शौचालयबारे निर्धक्क कुरा, स्वास्थ्य र सफाईका लक्ष्य हुन्छन् पूरा

काठमाडौं। हरेक व्यक्तिले गासका लागि दैनिक घण्टौ काम गर्दछ तर खाएको कुरा उत्सर्जन भएपछि त्यसको दिगो व्यवस्थापनका लागि भने धेरै ध्यान दिएको पाइदैन। हरेक व्यक्तिले कम ध्यान दिएको मानवीय मलमूल व्यवस्थापन अहिले विश्वमा स्वास्थ्य र सरसफाईको क्षेत्रमा ठूलो चुनौतिको रुपमा आएको छ।

आजसम्म पनि ओझेलमा परेको मानव मलमूत्रको व्यवस्थापनका बारेमा खुलेर कुरा गर्न स्वास्थ्य क्षेत्रमा कार्यरत ईन्जिनियरहरु मुखर भएर आएका छन्, चर्पीको कुरा लिएर। खानेपानी,स्वास्थ्य र सफाईको क्षेत्रमा कार्यरत ईन्जिनियरहरुको संस्था स्मार्ट वासको आयोजनामा आइतबार राजधानीमा विश्व चर्पी दिवस २०१९ का अवसरमा एक अन्तरक्रिया सम्पन्न भएको छ।

शौचालयको निर्माण, उपयोग र शौचालयमा संकलित मलमूत्रको दिगो व्यवस्थापनमा केन्द्रित उक्त कार्यक्रममा आफ्नो मन्तव्य दिंदै पूर्व सचिव सुमन शर्माले भने, ‘खाने र बस्ने होटल र रेष्टुराँहरुको उद्घाटन गर्दा सबै गर्व गर्दछन् तर त्यही खाएको कुरा उत्सर्जन गर्ने शौचालयको निर्माण, त्यसको सुव्यवस्थापनका लागि ढल र ढलप्रशोधन केन्द्रहरुको उद्घाट्न गर्दा सञ्चार माध्यमले समेत नकारात्मक टिप्पणी गर्दछन्।’

उनले थपे, ‘जबकी सफा शौचालय हरेक व्यक्तिको आधारभूत आवश्यकता हो र यसको प्रत्यक्ष सम्बन्ध मानव स्वास्थ्यका साथै व्यक्तिको इज्जत र प्रतिष्ठासंग जोडिएको छ। तपाई सबैले देख्ने गरी खान सक्नुहुन्छ तर दिसा र पिशाब गर्न सक्नुहुन्न।सञ्चारकर्मीहरुले पनि आफ्नो दृष्टिकोण व्यापक बनाउन जरुरी छ।’

कार्यक्रममा पूर्व मन्त्री गणेश साहले नेपाल करिब एक दशकको अथक प्रयासपछि गत असोज १३ गते नेपाल खुला दिसामुक्त राष्ट्र भएकोमा गर्व गर्र्दै भने, ‘अहिले घरघरमा शौचालय बनेको छ तर पूर्र्ण सरसफाईको स्तरमा पुग्न बाँकी छ। अझैपनि सार्वजनिक शौचालयहरु अपर्याप्त छन्, गुणस्तर राम्रो छैन, दिगो व्यवस्थापनका समस्या छन् र सबैभन्दा ठूलो कुरा त शौचालयमा जम्मा भएका मानव मलमूत्रको प्रशोधन र दिगो व्यवस्थापन समस्याको रुपमा रहेको छ। प्रचलित प्रविधि छ तर महंगो छ। त्यसलाई हाम्रो देशको भौगोलिक आर्थिक हिसाबले उपयुक्त प्रविधि विकास गरी दिगो व्यवस्थापन गर्नुपर्ने खाँचो छ।’

उनले माहात्मा गान्धीले सरसफाईका सम्बन्धमा दिएको एक कथनको उल्लेख गर्दै भने, ‘भारतीय स्वतन्त्रता संग्राममा लाग्दा खेरी नै गान्धीले स्वतन्त्रता महत्वपूर्ण कुरा हो तर सरसफाईको विषय त्योभन्दा पनि महत्वपूर्ण विषय बताउनुभएको थियो।’ उनले गान्धीको पालादेखि स्वच्छताको कुराका गरिएको भारतमा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले स्वच्छ भारत अभियान सञ्चालन गरेर यसको महत्वलाई उजागर गरे।

उनले विश्वका सबैभन्दा धनी बिल गेट्ससमेत स्वास्थ्य र सफाई अभियानमा जोडिएको बताउदै भने, ‘अब चर्पीको कुरा गर्दा नाक नखुम्च्याऔं, यसका बारेमा खुलेर कुरा गरौं।’

कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिलकुमार दासले चर्पीको कुरा जनताको स्वास्थ्यसंग प्रत्यक्ष सम्बन्धित भएकोले नेपालमा खुला दिशामुक्त अभियान तीव्र गतिमा चलाईएको बताए।

उनले घरघरमा चर्पी बनाउने अभियान पूरा भएको बताउदै अब सार्वजनिक क्षेत्रमा शौचालय निर्माणमा संघीय र प्रादेशिक तथा स्थानीय सरकारको पनि ध्यान केन्द्रीत भएको बताए।

उनले चर्पीको सरसफाई,गुणस्तर,चर्पीमा जम्मा भएको मलमूत्रको व्यवस्थापन चुनौतिको रुपमा आएको बताए। महानिर्देशक दासले सरकारले पूर्ण सरसफाईको लागि निर्देशिका र सूचकहरु तयार पारेकोले त्यसको परिपालना गर्नुपर्ने आवश्यकता औल्याए ।

शहरी ढलको दिगो व्यवस्थापनको लागि झापाको चारआली र काँकडभित्तामा विलगेट्स फाउण्डेशनको सहयोगमा प्रशोधन केन्द्र बनेको बताउँदै देशमा रहेका नगरपालिका र गाँउपालिकाहरुमा यस्ता प्रशोधन केन्द्र बनाउने र दिगो रुपमा सञ्चालन गर्ने कार्य चुनौतिको रुपमा आएको बताए।

कार्यक्रममा स्मार्ट वासका अध्यक्ष ईञ्जिनियर रामदीप साहले खानेपानी, सरसफाई र स्वच्छ वातावरणको लागि काम गर्नका लागि स्मार्ट वास सोलुसनको स्थापना गरिएको बताए । उनले सरसफाईको विषय र सार्वजनिक शौचालयको निर्माण तथा व्यवस्थापन पर्यटनका लागि पनि महत्वपूर्ण भएकोले नेपाल पर्यटन बर्ष सन २०२० मा पर्यटन क्षेत्रमा पर्याप्त सार्वजनिक शौचालयको निर्माण र दिगो व्यवस्थापनका सम्बन्धमा काम गर्न नेपाल पर्यटन बोर्डसंग सहकार्य गरिएको पनि बताए ।

कार्यक्रमको दोस्रो शत्रमा स्मार्ट वासका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत ई.हरिप्रसाद शर्माले नेपालमा मानव मलमूत्र व्यवस्थापनका मुद्दा र चुनौतीहरु, ग्रीन विल्डिड टेक्नोलोजीकी रिमा लामिछानेले एनारोविक सिवेज ट्रिटमेण्ट प्लान्ट र घरायसी तथा सार्वजनिक क्षेत्रमा यसको प्रयोगका बारेमा, नेपाल वाटर कन्जरभेसन फाउण्डेशनका डा। चिरञ्जीवी भट्टराईले सार्वजनिक शौचालयको उपयोग र व्यवस्थापनका कानूनी प्रावधान र कार्यान्वयनका पक्ष तथा गुथी नामक संस्थाका तर्फबाट उपत्यकाका सार्वजनिक शौचालयको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

विश्वमा सन २००१ देखि चलेको चर्पी निर्माण अभियानको महत्वलाई आत्मसात गर्दै संयुक्त राष्ट्र संघले सन २०१३ देखि नोभेम्बर १९ लाई विश्व चर्पी दिवसको रुपमा मनाउन थालेको हो ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो