डीएमके नेता उदयनिधि स्टालिन पक्राउ, अभिनेत्री तृषामाथि आपत्तिजनक टिप्पणी गरेको आरोप

डिसी नेपाल
१९ साउन २०८३ १४:३४

काठमाडौं । द्रविड मुन्नेत्र कझगम (डीएमके) का नेता एवम् तमिलनाडु विधानसभाका प्रमुख प्रतिपक्षी नेता उदयनिधि स्टालिनलाई मङ्गलबार चेन्नईस्थित उनकै निवासबाट प्रहरीले नियन्त्रणमा लिएको छ।

सोमबार उदयनिधिले एक र्‍यालीका क्रममा तमिल अभिनेत्री तृषा कृष्णनविरुद्ध आपत्तिजनक टिप्पणी गरेको आरोप लागेको छ।

तमिलनाडुका मुख्यमन्त्री जोसेफ विजयको पार्टी ‘तमिलगा वेत्री कझगम’ (टीभीके) ले यस मामिलामा प्रहरी र राष्ट्रिय महिला आयोग (एनसीडब्ल्यू) मा उजुरी दर्ता गराएको थियो।

चेन्नई (साउथ) का अतिरिक्त प्रहरी आयुक्त नरेन्द्रन नायरले उदयनिधि स्टालिनविरुद्ध प्रथम सूचना रिपोर्ट (एफआईआर) दर्ता भएको पुष्टि गरेका छन्।

यसअघि मङ्गलबार बिहान उदयनिधि स्टालिनको घरबाहिर ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो।

घटनापछि एम सुब्रमण्यम, ईभी वेलु, एनआर एलङ्गो र परन्थमनसहित डीएमकेका धेरै पदाधिकारी तथा समर्थकहरू उदयनिधिको निवास पुगेका थिए। उदयनिधिको घर वरपर ठूलो सङ्ख्यामा डीएमके कार्यकर्ताहरू भेला भएपछि त्यहाँको वातावरण तनावपूर्ण बनेको थियो।

बीबीसी तमिलका अनुसार कावेरी नदी जल विवादलाई लिएर सोमबार तन्जाभुरमा डीएमकेले टीभीके सरकारविरुद्ध प्रदर्शन गरेको थियो।

प्रदर्शनका क्रममा उदयनिधि स्टालिनले मुख्यमन्त्री विजयमाथि कावेरी मुद्दामा चासो नदिएको आरोप लगाएका थिए। उनले भनेका थिए, ‘उहाँको एउटै मात्र चिन्ता डीएमकेविरुद्ध मुद्दा दर्ता गराउनु हो।’

सम्बोधनका क्रममा भीडबाट लगाइएका नाराहरूपछि उदयनिधिले गरेका केही टिप्पणीहरूले ठूलो विवाद सिर्जना गरेका छन्।

केवल टीभीके मात्र नभई अन्य राजनीतिक दलहरूले पनि यसलाई मुख्यमन्त्री जोसेफ विजयको अपमान भनेका छन्।

टीभीके सरकारका मन्त्री एन आनन्दले विनम्रता र आत्मसंयम नभएको व्यक्ति कसरी तमिलनाडुको उपमुख्यमन्त्री बनेको थियो भन्दै प्रश्न उठाएका छन्। उदयनिधि अघिल्लो डीएमके सरकारमा उपमुख्यमन्त्री थिए।

एन आनन्दले जनताले सबै कुरा हेरिरहेको बताए। यसैगरी अधव अर्जुना र राजमोहनलगायत धेरै मन्त्रीहरूले पनि उदयनिधि स्टालिनको भाषणको भर्त्सना गरेका छन्।

भाजपाकी वरिष्ठ नेत्री तमिसिइ सौन्दरराजन र तमिलनाडु कांग्रेसका नेता मणिकम ठाकुरलगायत धेरै नेताहरूले उदयनिधिको ‘टिप्पणी’ को आलोचना गरेका छन्।

प्रहरीको गाडीमा लैजाँदै गर्दा उदयनिधि स्टालिनले सञ्चारकर्मीहरूसँग भने, ‘मैले नबोलेको कुरालाई तोडमरोड गरेर र जोडेर मेरो नाममा अनर्गल प्रचार गरिँदैछ। आज मविरुद्ध झुटो मुद्दा दर्ता गरेर पक्राउ गरिएको छ।’

‘म यसबाट डराउनेवाला छैन। म कलाइनर (करुणानिधि) को वंशज, डीएमके परिवारको सदस्य र नेता स्टालिनको छोरा हुँ। मैले त्यस प्रदर्शनमा करिब २२ मिनेट भाषण गरेको थिएँ।’

उदयनिधिले अगाडि भने, ‘सरकारले किसानहरूलाई धोका दिएको छ, आफ्ना वाचाहरू पूरा गरेको छैन र मेकेदातु बाँध निर्माणविरुद्ध आवाज उठाएको छैन। मैले मुख्यमन्त्रीले यसबारे बोल्नुपर्छ मात्र भनेको थिएँ। मैले एमके स्टालिनले किसानहरूलाई समर्थन गर्नेछन् पनि भनेको थिएँ। यतिबेला टीभीके ध्यान भड्काउने खेलमा लागेको छ। मुख्यमन्त्री र सबै मन्त्रीहरू केवल ‘रील्स’ मा मात्र बाँचिरहेका छन्।’

टीभीकेका तर्फबाट उदयनिधि सुवेन्द्रमाथि कारबाहीको माग गर्दै तन्जाभुर (पूर्व) प्रहरी चौकीमा उजुरी दर्ता गराइएको छ।

टीभीके तन्जाभुर जिल्ला महिला संयोजक भैरवीका तर्फबाट दिइएको उजुरीमा प्रदर्शनका क्रममा उपस्थित मानिसहरूका नाराको जवाफ दिने क्रममा उदयनिधिले ‘द्विअर्थी’ र ‘अपमानजनक’ अभिव्यक्ति दिएको उल्लेख छ।

उजुरीमा डीएमकेको आईटी विङले उदयनिधिको भाषणको २ मिनेट ३९ सेकेन्डको भिडियो आफ्नो एक्स (ट्विटर) ह्यान्डलमा पोस्ट र प्रसारित गरेको पनि जनाइएको छ।

उजुरीमार्फत सार्वजनिक शान्ति भङ्ग गरेको अभियोगमा उदयनिधि स्टालिन र भिडियो प्रसारित गर्ने डीएमके आईटी विङका पदाधिकारीहरूविरुद्ध कडा कानुनी कारबाहीको माग गरिएको छ।

यसैबिच, डीएमकेका कोषाध्यक्ष डीआर बालुले उदयनिधिमाथि लागेका आरोपहरूको खण्डन गर्दै भनेका छन्, “उदयनिधिले कुनै विशेष महिलाका बारेमा केही भनेका छैनन् र सञ्चारमाध्यममा सिङ्गो विषयलाई गलत तरिकाले प्रस्तुत गरिँदैछ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *