१०८ मेगापिक्सेल क्षमताको क्यामरा जडित मोबाइल फोन सार्वजनिक
बीबीसी । चिनियाँ प्रविधि कम्पनी शाओमीले १०८ मेगापिक्सेलको क्यामेराजडित मोबाइल फोन सार्वजनिक गरेको छ।
उक्त हाइरिजोल्युसन सेन्सर दक्षिण कोरियाली कम्पनी सामसङले विकास गरेको भएपनि उसकै आफ्नो उत्पादनमा भने यो फिचर राखिसकेको छैन। चिनियाँ कम्पनीका अनुसार उक्त फिचरले अत्यधिक मात्रामा स्पष्ट तस्बिर कैद गर्ने क्षमता राख्छ।
तर एउटा परीक्षणले भने उक्त फोनबाट खिचिएको तस्बिरमा कम रिजोल्युसन भएका फोन भन्दा बढी डिजिटल विकृतिहरू समावेश हुने देखाएको छ। एमआइसीसी ९ प्रो प्रिमियम नाम गरेको उक्त फोन हालका लागि चिनियाँ बजारमा मात्र उपलब्ध हुनेछ।

तर शाओमीले उक्त प्रविधि बुधवार सार्वजनिक गरिने एमआइ नोट १० मा समावेश गर्ने बताएको छ। अनुसन्धान गर्ने कम्पनी क्यानलिजका अनुसार शाओमी हाल बिक्रीका हिसाबले विश्वकै चौथो ठूलो स्मार्टफोन उत्पादक हो।
युरोपमा उक्त फोनको बिक्री तीव्र रूपमा फैलँदै छ र सन् २०२० मा जापानमा समेत बजार विस्तार गर्ने कम्पनीले घोषणा गरिसकेको छ। हालसम्म १०० मेगापिक्सल भन्दा बढीको सेन्सर मध्यम स्तरका डिजिटल क्यामेरामा प्रयोग गरिन्थ्यो जसको मूल्य हजारौँ पाउन्ड पर्नसक्छ।

गुणस्तर राम्रो हुने भए पनि उक्त १०८ मेगा पिक्सेल सेन्सरद्वारा खिचिएको तस्बिरले फोनको स्टोरेजमा प्रभाव पार्ने छ। त्यस्तै ती तस्बिर सम्पादन गर्न बढी शक्ति लाग्ने छ। तर उक्त फोनमा कम रिजोल्युसनमा तस्बिर खिच्न सकिने विकल्प पनि राखिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment