मध्यपूर्वमा युद्धको बादल, इजरालयद्वारा ईरानी सेनामाथि आक्रमण

डिसी नेपाल
४ मंसिर २०७६ २०:२३

दमास्कस (बीबीसी) । इजरालले सिरियास्थित सरकारी तथा इरानी फौजलाई निशाना गर्दै दर्जनौँ ठाउँमा हमला गरेको बताएको छ।

ती हमलाहरू सिरियास्थित एक इरानी एकाइले इजरायलमा गरेको रकेट हमला बदलास्वरूप गरिएको इजरायली सेनाले जनाएको छ।

रुसले इजरायली हमलाको निन्दा गरेको छ भने सिरियाली सरकारले ती हमलाहरूमा दुई गैरसैनिक मारिएको बताएको छ।

सिरियाली प्रतिरक्षा प्रणालीले राजधानी दमास्कसको आकाशमाथि अधिकांश क्षेप्यास्त्र खसालिएको बताएको छ।

अन्य विवरणहरूमा मृतकको सङ्ख्या धेरै भएको उल्लेख छ।

स्थानीय विवरणहरूका अनुसार राजधानीमा चर्का स्वरमा विस्फोटका आवाज आएको जनाइएको छ। सामाजिक सञ्जालमा ठाउँ–ठाउँमा आगलागी भएका तस्बिर राखिएका छन्।

सो हमलाको निन्दा गर्दै रुसी उपविदेशमन्त्री मिखाइल बोग्दानोभले त्यस्ता आक्रमण अन्तर्राष्ट्रिय कानुन विपरीत भएको बताए। इजरायलले सिरियाली भू–भागमा इरानसम्बद्ध आधारहरूमाथि बरोबर हमला गर्नेगर्छ।

दमास्कस सरकार समर्थक रुससँग सिरियाको आकाश नियन्त्रण गर्ने क्षमता छ। तर सामान्यतः उसले इजरायली कारबाहीलाई बेवास्ता गर्नेगर्छ। बुधवार इजरायली सेनाले ट्वीट गर्दै उसको हमलाको निशानामा इरानी कुड्स फौज तथा सिरियाली सेना रहेको जनाएको छ। कुड्स फौज इरानी सेना रिभोल्युसनरी गार्ड्सको एक विशेष टुकडी हो।

इजरायली सञ्चारमाध्यमका अनुसार इजरायली सेनाले सिरियास्थित रुसी सैनिक रहेको स्थान नजिकै जडान गरिएका जमिनबाट आकाशमा मार हान्ने क्षेप्यास्त्र प्रणाली एस थ्री हन्ड्रेडमा भने आक्रमण गरेनन्।

रुसी सेनाको सहयोगमा सिरियाका राष्ट्रपति बसर अल असदको सरकारले गृहयुद्धका माझ द्रूत गतिमा आफ्नो नियन्त्रण बढाउँदै लगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *