किन हुन सकेन मन्त्रिपरिषद पुनर्गठन ?

डिसी नेपाल
३ मंसिर २०७६ ७:१७

काठमाडौं। मन्त्रिमण्डल पुनर्गठन अघि नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु केही दिनदेखि सक्रिय छन्। मन्त्रिपरिषद हेरफेरको कुरा जताततै चर्चाको बिषय बनिरहेको छ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपाल आन्तरिक छलफलमा जुटेका छन्।

सोमबार बेलुका यही बिषयमा प्रधानमन्त्री केपी ओली र अध्यक्ष प्रचण्डबीच करिव तीन घण्टा छलफल भएपनि निष्कर्षमा पुग्न नसकिएको बालुवाटार निकट स्रोतले जनाएको छ। प्रधानमन्त्री केपी ओलीले केही मन्त्रीको कार्यसम्पादन चित्त बुझ्दो नभएको भन्दै मन्त्रिपरिषद पुनर्गठन हुने आइतबार बसेको सचिवालय बैठकमा जानकारी गराएका थिए।

नेकपाभित्र त्यसअघि नै मन्त्रिपरिषद पुनर्गठन गर्न दबाब बढ्दै गएको थियो। तर प्रधानमन्त्री ओलीको अनिच्छाका कारण मन्त्रिपरिषद पुनर्गठन हुन सकेको थिएन।

अहिले मन्त्रिपरिषद विस्तार गर्ने निष्कर्षमा प्रधानमन्त्री पुगेपनि कुन कुन मन्त्रीलाई हटाउने र उनीहरुको ठाउँमा कसलाई ल्याउने भन्ने विषयमा सहमति भइसकेको छैन। सोमबार ओली र प्रचण्डबीच कसलाई हटाउने र कसलाई नियुक्ती गर्ने भन्ने विषयमा लामो छलफल भएको थियो।

स्रोतका अनुसार पुनर्गठनमा केही नयाँ अनुहार समावेश हुनेछन् भने केही पुरानैलाई निरन्तरता दिइनेछ । सोमबार बिहान प्रचण्डले आफ्नो निवासमा पूर्वमाओवादीका नेताहरुसँग परामर्श गरेका थिए।

नयाँ मन्त्रीका लागि सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, छविलाल विश्वकर्मा, कृष्णगोपाल श्रेष्ठ, महेश बस्नेत, पार्वत गुरुङ, वसन्त नेम्वाङ, पदम गिरी, प्रेम आले, यज्ञराज सुनुवार, गणेश ठगुन्नाको नाम चर्चामा आएको छ। त्यसैगरी जनार्दन शर्मा, पम्फा भुसाल, देवेन्द्र पौडेल, अग्निप्रसाद सापकोटा, लेखराज भट्ट, प्रभु शाहलगायतको नाम पनि नयाँ मन्त्री बन्नेको सूचीमा चर्चामा छन्।

नयाँ टीम बनाएर नयाँ ढंगले अघि बढ्ने तयारीमा रहेका प्रधानमन्त्री ओलीको नीजि सचिवालय परिवर्तन गरिसकेका छन्। आइतबार बेलुका बसेको पार्टी सचिवालय बैठक प्रधानमन्त्री ओलीले नयाँ मन्त्रिमण्डलको खाका तयार गर्न आफू लागेको र छिटै घोषणा हुने बताएका थिए।

अहिले नेकपाका नेताहरु मन्त्री बन्नको लागि आन्तरिक तयारीमा दौडधुप गरिरहेका छन्। नेकपाका अध्यक्षद्धय ओली र प्रचण्डले मन्त्रीमन्त्रीमा कसलाई हटाउने र कसलाई ल्याउने भन्ने बिषयमा अन्तिम तयारीमा पुगिसकेको स्रोतको दाबी छ। दुवै अध्यक्षले मन्त्री बन्नेहरुको सूचीलाई अन्तिम रुप दिएपछि एक दुई दिनमै मन्त्रिपरिषद् पुनर्गठन घोषणा हुने संभावना छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *