यो खुसी विवाहित जीवनको जग थियो, जो भरोसा र आपसी समझदारीका साथ सुरु हुन्थ्यो ।

त्यहाँ न प्रेम बचेको थियो न पागलपन

विवाहको केही महिनापछि सोमैयाले आफ्ना पतिसँग तलाक लिने इच्छा जनाइन् र साथमा उनले यो पनि बताइन् कि कुनै पनि कुराले उनको फैसला बदल्न सक्ने छैन । किनकि उनलाई इब्राहिमको आसपास आफ्नो ज्यानको खतरा लाग्छ र पहिलो रात जे भयो त्यसपछि दुवैको बीच अब न प्रेम बच्यो न पागलपन । सोमैयाले इब्राहिमलाई यो पनि बताइन् कि उनको शंकाले कसरी उनको भूमिकालाई तल्लो देखाएको थियो र उनलाई अपमानित गरेको थियो ।

सोमैया भन्छिन् ‘मेरो कुराले इब्राहिमलाई ठूलो झट्का लागेको थियो । उनलाई यो लाग्थ्यो कि पुरुष भएको नाताले उनलाई यो कुराको पूरा अख्तियार थियो कि उनी आफ्नी पत्नीसँग यो सोधुन् कि विवाहपहिले उनको यौन सम्बन्ध थियो वा थिएन । उनले भने कि उनी मलाई जीवनभर तलाक दिने छैनन् । उनले मलाई सल्लाह दिए कि म आफ्नो फैसलाको बारेमा सावधानीपूर्वक विचार गरुँ र आफ्नो विद्रोही पाराको बारेमा फेरि सोचुँ किनकि यो कदमले मलाई पछि पछुतो नै हुनेछ ।’

सोमैया भन्छिन् ‘हाम्रो समाज दोहोरो चरित्रको छ । जहाँ पुरुषले तमाम महिलासँग सम्बन्ध राख्दा राम्रो मानिन्छ, उनको तारिफ हुन्छ । यहीँ जब कुरा महिलाहरुको आउँछ त्यपछि यस्तो व्यवहार व्यवहारलाई समाजले अस्वीकार गरिदिन्छ । कैयौं पटक यसको सजाय मृत्युको रुपमा पनि दिइन्छ ।’

सोमैया भन्छिन् ‘मेरो पूर्वपति यस्तै मान्छे थिए । उनी आफ्ना साथीहरुलाई त यी कुराहरु बढाइचढाइ भन्थे कि उनले कैयौं महिलाहरुसँग सम्बन्ध बनाए तर मैले एक मजाक पनि गरें भने उनी रिसले उम्लिन्थे ।’ सोमैयाको परिवारले पनि इब्राहिमसँग तलाक लिन उनको सहयोग गर्न अस्वीकार गर्यो । उनीहरुले भने कि उनी जुन कुरालाई यति ठूलो मसला बनाइहेकी छिन् त्यो मामुली र किनारा लगाउने खालको कुरा हो । त्यसपछि सोमैयाले सिरिया छोडिन् र युरोप गइन् ।

जुमना, उमेर – ४५ वर्ष

जुमनाले आफ्नो जिन्दगीको धेरै समय सिरियाको अलेप्पो शहरको अलबाब टोलमा बिताएकी थिइन् । २०१६ मा उनी बस्नको लागि बेल्जियमको राजधानी ब्रसेल्स आएकी थिइन् । जुमनाले बीबीसीलाई बताइन् कि उनले आफ्ना पतिसँग तलाक लिनको लागि २० वर्षसम्म प्रतिक्षा गरेकी थिइन् ।

उनी भन्छिन् ‘म त्यतिबेला केवल १९ वर्षकी थिएँ जब मेरा अब्बाले मेरो विवाह मेरो काकाको छोरासँग तय गरिदिनुभयो । मलाई यो विवाहमा पटक्कै रुचि थिएन । म उनलाई मन पराउँदिनथें । म पढ्न चाहन्थें । तर, मेरो परिवारले ममाथि दबाब बनायो कि उनी नै मेरो लागि सबैभन्दा सही शौहर हुन् र विस्तारै म उनलाई मन पराउन थाल्नेछु । पछि प्रेम हुने नै छ ।’

धेरै रुढीवादी परिवारमा, खासगरी ग्रामीण इलाकामा बेहुला र बेहुलीका पाका आफन्त (चाहे उनीहरु महिला होउन् वा पुरुष) नयाँ विवाहित जोडीको घरमा युवतीको कुमारित्वको पुष्टि हुने प्रतिक्षा गर्छन् । जुमनालाई आफ्नो सुहागरातको घटना राम्रोसँग याद छ । उनी यसको बारेमा धेरै पीडाका साथ यसरी कुरा गर्छिन् मानौं त्यो घटना हिजोमात्रको हो ।

जुमना भन्छिन् ‘मेरा पतिले ढोका बन्छ गरे र भने कि हामीले छिटो गर्नुपर्छ किनकि परिवारका पाकाहरु कुमारित्वको सबुतको लागि हाम्रो प्रतिक्षा गरिरहेका छन् ।’ जुमना अगाडि भन्छिन् ‘मलाई त्यो निकै खराब लागेको थियो । मेरा पतिले मसँग एक मिनेट कुरा पनि गरेनन् ।

उनलाई यो कुराको पर्वाह थिएन । उनी त बस आफ्नो काम पूरा गर्न जुटे, जबकि म डर र घिनले काँपिरहेकी थिएँ । शारीरिक पीडा र भावनात्मक तनावका बावजुद मेरो पतिलाई चिन्ता थियो त रगतका केही धब्बाको ।’

लज्जाबोध

जुमना भन्छिन् ‘त्यो रात मेरो रगत आएन त्यपछि मेरा पतिले रातको शान्तिलाई चिर्ने चित्कारका साथ भने कि रगत आएन । उनले मलाई यति भद्दा गाली गरे कि जो मैले आफ्नो मुखले भन्न पनि सक्दिन । उनका आँखा कोइलाजस्तै जलिरहेका थिए जो मलाई कुनै पनि बेला खरानी पार्न सक्थे ।’ करिब १ घण्टा जुमना भयंकर धक्कामा थिइन् । उनको मुखबाट एक शब्द पनि निस्किएन । उनीहरुले बिहानसम्म पनि प्रतिक्षा गरेनन् र उनको कुमारित्व परीक्षण गर्नको लागि त्यही रात एक डाक्टरकहाँ लिएर गए जसले उनी कुमारी भएको पुष्टि गर्न सकुन् ।

जुमना भन्छिन् ‘मलाई याद छ कि ती डाक्टर मलाई यसरी सान्त्यना दिइरहेका थिए मानौं उनी मेरा पिता हुन् । उनी मेरा पतिलाई उनको कर्तुतको लागि गाली गरिरहेका थिए ।’ जुमनालाई त्यपछि कैयौं वर्षसम्म आफ्ना तिनै पतिको साथमा रहनुपर्यो जसले उनलाई सबैको अगाडि बेइज्जत गरेका थिए । किनकि न जुमनाको परिवार र उनको आसपासका मानिसहरु, तलाकको लागि उनको साथ दिन तयार भएनन् । न त त्यो रात कसैले जुमनाको समर्थन गरे र त्यसपछिको २० वर्षको विवाहित जीवनको दौरान ।

२० वर्ष र चार सन्तान भएपछि पनि जुमना त्यो बेइज्जती भुल्न सकिरहेकी छैनन् । जब उनी आफ्ना छोराछोरीको साथमा ब्रसेल्स पुगिन्, उनले आफ्नो विवाहमा पूर्णविराम लगाइन् ताकि उनी आफ्ना शौहर र त्यो समाजसँग बदला लिन सकुन् जसले उनलाई तल्लो देखाएको थियो । जुमना भन्छिन् कि ब्रसेल्सको जिन्दगी उनी र उनका बच्चाको लागि राम्रो छ ।

अब उनी फेरि विवाह गर्न चाहन्नन् । यसको सट्टा उनी आफ्नो पढाइको सपना पूरा गर्न चाहन्छिन् जसबाट पहिले उनलाई बञ्चित गरिएको थियो । उनी आफ्ना बच्चाहरुलाई त्यो अवसर दिन चाहन्छिन् जो उनी आफूलाई प्राप्त भएन । जुमना भन्छिन् ‘म अब खुसी छु किनकि मैले आफ्नी २ छोरीलाई पनि आफूसँग यहाँ ल्याउन सकें । मैले आफ्ना पतिलाई केवल तलाक दिइन, मैले त्यो समुदायलाई पनि अलविदा भनें जसले मसँग न्याय गरेन ।’

रोजाना र अमिनाः हाइमेनको मर्मतको सर्जरी

एक अन्य महिला रोजाना भन्छिन् कि आखिर उनी किन पाँच वर्षपछि आफ्ना मंगेतरसँग अलग भइन् । रोजाना भन्छिन् ‘म उनीमाथि भरोसा गर्थें र उनीसँग धेरै प्रेम गर्थें । हाम्रो तमाम भेटघाटका क्रममा एक दिन उनले मसँग सेक्सको लागि जिद्दी गरे । प्राविधिक रुपमा त म उनलाई आफ्नो पति नै मान्थें त्यसैले म यो जिद्दीको अगाडि झुकें र हामीले सम्बनध बनायौं ।’

५ महिनापछि रोजाना र उनका मंगेतरको परिवारबीच भयंकर झगडा भयो । त्यसपछि तब झनै ठूलो तुफान आयो जब रोजाना र उनका मंगेतर अलग भए । उनी भन्छिन् ‘हाम्रो समाजमा कुमारित्व गुमाएकोमा के सजाय हुन्छ यमा कुनै बहस नै छैन । यसको सजाय केवल मृत्यु हुन्छ ।’

रोजानाले भनिन् ‘भाग्यले मेरी एक साथी मेरो साथमा थिइन् । उनले मलाई चुपचाप कुनै महिला डाक्टरसँग भेट्ने सल्लाह दिइन् र भनिन् कि म सर्जरी गरेर बिल्कुल नयाँ चाइनिज हाइमेन लगाउँ । त्यो सानो सर्जरीबिना त म कहिले मरिसकेकी हुन्थें ।’

यस्तै गरी अमिनासँग बाल्यकालमै एक दुर्घटना भयो । उनी बाथरुमको सिढीमा लडिन् र उनको शरीरबाट केही रगत निस्किएको थियो । अमिना एक रुढीवादी र निकै गरिब परिवारकी थिइन् । उनलाई त्यतिबेला थाहै भएन कि के भएको छ तर अमिनाले यो कुरा आफ्नी आमालाई बताइन् । आमाले अमिनालाई तत्कालै उक महिला डाक्टरकहाँ लिएर गइन् । जाँचमा थाहा भयो कि अमिनाको हाइमेन च्यातिएको छ ।

अमिना भन्छिन् ‘त्यो दिन मेरी आमाको लागि निकै पीडादायी थिया । उनलाई के गर्ने भन्ने केही आइरहेको थिएन । सल्लाहपछि एक डाक्टरसँग हाइमेनको सर्जरीको लागि समय लिइयो । यस्ता अपरेशन निकै लुकिछिपी गरिन्छ किनकि हाम्रो देशमा यो गैरकानुनी हो । अर्कोतर्फ धेरैजसो मानिसहरुलाई यो कुरामा विश्वास हुँदैनथ्यो कि मेरो योनीको झिल्ली लडेका कारण च्यातिएको हो, उनीहरु मेरो कुमारित्वमा जीवनभर प्रश्न उठाउँथे ।’

कुमारित्व परीक्षण

कैयौं अरब र मुस्लिम देशमा धेरै महिलाहरुलाई विवाहपहिले कुमारित्व परीक्षण गराउनुपर्छ । त्यसपछि मात्र हुनेवाली बेहुलीले कुमारी भएको प्रमाणपत्र पाउँछन् । ह्युमन राइट्स वाचले इण्डोनेसिया र अन्य अरब र मुस्लिम देशहरुमा हुने यो पीडादायी परीक्षणको कडा निन्दा गरेको थियो । यस्ता देशहरुमा आम रुपमा पाका महिलाहरुलाई यो कुराको जिम्मेवारी दिइन्छ कि कि उनीहरु हुनेवाली बेहुलीको योनीमा दुई औंला हालेर यो पत्ता लगाउन् कि उनको योनीको झिल्ली सुरक्षित छ कि छैन ।

यो रिवाज मध्य पूर्व र उत्तरी अफ्रिकाका देशमा बहुत आम छ । ह्युमन राइट्स वाचले २०१४ मा प्रकाशित गरेको आफ्नो रिपोर्टमा यसलाई लैंगिक हिंसाको एक रुप भनेको थियो जो महिलाहरुप्रति अमानवीय भेदभाव र मानवअधिकारको उल्लंघन हो । बीबीसीको एक अध्ययनका अनुसार भारत, अफगानिस्तान, बंगलादेश, इरान, मिश्र, जोर्डन, लिबिया, मोरक्को र अन्य अरब देशहरुका साथ दक्षिण अफ्रिकाजस्ता देश कुमारित्व परीक्षणमा सबैभन्दा अगाडि छन् ।

ह्युमन राइट्स वाचका अनुसार मिश्र, मोरक्को, जोर्डन र लिबियामा कुमारित्व परीक्षण अत्यन्तै आम छ । एचआरडब्लुको रिपोर्टको जवाफमा मोरक्को र मिश्रले यता दावीलाई सोझै अस्वीकार गरेका थिए । उनीहरुले दोहोर्याएका थिए कि यस्ता रिवाज पूर्ण रुपमा गैरकानुनी हुन् र यी लुकिछिपी गैरकानुनी तरिकाले गरिन्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *