१३ औं सागः भलिबल खेल भोलीदेखि

डिसी नेपाल
१० मंसिर २०७६ १७:४८

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत बुधबारदेखि भलिबलको खेल शुरुहुँदै छ । सागको औपचारिक उद्घाटन १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भए पनि भालिबल खेल भने बुधबारदेखि नै शुरुहुने छ । सागमा नेपालसहित सातवटा देशले भाग लिँदै छन् । तर भलिबलमा ६ देशले भाग लिने छन् । साग खेल्ने देश मध्ये भुटानको भलिबल टिम अहिलेसम्म छैन् ।

भलिबलमा नेपालको महिला र पुरुष दुवै समूहमा भारत र बंगलादेश रहेका छन् । बुधबार दिउँसो तीन बजे सागको भलिबल तर्फको महिलाको उद्घाटन खेल हुने छ । जसमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको शुरुआत गर्ने छ । नेपाली महिला टिमले २ साता अघि सोझो सेटमै बंगलादेशको घरेलु भूमिका हराएकाले उच्च मनोबलका साथ कोर्टमा उत्रने छ ।

नेपाली महिला टिम सागमा स्वर्ण पदक जित्ने लक्ष्यका साथ अहिले तयारीमा रहेको छ । नेपाली टिमकी कप्तान अरुणा शाहीले यस पटक घरेलु मैदानमा स्वर्ण पदक जित्दै इतिहास रच्ने लक्ष्यमा रहेको बताइन् । उनले सवै प्रतिस्पर्धी उस्तै भए पनि पछिल्लो समय आफूहरुले वैदेशिक प्रशिक्षण पाएको र बंगलादेशमा भएको सेन्ट्रल जोनको प्रदर्शनले टिममा धेरै उर्जा थपिएको विश्वास व्यक्त गरिन् ।

यस्तै प्रशिक्षक जगदीश भट्टले नेपाली महिला भलिबल टिम स्वर्ण पदकको प्रवल दावेदार रहेको बताउँदै त्यसै अनुसार तयारी गरिएको बताए । उनले नेपालले भारत र श्रीलंकालाई हराउँदै इतिहास रच्ने लक्ष्यमा नेपाली टिम दिनरात लागि परेको पनि बताए । बुधबार अपरान्ह पाँच बजे पाकिस्तान र माल्दिभ्स भिड्ने छन् ।

यस्तै विहीबार अपरान्ह ५ बजे नै नेपाली महिला टिमले भारतसँग प्रतिस्पर्धा गर्ने छ । यस्तै राति सात बजे श्रीलंका र पाकिस्तान आमने सामने हुने छन् ।
शुक्रबार एक बजे भारत र बंगलादेश भिड्दा दिउँसो तीन बजे श्रीलंका र माल्दिभ्स आमने सामने हुने छन् । यसैगरी, पुरुष तर्फको पहिलो खेल राति सात बजे हुने छ । जसमा नेपालले बुधबार बंगलादेशसँग खेल्ने छ । विहीबार दिउँसो १ बजे पाकिस्तान र माल्दिभ्स तथाृ दिउँसो ३ बजे भारत र बंगलादेश आमने सामने हुने छन् ।

नेपाली पुरुष टिमले समूह चरणको अन्तिम खेल शुक्रबार अपरान्ह ५ बजे भारतसँग खेल्ने छ । सोही दिन राति सात बजे श्रीलंका र माल्दिभ्स खेल्ने छन् । समूह चरणको अन्तिम खेलमा शनिबार श्रीलंका र पाकिस्तान दिउँसो ३ बजे खेल्ने छन् । समूह चरणका शीर्ष २ टिम सेमिफाइनलमा प्रवेश गर्ने छन् । सेमिफाइनलबाट फाइनलमा पुगेका दुई टिमले स्वर्ण र रजत पदकका लागि प्रतिस्पर्धा गर्दा पराजित हुने २ टिमले कास्य पदककालागि खेल्ने छन् । भलिबलको फाइनल खेल १७ गते हुने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *