प्रधानमन्त्रीको सचिवालयका ११ सल्लाहकारले राजीनामा दिए, रिमाल र भट्टराईले दिएनन्
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय टिममध्येका प्रमुख सल्लाहकार विष्णु रिमाल र पराराष्ट्र सल्लाहकार राजन भट्टराईबाहेक अन्यले राजीनामा बुझाएका छन्। प्रधानमन्त्री ओलीले ‘आफू नयाँ ढंगले चल्न खोजेकाले सहयोग गर्न’ अनुरोध गरेलगत्तै सचिवालय टिमका सदस्यले कात्तिक मसान्तदेखि लागू हुने गरी राजीनामा दिएका हुन्।
‘विष्णुजी र राजनजीको राजीनामा पेश भएको छैन, सायद नमागिएको पनि होला,’ एक सचिवालय सदस्यले भने, ‘आवश्यक ठानेको खण्डमा हाम्रो पुनर्नियुक्ति हुन सक्छ तर कात्र्तिकसम्म हामी काम गर्छौं, मंसिरदेखि हामी हुँदैनौं।’ उनका अनुसार प्रधानमन्त्री नयाँ ‘स्पिरिट’ अनुसार अघि बढ्न खोजे पछि राजीनामा दिएर सहज बनाई दिईएको हो ।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमालले सचिवालयको नियमित बैठकका क्रममा गत शुक्रवार ‘प्रधानमन्त्रीको नयाँ सोच’ बारे जानकारी दिएका थिए। त्यसलगत्तै बसेको सचिवालय टिमको बैठकमा सामूहिक राजीनामा दिने निर्णय भएको थियो। प्रधानमन्त्रीको सचिवालय टिमको हरेक शुक्रबार समीक्षा र कार्ययोजनाका लागि बैठक बस्ने गरेको छ।
सोही निर्णय अनुसार प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, सूचना तथा प्रविधि सल्लाहकार अस्गर अलि, स्वकीय सचिव इन्द्र भण्डारी, प्रेस संयोजक चेतन अधिकारी, प्रेस संयोजक रामशरण बजगाईं, फोटो संयोजक कृष्ण पौडेललगायत ११ जनाले राजीनामा दिएका थिए।
प्रधानमन्त्री सचिवालयमा रहेका १३ मध्ये ११ जनाले राजीनामा दिए पनि २ जनासँग प्रधानमन्त्री ओलीले राजीनामा माग नगरेको बुझिएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment