उपनिर्वाचनका लागि काँग्रेसद्वारा सबै भ्रातृ संगठन परिचालन
पोखरा। नेपाली काङ्ग्रेस कास्कीले क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि आगामी मङ्सिर १४ गते हुने निर्वाचनलाई लक्ष्य गरी सम्पूर्ण भ्रातृ तथा शुभेच्छुक सङ्गठन परिचालन गरेको छ ।
पार्टीले जिल्लामा क्रियाशील नेपाल विद्यार्थी सङ्घ, महिला सङ्घ, तरुण दल, शिक्षक सङ्घ, नेपाल ट्रेडयुनियन काङ्ग्रेस, दलित सङ्घ, किसान सङ्घ, जनजाति सङ्घ, भूपू कर्मचारी सङ्घलगायतका सबैलाई चुनावमा खटाएको चुनाव प्रचारप्रसार मूलसमितिका संयोजक एवं कास्की काङ्ग्रेसका सभापति कृष्ण केसीले जानकारी दिए।
पार्टीको जिम्मेवारीसँगै भ्रातृ तथा शुभेच्छुक सङ्गठनले आ –आफ्ना सङ्गठनका नेता तथा कार्यकर्तालाई परिचालन गरिसकेको नेपाल महिला सङ्घका सभापति कोपिला रानाभाटले बताए। भ्रातृ तथा शुभेच्छुक सङ्गठनका प्रमुखले आ–आफ्ना नेता कार्यकर्तालाई सबै मतदाता समक्ष एक पटक अनिवार्य भेट्न निर्देशन दिएको उनले जानकारी दिए।
काङ्ग्रेस जस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा), समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलले पार्टीअन्तर्गतका भ्रातृ तथा शुभेच्छुक सङ्गठनलाई परिचालन गरी चुनावी अभियान तीव्र बनाएका छन् । दलहरूले निर्वाचन क्षेत्रअन्तर्गत पर्ने पोखरा महानगरपालिकाका विभिन्न वडामा घरदैलो कार्यक्रमलाई आज पनि जारी राखेका छन् । रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment