चोरी मुद्दाका फरार कैदी ३४ वर्षपछि पक्राउ

डिसी नेपाल
१ मंसिर २०७६ २०:३१

धादिङ । चोरी मुद्दाका एक जना फरार कैदी ३४ वर्षपछि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङबाट फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत साविकको धुँवाकोट गाविस ५ का ६९ वर्षीय राम बहादुर भन्ने सुब्बा वस्तीलाई प्रहरीले पक्राउ गरेको छ ।

चोरी मुद्दामा जिल्ला अदालत धादिङले २०४१ जेठ ०८ गते फैसला गर्दै ३ वर्ष ११ महिना ७ दिन कैद तोकेको थियो ।

त्यो बेला नै सुब्बा वस्ती कारागार कार्यालय धादिङमा थुनामा रहेकै बेलामा २०४१ मंसिर ६ गते कारागार कार्यालय धादिङबाट भागी फरार भएका थिए ।

त्यो बेलामा भागेको भन्दै अदालतबाट २०४२ मंसिर १७ गते फैसला हुँदा उनलाई ५ वर्ष ५ दिन थप कैद हुने ठहर भई उनको नाममा ८ वर्ष ११ महिना १२ दिन कैद बेरुजु गरको थियो ।

उनै फरार रहेका वस्तीलाई जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा हिजो शनिवार जिल्लाको निलकण्ठ नगरपालिका १ खाल्टे स्थितमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

पक्राउ परेका वस्तीलाई आइतबार जिल्ला अदालतमा पेश गरिएकोमा कैद भुक्तानको लागि कारागार पठाएको जनाएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *