शिवमायाको अडान नेकपालाई ‘निल्नु न ओकल्नु’ (टिप्पणी)

डिसी नेपाल
२६ कार्तिक २०७६ १२:०७

प्रतिनिधिसभा सभामुखविहीन छ । यौन दुराचारको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएसँगै सभामुख पद रिक्त छ । मंसिर १४ गतेका लागि उपनिर्वाचन तोकिएकोले अहिले संसदको हिउँदे अधिवेशन सुरु हुन केही समय बाँकी छ त्यसैले अहिले सभामुखको आवश्यकता परेको छैन । तत्कालीन सभामुख महराले राजीनामा दिएसँगै चर्किएको ‘अब सभामुख को बन्ने’ भन्ने बहस अहिले केही समयको लागि केही हदसम्म सेलाएको छ । तर, निर्वाचनलगत्ते यो बहस फेरि तात्नेछ किनकि त्यतिबेला संसदको हिउँदे अधिवेशन सुरु गर्ने समय हुनेछ ।

सभामुख को बन्ने त ? यो विषयमा केही साताअघि चर्को बहस भएको हो । नेकपाले सभामुख आफैंसँग राख्न चाहेकोले नेकपाभित्रका केही नेताहरु भावी सभामुखको रुपमा चर्चामा आएका छन् । यीमध्ये केही पूर्व एमालेका छन् भने केही पूर्व माओवादीका । उता प्रमुख प्रतिपक्षी दलले सभामुख र उपसभामुख एउटै दलको हुन नहुने संवैधानिक व्यवस्थामा टेकेर सभामुख वा उपसभामुखमध्ये एउटा आफूले पाउनुपर्ने तर्क गरेको छ । तर, नेकपा यी दुवै पद आफैंसँग राख्न चाहन्छ ।

नेकपाले दुवै पद आफैंसँग राख्न संवैधानिक व्यवस्थाले दिँदैन । संविधानले रोकेका कारण नेकपाले दुवै पद पाउने सम्भावना छैन । तर, नेकपासँग एउटा रोचक विकल्प भने छ । यो विकल्प रोज्ने हो भने सभामुख र उपसभामुख दुवै नेकपाका त हुँदैनन् तर उपसभामुख आफ्नो दलको नभए पनि नेकपाका लागि उनी आफ्नै दलकी सांसदसरह हुनेछिन् । उनी हुन् प्युठानबाट निर्वाचित जनमोर्चाकी सांसद दुर्गा पौडेल । पुराना कम्युनिस्ट नेता मोहनबिक्रम सिंहकी पत्नी दुर्गा नेकपाकी त होइनन् तर उनले नेकपा (तत्कालीन बाम गठबन्धन) को समर्थनमा चुनाव जितेकोले उनी नेकपाकै सांसदसरह छिन् । उनलाई उपसभामुख बनाएमा दुवै पद एउटै दलको हुन नपाइने संवैधानिक व्यवस्थाको पनि पालना हुनेछ किनकि उनी नेकपाकी नभइ स्वतन्त्र सांसद हुन् ।

नेकपाका केही नेताहरुले यो विकल्पमा जान सकिने धारणा राखेका छन् । यदि यो विकल्पमा गएमा सभामुखमा नेकपाका कुनै एक आकांक्षी र उपसभामुखमा दुर्गा पौडेललाई जिताउने नेकपाको रणनीति हुन सक्छ । तर, यसका लागि अहिलेकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले त्याग गर्नुपर्ने हुन्छ । शिवमायाले उपसभामुखबाट राजीनामा दिँदै सभामुखको समेत दावी त्यागेमा यो सम्भव छ अन्यता नेकपासँग यो विकल्व भएर पनि नभएसरह हुनेछ ।

शिवमायाले भने आफू अहिले उपसभामुख भएकोले सभामुखमा आफ्नो स्वतः दावी रहने बताएकी छिन् । उनले आफू सभामुख हुने ग्यारेन्टी भएमा मात्र उपसभामुखबाट राजीनामा दिने बताइसकेकी छिन् । हिजोमात्र उनले यही कुरा फेरि दोहोर्याइन् । तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएलगत्तै शिवमायाले आफूले गल्ती नगरेकोले सजाय नभोग्ने अडान राखेकी थिइन् । उनले त्यतिबेलादेखि नै सभामुख हुने ग्यारेन्टी भएमात्र उपसभामुख छोड्ने अन्यथा उपसभामुखबाट राजीनामा नदिने अडान राखेकी थिइन् । उनी त्यही अडानमा कायमै छिन् ।

यदि शिवमायाले अडान नत्याग्ने हो भने नेकपाले कुनै पनि हालतमा दुवै पद आफैंसँग राख्न पाउँदैन । संविधानमा सभामुख र उपसभामुख एउटै दलको मात्र होइन एउटै लिंगको समेत हुन नपाइने व्यवस्था छ । यदि शिवमायालाई सभामुख बनाउने हो भने नेकपाले दुर्गा पौडेललाई उपसभामुख बनाउन संविधानको यही व्यवस्थाले रोक्नेछ । संविधानको यो व्यवस्थाको पालना गर्ने हो भने शिवमायालाई सभामुख बनाएपछि नेकपाले दुर्गाजस्तै आफ्नै सरह मान्न सकिने, फरक दलको (वा स्वतन्त्र) पुरुष सांसद उपसभामुख पदका लागि खोज्नुपर्ने हुन्छ । अहिलेको प्रतिनिधिसभामा यस्तो सांसद दुर्गाबाहेक दोस्रो कोही पनि छैन ।

यद्यपि संसदीय राजनीतिमा दलले निर्देशन दिएपछि राजीनामा दिने प्रचलन छ । यो बाध्यकारी नियम त होइन तर संसदीय अभ्यासमा यसलाई नियमसरह पालना भने गर्ने गरिएको छ । यही अनुसार महराले पनि पार्टीकै निर्देशनमा सभामुखबाट राजीनामा दिएका हुन् । विगतको यही अभ्यासलाई हेर्दा अन्ततः शिवमायाले पार्टीको निर्देशन मान्दै राजीनामा दिने अपेक्षा गर्न सकिन्छ । तर, यदि शिवमायाले नमानेको स्थितिमा भने नेकपाले दुवै पद आफैंसँग राख्ने चाहना कुनै पनि हालतमा पूरा हुने देखिँदैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *