नेकपाले हेलिकप्टरमा लैजाँदा पनि समयमा नपुग्दा बागी उम्मेदवारी फिर्ता गराउन सकेन

डिसी नेपाल
२४ कार्तिक २०७६ १५:४७

काठमाडौं। नेकपाले बाग्लुङ २ ख प्रदेशसभामा आफ्ना बागी उम्मेदवार रोक्न असफल भएको छ । नेकपाले ती बागीलाई रोक्न पोखराबाट हेलिकप्टर नै चार्टर गरेर पठाएको थियो । तर, हेलिकप्टर बाग्लुङ ल्याण्ड गर्दासम्म उम्मेदवारी फिर्ता लिने समय नै सकिइसकेपछि नेकपाको प्रयास विफल भएको हो । अब यहाँ स्वतन्त्र उम्मेदवार शेरमान घर्ती पनि चुनावी मैदानमा हुनेछन् । घर्ती नेकपाका बागी हुन् ।

यो क्षेत्रमा यसअघिको निर्वाचनमा बाम गठबन्धनले राष्ट्रिय जनमोर्चालाई सहयोग गरेको थियो । सोहीअनुसार यसपटक पनि यहाँ जनमोर्चालाई नै सघाउने नेकपाले निर्णय गर्यो तर नेकपाका घर्तीले बागी उम्मेदवारी दर्ता गराइदिएपछि नेकपालाई धक्का लाग्यो । स्वतन्त्र उम्मेदवारी दिएका घर्तीका कारण नेकपाले सघाएका जनमोर्चाका उम्मेदवारलाई जित्न कठिन हुने भएपछि घर्तीको नाम फिर्ता गराउन नेकपा लागिपरेको थियो।

बागलुङ २ ‘ख’ का उम्मेदवार घर्तीको उम्मेदवार फिर्ता गराउन पार्टीले हेलिकोप्टर समेत प्रयोग गरेको थियो। तर, निर्धारित समयभन्दा केही ढिलो गरी हेलिकोप्टर पुगेकाले उम्मेदवारको फिर्ता हुन नसकेको हो। नेकपा बाग्लुङका अध्यक्ष इन्द्रलाल सापकोटाले घर्तीलाई हेलिकोप्टर चढाएर उम्मेदवारी फिर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय बुर्तीबाङ पुगेका थिए।

हेलिकोप्टर बुर्तिवाङस्थित होटल दरबारको छतमा रहेको हेलिप्याडमा अवतरण भएको थियो। निर्वाचन आयोगले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने निर्धारण गरेको थियो। नेकपा निकट घर्ती राष्ट्रिय जनमोर्चाबाट तत्कालीन माओवादी प्रवेश गरेका थिए। २०७४ सालको स्थानीय तहको चुनावमा ढोरपाटन नगरपालिकाको मेयरका लागि चुनाव लडेका थिए। उक्त क्षेत्रमा नेकपाको समर्थनमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही उम्मेदवार बनेका छन्। कांग्रेसका तर्फबाट जीतबहादुर शेरचन उम्मेदवार छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *