केन विलियमसनले सबै न्यूजिल्याण्डबासीको तर्फबाट जोफ्रा आर्चरसँग माफी माग्ने

डिसी नेपाल
१० मंसिर २०७६ १५:०१

काठमाडौं। न्यूजिल्याण्ड क्रिकेट टिमका कप्तान केन विलियमसनले आफ्नो देशका सबै नागरिकको तर्फबाट इङल्याण्ड क्रिकेट टिमका फास्ट बलर जोफ्रा आर्चरसँग माफी माग्ने भएका छन् ।

माउन्ट मौनगानुइमा भएको पहिलो टेस्टको अन्तिम दिन खेल हेर्न आएका दर्शकमध्ये एक जनाले आर्चरमाथि रंगभेदी दुर्व्यवहार गरेपछि विलियमसनले माफी माग्ने भएका हुन् । विलियमसनले आफूलाई यो घटनाबारे थाहा पाउँदा झट्का लागेको बताएका छन् । उनले यसबारे आफू र आफ्नो टिमका खेलाडीहरुलाई आर्चरले ट्वीट गरेर नलेख्दासम्म जानकारी नभएको बताएका छन् । आर्चरले सोमबार साँझ ट्वीट गरेर आफूमाथि दुर्व्यवहार भएकोबारे बताएका थिए ।

विलियमसनले न्यूजिल्याण्डले आफ्नो बहुसाँकृतिक समाजमा गर्व गर्ने र इङल्याण्डको टिमलाई न्यानो स्वागत गर्ने बताउँदै अर्को खेलको लागि ह्यामिल्टनमा भेट हुँदा आर्चरसँग माफी माग्ने र फेरि यस्तो नहुने सुनिश्चित गर्ने बताए । ‘त्यहाँ जे भयो म त्यसको पूरै विपक्षमा छु र आशा गर्छु यस्तो फेरि नहोस्’ न्यूजिल्याण्डको मिडिया स्टफसँग कुरा गर्दै विलियमसनले भने ‘अब त म केवल किविको तर्फबाट जोफ्रासँग माफी माग्न सक्छु ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *