एम्बाप्पेलाई फुटबल इतिहासकै सबैभन्दा धेरै पारिश्रमिक !

डिसी नेपाल
१० मंसिर २०७६ ९:१२

काठमाडौँ । फ्रेन्च क्लब पिएसजीले आफ्ना स्टार खेलाडी किलियन एम्बाप्पेलाई बब्पर अफर दिने तयारी गरेको छ । क्लबसँग सम्झौता सकिन अझै साढे २ बर्ष बाँकी रहेपनि एम्बाप्पेले क्लब छोड्ने सक्ने सम्भावनालाई ध्यानमा राख्दै बबर अफर दिने तयारी गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । एम्बाप्पेले पिएसजीसँग २०१७ मा पाँच बर्षका लागि सम्झौता गरेका थिए ।

फ्रेन्च पब्लिकेसन एलइनक्विपका अनुसार पिएसजीका खेल निर्देशक लियोनार्दोले एम्बाप्पेलाई फुटबलको इतिहासमै अहिलेसम्मको सबैभन्दा धेरै पारिश्रमिक अफर गर्न लागेको बताइएको छ । एम्बाप्पेले अहिले पिएसजीमा कर तिरेपछि करिब २० मिलियन युरो बार्षिक पारिश्रमिक पाउछन् जबकी नेइमारले पिएसजीबाट बार्षिक लगभग ३७ मिलियन युरो पारिश्रमिक पाउने गर्दछन् ।

पछिल्लो समय लामो समय नेइमारको अनुपस्थितिमा एम्बाप्पेले टिमको प्रमुख खेलाडीको रुपमा खेल्दै उत्कृष्ट नतिजा हासिल गरेकाले पनि क्लब अब एम्बाप्पेलाई प्रमुख खेलाडीको रुपमा राख्ने पहलमा रहेको छ । पिएसजीको उच्च व्यवस्थापन नेइमार यस सिजनको अन्त्यसम्म क्लब छोडेर जाने बुझाइमा रहेकाले पनि एम्बाप्पेप्रति उनीहरुको झुकाव बढेको बताइएको छ । यसै कारणले एम्बाप्पेलाई राम्रो पारिश्रमिक दिएर क्लबमा लामो समयसम्म राख्ने योजनामा पिएसजी रहेको छ ।

स्पेनिस क्लब रियल म्याड्रिडको प्रमुख निशानामा रहेका एम्बाप्पेले भने यस बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् । रियलका म्यानेजर जिनेदिन जिदानले आफुले एम्बाप्पेलाई भित्र्याउन पहल गर्ने यस अघि नै सार्वजनिक रुपमा बताइसकेकाले पनि पिएसजीले समयमै एम्बाप्पेसँग नयाँ सम्झौता गर्न तयार भएको बुझिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *