काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ६३० चालक कारबाहीमा: मापसे गर्ने ७० जना परे
काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने छ सय ३० जना सवारीसाधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
पछिल्लो २४ घण्टाको अवधिमा उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष चेकिङ तथा अनुगमनका क्रममा उनीहरूलाई कारबाही गरिएको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार बिहीबार बिहानसम्म गरिएको जाँचका क्रममा मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने ७० जना चालक कारबाहीमा परेका छन्।
त्यस्तै, तीव्र गतिमा सवारी हाँक्ने ७६ जना, रातो बत्तीको इसारा उल्लंघन गर्ने १८ जना, लेन अनुशासन पालना नगर्ने १३ जना र ध्वनि प्रदूषण हुने गरी नो हर्न क्षेत्रमा हर्न बजाउने ११ जना चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको छ।
यसैगरी, प्रविधिको प्रयोगमार्फत सिसिटिभी क्यामेराको निगरानीबाट २७ जना चालकलाई कारबाही गरिएको छ।
सवारीसाधनको यान्त्रिक अवस्था ठिक नराखी चलाउने नौ जना, एकतर्फी (वन वे) सडकमा नियम विपरीत सवारी छिराउने नौ जना र अन्य विविध ट्राफिक नियम उल्लंघन गर्ने तीन सय ९६ जना चालकलाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। उपत्यकामा सवारी दुर्घटना न्यूनीकरण र सडक अनुशासन कायम राख्न चेकिङलाई थप कडा बनाइएको प्रहरीको भनाइ छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment