आइपिएल अक्सनमा कोलकातालाई आपत, सस्तोमा किन्न रिलिज गरेका खेलाडी झनै महंगो !

डिसी नेपाल
९ मंसिर २०७६ १०:४०

काठमाडौं। इण्डियन प्रिमियर लिगको खेलाडी लिलामीको दिन आउन झण्डै ३ हप्ता बाँकी छ । आगामी डिसेम्बर १९ मा कोलकातामा आइपिएलको खेलाडी अक्सन हुँदैछ । अघिल्लो आइपिएल अक्सनमा महंगोमा किनिएका र आफ्नो लागि अनुपयुक्त खेलाडीहरुलाई आइपिएल फ्रेन्चाइजीहरुले रिलिज गरिसकेका छन् ।

फ्रेन्चाइजीहरुले यसरी खेलाडी रिलिज गर्दा केही चलाखी पनि अपनाएका छन् । उनीहरुले केही खेलाडी आफ्नो टिमलाई चाहिने भए पनि अघिल्लो सिजन महंगोमा किनिएका कारण उनीहरुको मूल्य घटाउनकै लागि रिलिज गरेका छन् । २०१८ को आइपिएलपछि राजस्थान रोयल्ले समेत यस्तै चलाखी गरेको थियो ।

राजस्थानले २०१८ को अक्सनमा जयदेव उनादकटलाई ११.५ करोडमा किन्यो तर उनको खेलको तुलनामा उनको मूल्य बढी भएको लागेपछि उसले २०१९ को अक्सनअघि उनलाई रिलिज गर्यो । २०१९ को अक्सनमा उसले उनै उनादकटलाई ८.४ करोडमा किनेको थियो । यसरी किन्ने बेला खेलाडीको अन्तिम मूल्यमा राइट टु म्याच कार्ड प्रयोग गरी भित्र्याउन पाइने भएकोले फ्रेन्चाइजीहरुले यस्तो चलाखी गर्ने गरेका छन् ।

यस पटक कोलकाता नाइटराइडर्सले पनि यस्तै चलाखी गरेको थियो । उसले ९.६ करोड मूल्यका अस्ट्रेलियन ओपनर क्रिस लिनलाई रिलिज गर्यो । अहिले कोलकातासँग कुनै ओपनर छैनन् र उसले अक्सनका ओपनर किन्ने पर्ने बाध्यता छ । सम्भवतः उसले लिनको मूल्य लिलामीमा कम हुने र त्यही मूल्यमा राइट टु म्याच कार्ड प्रयोग गरी उनलाई सस्तोमा किन्ने चलाखी गरेको थियो तर अब यो चलाखी उसैलाई भारी पर्ने भएको छ ।

अक्सन आउन तीन हप्ता मात्र बाँकी रहँदा अहिले लिन अत्यन्तै उच्च फर्ममा छन् । उनको तुफानी ब्याटिङको बलमा मराठा अरेबियन्सले टि–१० लिगको उपाधि जितेको छ । यो लिगमा ब्याटिङतर्फ क्रिस लिन सबैभन्दा अगाडि छन् । लिगमा सबैभन्दा धेरै रन बनाउने लिन नै हुन् । उनले ८ खेलमा तुफानी ब्याटिङ गर्दै ३७१ रन बनाएका छन् । दोस्रो स्थानका खेलाडी उनको नजिक पनि छैनन् । दोस्रो स्थानका शेन वाटसनले मात्रै २३७ रन बनाएका छन् ।

यो लिगमा सबैभन्दा धेरै छक्का हान्ने खेलाडी पनि लिन नै हुन् । उनले ८ खेलमा ३१ छक्का हाने । यता पनि दोस्रो स्थानका खेलाडी उनको नजिक छैनन् । दोस्रो स्थानका आन्द्रे फ्लेचरले १९ छक्का हानेका छन् । एउटै इनिङमा धेरै छक्का हान्ने सूचीमा त पहिलो र दोस्रो दुवै स्थान क्रिस लिनकै छ । उनले एउटा खेलमा ९ र अर्कोमा ७ छक्का हानेका छन् । एक इनिङमा सबैभन्दा धेरै स्कोर बनाउने खेलाडीको सूचीमा पनि लिन नै अगाडि छन् । सूचीमा पहिलो, दोस्रो, छैटौं र सातौं स्थान उनकै छ ।

यस्तोमा लिनको मूल्य यसपटकको लिलामीमा अत्यन्तै उच्च हुने निश्चित छ । कोलकाताले उनको मूल्य ९.६ करोड बढी भएको भन्दै मूल्य घटाउन उनलाई रिलिज गरेको भए पनि लिलामीमा उनको मूल्य योभन्दा अझै बढी हुन सक्ने देखिएको छ । लिन अहिले टि–१० लिगमा मात्र नभइ आइपिएलमै पनि कमजोर फर्ममा थिएनन् । आइपिएल २०१९ मा उनले १३ खेलमा १३९.६५ को स्ट्राइक रेटमा ४ अर्धशतकसहित ४०५ रन बनाएका थिए । २०१८ को आइपिएलमा उनले १३०.२३ को स्ट्राइक रेटमा ४९१ रन बनाएका थिए । २०१७ को आइपिएलमा उनी मात्रै ७ खेल खेले । त्यसमा पनि उनले १८०.९८ को स्ट्राइक रेटमा २९५ रन बनाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *