आइसिसीको मान्यताको प्रतीक्षामा एनपिएल, विदेशी स्टार भित्र्याउने तयारी तीव्र
काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को तयारीमा जुटिरहेका बेला प्रतियोगिताले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट पाउने औपचारिक मान्यताको प्रतीक्षामा छ।
एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन आवश्यक पर्ने कागजात क्यानले आइसिसीमा पठाइसकेको छ। अब क्यान आइसिसीको औपचारिक निर्णयको पर्खाइमा रहेको क्यानका सचिव पारस खड्काले बताएका छन्।
एनपिएलका टोलीहरूले विदेशी खेलाडी अनुबन्धका लागि तयारी अघि बढाइसके पनि आइसिसीको औपचारिक स्वीकृति नआएसम्म खेलाडीको नाम सार्वजनिक गर्न समस्या भइरहेको खड्काले बताए। उनका अनुसार अधिकांश टोली अहिले आइसिसीको निर्णयको प्रतीक्षामा छन्।
“राम्रो खेलाडी ल्याउन टोलीहरू कोसिस गरिरहेका छन्। अहिले खेलाडीलाई कन्ट्र्याक्ट गरेर राखेको अवस्था छ। अफिसियली स्याङ्कसन आएपछि मात्रै उनीहरूलाई अनाउन्स गर्ने कुरा आउँछ,” खड्काले रासससँग भने, “धेरैजसो टिम यही प्रतीक्षामा छन्। आशा गरौँ, चाँडोभन्दा चाँडो सकारात्मक खबर आओस्।”
आइसिसीको स्वीकृति प्राप्त भएपछि एनपिएलका टोलीलाई टेस्ट राष्ट्रका चर्चित तथा स्तरीय विदेशी खेलाडी अनुबन्ध गर्न सहज हुने क्यानको अपेक्षा छ। यसले प्रतियोगिताको स्तर बढाउनुका साथै नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय चर्चा थप विस्तार गर्न सहयोग पुग्ने खड्काले बताए।
एनपिएल टोली जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) निरोज खतिवडा पनि आइसिसीको निर्णयको प्रतीक्षामा छन्। उनले आइसिसीबाट छिट्टै सकारात्मक निर्णय आउने अपेक्षा व्यक्त गरे।
“आशा छ आइसिसीले छिटो एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिनेछ। त्यसो हुँदा हामीलाई आवश्यक पर्ने थप विदेशी स्टार खेलाडी भित्र्याउन सहज हुनेछ,” खतिवडाले भने।
यसपटकको एनपिएलमा डेविड वार्नर, मोइन अली, सिकन्दर राजा, इफ्तिखार अहमदलगायत अन्तर्राष्ट्रिय क्रिकेटमा चर्चित खेलाडी जोडिँदै छन्। ठूला विदेशी खेलाडीको सहभागिताले एनपिएलको चर्चा नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत बढ्ने क्यानको अपेक्षा छ।
क्यानका सचिव खड्काले एनपिएललाई क्रिकेट प्रतियोगिताका रूपमा मात्र नभई खेल पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा समेत विकास गर्न सकिने बताए। यसअघि एनपिएलमा सहभागी हुन नेपाल आएका विदेशी खेलाडी, अम्पायर तथा कमेन्टेटरले नेपालबारे सकारात्मक अनुभव लिएर फर्किएको उनको भनाइ छ।
“इन्टरनेसनल खेलाडी लगभग ५५–६० जना, अम्पायरहरू, कमेन्टेटरहरू गर्दा ६०–७० जना विभिन्न देशका नागरिक यसअघि पनि आएर एकदमै प्लेजेन्ट मेमोरिज लिएर फर्किएका छन्,” खड्काले भने।
विदेशी खेलाडीको नेपाल आगमनले खेल पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने उनको भनाइ छ। अन्तर्राष्ट्रियस्तरका खेलाडीले नेपालबारे सकारात्मक धारणा व्यक्त गर्दा त्यसको प्रभाव विदेशी पर्यटकमा समेत पर्न सक्ने उनले बताए।
“स्पोर्ट्स टुरिजमको जुन एउटा कन्सेप्ट छ, त्यसलाई नेपाल प्रिमियर लिग र नेपाल क्रिकेटले सुरुदेखि नै प्रवर्द्धन गरिरहेकै छ,” खड्काले भने, “विश्वस्तरीय खेलाडी जब आउनुहुन्छ, उहाँहरूले नेपालका बारेमा अन्तर्राष्ट्रिय कम्युनिटीमा चर्चा गर्नुहुनेछ। त्यसले देशको अर्थतन्त्र र पर्यटनमा सहयोग गर्छ।”
एनपिएलमार्फत नेपाल सुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय समुदायमा दिन सकिने पनि खड्काले बताए। विभिन्न चुनौतीपछि पनि नेपाल अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न सक्षम रहेको सन्देश एनपिएलले दिने उनको भनाइ छ।
“इन्टरनेसनल प्लेयर्सहरू आएर ‘नेपाल इज सेफ, नेपाल इज सेक्युर’ भन्ने मेसेज हामी दिन सक्छौँ। नेपाल फेरि तयार भयो र हामी अगाडि बढ्नेछौँ भन्ने सन्देश पनि यो प्रतियोगिताबाट दिने प्रयास गर्नेछौँ,” उनले भने।
एनपिएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुँदैछ। प्रतियोगिताको फाइनल खेल मङ्सिर ५ गते हुनेछ।
एनपिएल–३ मा अघिल्ला संस्करणझैँ आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा गत संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment