कांग्रेस महाधिवेशनः १० बजे हुने भनिएको मतदान दिउँसो १ बजेसम्म सर्‍यो

डिसी नेपाल
२२ असोज २०८३ ९:१३
12
Shares

काठमाडौं । नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज बिहान १० बजे हुने भनिएको मतदान दिउँसो १ बजेसम्मका लागि सारिएको छ।

केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले निर्वाचनको तयारी पूरा नभएका कारण मतदानको समय दिउँसो १ बजेका लागि सारिएको जानकारी दिए।

यसअघि बिहीबार बिहान ७ बजेदेखि मतदान सुरु गर्ने कार्यक्रम तय गरिएको थियो। तर वर्षा तथा केही प्राविधिक कारण देखाउँदै मतदानको समय बिहान १० बजेका लागि सारिएको थियो। अहिले पुनः तयारी पूरा नभएको भन्दै दिउँसो १ बजेसम्मका लागि मतदान स्थगित गरिएको हो।

कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी ७ हजार २५५ महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय नेतृत्व चयनका लागि मतदान गर्नेछन्।

मतदानका लागि काठमाडौंका तीन स्थानमा सात मतदान केन्द्रको व्यवस्था गरिएको छ। प्रतिनिधिको सहजताका लागि प्रदेश र प्रतिनिधित्वका आधारमा छुट्टाछुट्टै मतदान केन्द्र निर्धारण गरिएको हो।

निर्वाचन समितिका अनुसार राष्ट्रिय सभागृहमा बागमती प्रदेशका महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ।

त्यसैगरी खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ। भ्रातृ तथा शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाहरूले पनि खुलामञ्चमै मतदान गर्नेछन्।

सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिले आफूलाई तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ। मतदानअघि प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ। रुजु प्रक्रिया पूरा भएपछि मात्र प्रतिनिधिले मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सभापतिसहित विभिन्न पदमा उम्मेदवारी परेको छ। मतदान सम्पन्न भएपछि मतगणना सुरु गर्ने तयारी निर्वाचन समितिको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *