उपनिर्वाचन सार्थक सन्देश प्रवाह गर्ने अवसर : काँग्रेस

डिसी नेपाल
३ मंसिर २०७६ २२:३१

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपनिर्वाचन केही पदको मात्र भए पनि समग्रमा सरकार, प्रतिपक्ष र अन्य दलसँगै मतदाताका लागि पनि परीक्षा र अवसरको घडी भएको जनाएको छ ।

यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि पार्टीको प्रतिबद्धतापत्र सार्वजनिक गर्ने क्रममा काँग्रेसले उपनिर्वाचन मतदाताका लागि सही सन्देश प्रवाह गर्ने विशेष अवसरका रुपमा रहेको र उपनिर्वाचनलाई जनमत सर्वेक्षणका रुपमा लिन सकिने उल्लेख गरेको हो ।

मङ्सिर १४ गते एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडा अध्यक्ष गरी कूल ५२ पदका लागि उपनिर्वाचन हुँदैछ ।

उपनिर्वाचनका लागि ‘नेपाली काँग्रेसको आह्वान’ सार्वजनिक गर्दै आज पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामपश्चात कुन दल कति स्थानमा विजयी भयो, कसको कति मत बढ्यो या घट्यो भन्ने गणितीय तथ्यमा मात्रै नभई सारमा यसले प्रवाह गर्ने सन्देशले अर्थ राख्ने बताए ।

‘उपनिर्वाचनको परिणाम आउँदा प्रतिपक्षी दललाई मात्रै होइन सत्तारुढ दललाई पनि लाभ पुग्छ किनकी त्यसले सरकारलाई सच्चिनै पर्ने सन्देश मिल्छ र सच्चिन दबाब सृजना गर्दछ । त्यसैले मङ्सिर १४ गते मतदानमा सामेल भएर आफ्नो मत प्रकट गर्न हामी मतदाताहरुमा अपिल गर्दछौँ ।’

मतदाताले गहिरो विश्लेषण गरेर मत प्रकट गर्न सक्दा उपनिर्वाचन मार्फत सार्थक सन्देश प्रवाह हुने र सन्देशलाई आत्मसात् गरेर परिस्कृत ढङ्गले अघि बढ्न सबैका लागि अवसर हुने उनको भनाइ थियो ।

प्रवक्ता शर्माले भने, ‘प्रतिपक्षका रुपमा हाम्रो २१ महिना विसं २०७४ मा सम्पन्न निर्वाचनमा नेपाली जनताले दिएको म्याण्डेटलाई शिरोधार्य गरेर काँग्रेस प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको छ ।

शान्ति स्थापना, नयाँ संविधान घोषणा र निर्वाचन मार्फत तीन तहको सरकारको अस्तित्व निर्माण गरेर ऐतिहासिक दायित्व पूरा गरेको काँग्रेसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सफलता र समृद्धिको यात्रालाई गति दिन जिम्मेवार प्रतिपक्षका रुपमा रचनात्मक भूमिका निर्वाह गर्नु आफ्नो परम कर्तव्य ठान्यो र त्यही कर्तव्य उपनिर्वाचन अघिको २१ महिनामा निर्वाह गरिरहेको छ ।’

यो अवधिमा वर्तमान सरकारका केही क्रियाकलापको प्रतिरोधमा संसद्मा शालीन भूमिका र सडकमा केही साङ्केतिक प्रर्दशन मात्रै गरेको उनले उल्लेख गरे ।

जनताले विश्वास गरेर बहुमत दिएको दललाई काम गर्न प्रतिपक्षका कारण कुनै असहजता नहोस् भन्ने सर्तकता काँग्रेसले राखेको र अर्कातर्फ कम्युनिष्ट पार्टीलाई विश्वासको मत दिने मतदाताको विश्वासविपरीत कम्युनिष्ट सरकारले गरेका गलत कामहरु सार्वजनिक रुपले उजागर गर्दै आएको काँग्रेसको प्रतिबद्धता पत्रमा उल्लेख छ । उपनिर्वाचनको मैदानमा मतदाताले यो अवधिमा प्रतिपक्षको जिम्मेवार भूमिकाको समीक्षा गर्ने काँग्रेसको अपेक्षा छ ।

काँग्रेसको नेतृत्वमा एक दशक लामो हिंसा अन्त्य गरेर शान्ति प्रक्रिया अघि बढाउँदै संविधानसभाको पहिलो बैठकबाट गणतन्त्र कार्यान्वयन भएको, काँग्रेस सभापति सुशील कोइरालाकै नेतृत्वमा देशले संविधानसभामार्फत नयाँ संविधान प्राप्त गरेको, काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा तीन तहको निर्वाचन सम्पन्न गरेर नयाँ संविधानलाई कार्यान्वयन गर्ने ऐतिहासिक अभिभारा पनि काँग्रेस कै नेतृत्वमा पूरा भएको प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

इतिहासकै सबैभन्दा सहज र अनुकूल राजनीतिक वातावरण प्राप्त गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकारले यो २१ महिनामा त्यो वातावरणको सही उपयोग गरेर तीव्र गतिमा अघि बढ्ने शासकीय योग्यता प्रस्तुत गर्न सक्यो कि सकेन उपनिर्वाचनमा त्यसको समीक्षा गर्न मतदातासँगै सम्पूर्ण नेपालीमा प्रवक्ता शर्माले आग्रह गरे ।

विसं २०१५ को आम निर्वाचनमा विजयी भएर बीपी कोइराला प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेपछि उहाँको नेतृत्वको सरकारले बिर्ता प्रथा, बेठ बेगारी, जमिन्दारी तथा राजा—रजौटाहरूको उन्मूलनलगायतका ऐतिहासिक कार्य र आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य, पूर्वाधार, उद्योग स्थापना गरी मुलुकमा समृद्धिको पहिलो अध्याय कोरिएको प्रतिबद्धता पत्रमा उल्लेख छ ।

विसं २०४६ देखि २०७४ मा काँग्रेस नेतृत्वको सरकारका पालामा भएका आर्थिक, सामाजिक, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, ऊर्जा, खानेपानीलगायत क्षेत्रमा भएका प्रगति, निजीकरण र उदारीकरण अर्थव्यवस्थाले ल्याएका सकारात्मक प्रभावलाई काँग्रेसले समृद्धिको दोस्रो अध्याय भनी उल्लेख गरेको छ ।

काँग्रेसले असहज वातावरणमा पनि समृद्धिका दिशामा कयौँ कामहरु सम्पन्न गरेको र अब परीक्षा कम्युनिष्ट पार्टीको सुरु भएको उल्लेख गर्दै प्रवक्ता शर्माले बितेको २१ महिनामा त्यो दिशामा सुखद् सङ्केत नदेखिएको टिप्पणी गरे ।

उनले निजगढ एयरपोर्टको भविष्यमा अन्योल कायम भएको, चिकित्सा शिक्षाको चर्को शुल्क, प्रेस स्वतन्त्रतामाथि अङ्कुश प्रयास, होलि वाइन प्रकरण, गुठी विधेयक, सामाजिक सुरक्षा कोष, बालुवाटार काण्ड, शेयर बजारको ओरालो, असहिष्णु चरित्र बढेकोलगायत विवाद बढेको समेत आरोप लगाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *