चैत्र तेस्रो साता काठमाडौंमा ‘सगरमाथा संवाद’ कार्यक्रम हुने

डिसी नेपाल
५ मंसिर २०७६ १६:३०

काठमाडौं । आगामी चैत्रको तेस्रो साता नेपालमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको ‘सगरमाथा संवाद’ कार्यक्रम आयोजना हुने भएको छ ।

‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ विषयक शीर्षकमा नेपालमा पहिलो पटक आगामी चैत्र २०, २१ र २२ गते सो अन्तराष्ट्रिय स्तरको सगरमाथा संवाद कार्यक्रम आयोजना गर्न लागिएको हो ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सो कार्यक्रमबारे औपचारिक जानकारी दिँदै विश्वका उच्च राजनीतिक नेतृत्व, मुलुक र विज्ञहरुबीच जलवायु परिवर्तनको संकट समाधानका लागि यो अन्तरगत संवाद कार्यक्रम गर्न लागिएको स्पष्ट पारे ।

सो संवाद कार्यक्रमले जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि विश्वका विभिन्न मुलुकबीच समान धारण बनाउन सहयोग पुग्ने पनि सरकारले अपेक्षा लिएको मन्त्री ज्ञवालीको भनाई छ ।

सरकारले सो संवाद कार्यक्रमलाई सम्पन्न गर्न ‘सगरमाथा संवाद सचिवालय’ को पनि बुधबार नै स्थापना गरेको छ । सो संवाद कार्यक्रमलाई सफल बनाउन परराष्ट्रमन्त्री ज्ञवालीको अध्यक्षतामा २० सदस्यीय आयोजक समिति पनि गठन गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री ज्ञवालीले संवाद आयोजनाका लागि सगरमाथा संवाद विशेष कार्य दल पनि गठन गरिएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *