तालिवानसँग सम्झौताका लागि पहल जारी : ट्रम्प

डिसी नेपाल
८ मंसिर २०७६ ६:१५

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानी तालिवान समूहसँग वार्ता सुरू भएको बताएका छन्। शुक्रबार अमेरिकी समाचार संस्था ‘फक्स न्यूज’ को ‘फक्स एण्ड फ्रेन्ड्स’ कार्यक्रमका लागि दिएको अन्तवार्तामा उनले भने, “हामीले तालिवान समूहसँग सम्झौताका लागि वार्ता गरिरहेका छौँ । हेरौँ के हुन्छ।”

अमेरिकी राष्ट्रपतिको उक्त भनाई तालिवान समूहले करिब तीन बर्ष आफ्नो कब्जामा लिएका विश्वविद्यालयका दुई प्राध्यापक केभिन किङ ९अमेरिका० र टिमोथी विक्स (अष्ट्रेलिया) लाई गत मङ्गलबार रिहा गरेपछि आएको हो। उनीहरू दुबै जना काबुलबाट सन् २०१६ को अगस्ट महिनामा अपहरणमा परेका थिए ।

अफगानिस्तानले उनीहरूसहित १० जना अफगानी सेनाको रिहाइका लागि जेलमा रहेका अनास हक्कानीसहित तीन तालिवानी नेतालाई छोड्ने सहमति केही दिन पहिले भएको थियो।

कैँदीहरूको आदानप्रदानले तालिवानसँगको शान्तिवार्ता पुनः सुरू हुने विश्वास जगाएको छ । गत सेप्टेम्बरमा अमेरिकी दुई नागरिकको मृत्युपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमार्फत एक सन्देश लेख्दै तालिवानसँगको वार्ता भङ्ग भएको जनाएका थिए ।

तालिवान समूहसँग वार्ता जारी रहेका समय पनि आक्रमणलाई निरन्तरता दिएको भन्दै अमेरिकाले एकतर्फीरूपमा वार्ता भङ्ग भएको घोषणा गरेको थियो।

कैदीहरूको आदानप्रदानका लागि र त्यसपछि भएका नियमित प्रयासले वार्ता पुनः सुरू हुने विश्वास जगाएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत बिहीबार पाकिस्तानी प्रधानमन्त्री इमरान खान, अफगानी राष्ट्रपति असरफ घानी र कतारका इमिर शेख तामिम विन हमाद अल थानीसँग फोनवार्ता गरी प्राध्यापकहरूको रिहाइ गर्न गरेको पहलका लागि धन्यवाद ज्ञापन गरेको सञ्चारमाध्यमहरूले उल्लेख गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *