ओली–दाहाल गोप्य वार्ता, मन्त्रिपरिषद विस्तारबारे छलफल

डिसी नेपाल
२४ कार्तिक २०७६ १६:४०

काठमाडौं। प्रधानन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले आफ्नो निजी सचिवालयका सदस्यहरुलाई राजीनामा दिन लगाएसँगै मन्त्रिपरिषद विस्तारबारे छलफल तिब्र पारेका छन्।

सचिवालय सदस्यहरुको राजीनामा र मन्त्रिमण्डल विस्तारबारे आइतबार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग प्रधानमन्त्री ओलीले बालुवाटारमा गोप्य वार्ता गरेका हुन्। वार्ताका क्रममा ओली र दाहालमात्र रहेकोले कुनै महत्वपूर्ण विषयमा छलफल भएको अडकल गरिएको छ।

दाहालका प्रेस सल्लाहाकार जुगलले दुई अध्यक्षबीच भेट भएको बताए। उनले डिसी नेपालसँग भने, ‘पार्टी एकीकरणको बाँकी रहेका विषयमा दुई अध्यक्षबीच कुरा भएको हो।’ मन्त्रिपरिषद विस्तारबारे कुराकानी भएकोबारे भने आफुलाई जानकारी नभएको उनले डिसी नेपाललाई बताए।

बालुवाटार स्रोतले भने दुई अध्यक्षबीच मन्त्रिपरिषद विस्तार र पार्टी एकीकरणका विषयमा कुराकानी भएको दावी गरेको छ। स्रोतले भन्यो, ‘दुई अध्यक्षबीच मन्त्रिपरिषद विस्तारबारे कुरा भएको छ, यसबारे छिटै कुराहरु सार्वजनिक हुनेछन्।’

प्रधानमन्त्री ओलीले सल्लाहाकारहरुलाई राजीनामा दिन लगाएपछि मन्त्रिपरिषद पनि विस्तार गर्ने अडकल भइरहेका बेला दुई अध्यक्षबीच आइतबार बालुवाटारमा ‘गोप्य’ छलफल भएको हो।

छलफलका क्रममा ओलीको स्वास्थ्य अवस्थाबारे पनि कुरा भएको स्रोतले बताएको छ। मिर्गौलाले काम नगरेपछि अघिल्लो हप्ता दुई दिनसम्म अस्पताल बसेका ओलीको डायलसिस गरिएको थियो।

त्यसयता भने उनको स्वास्थ्य अवस्था सामान्य रहेको बालुवाटार स्रोत बताउँछ। तर, आगामी दिनमा नियमति डायलसिस गराउनेकी मिर्गौला प्रत्यारोपण गर्ने भन्ने विषयमा निश्कर्ष निकालिएको छैन। यो विषयमा पनि दुई अध्यक्षबीच कुरा भएको जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *