ट्विटरले ६ महिनाभन्दा बढी निष्क्रिय रहेका अकाउन्टहरू बन्द गर्ने

डिसी नेपाल
११ मंसिर २०७६ २०:४६

डेभ ली

बीबीसी । ट्विटरले डिसेम्बर ११ देखि ६ महिनाभन्दा बढी निष्क्रिय रहेका अकाउन्टहरू बन्द गर्न थाल्ने बताएको छ। यसरी बन्द गरिने अकाउन्टहरूमा प्रयोगकर्ताको मृत्युका कारण निष्क्रिय रहेका अकाउन्टहरू पनि पर्नेछ।

यति धेरै सङ्ख्यामा अकाउन्टहरू ट्विटरले बन्द गर्न लागेको यो पहिलोपटक हो। ट्विटरले ६ महिनादेखि निष्क्रिय प्रयोगकर्ताले नयाँ परिवर्तित गोपनियता नीतिमा सहमति जनाउन नसक्ने भएकाले यसो गर्न लागिएको बताएको छ।

एक प्रवक्ताले यसरी निष्क्रिय अकाउन्टहरू हटाएपछि अन्यको फलोअर सङ्ख्याप्रतिको विश्वसनीयता बढ्ने बताएकी छन्। पहिलो चरणमा यसरी बन्द गरिने अकाउन्टहरू अमेरिका बाहिरका रहने छन्। हालका लागि लग–इन गरेको आधारमा सक्रियता मानिने भएपनि भविष्यमा ट्विटरमा गरिने गतिविधिका आधारमा सक्रियता निर्धारण गरिने बताइएको छ।

सामाजिक सञ्जाल ट्विटरले असर पर्ने अकाउन्टका प्रयोगकर्ताहरूलाई इमेलमार्फत सूचना दिएको छ। उसले कति सङ्ख्यामा अकाउन्टहरू बन्द गरिने भन्ने बारे बताएको छैन। तर यसरी बन्द गरिने अकाउन्टहरूको सङ्ख्या दशौँ लाख हुनसक्ने अनुमान गरिएको छ।

यो कदमले ट्विटरको भन्ने गरिएको प्रयोगकर्ताको सङ्ख्यामा भने परिवर्तन हुने छैन किनभने कम्पनीले दैनिक कम्तीमा एकपटक लग–इन गर्ने प्रयोगकर्ताहरू मात्रै सो सङ्ख्यामा समावेश गर्छ। गएको सेप्टेम्बरमा ट्विटरले आफ्नो प्रयोगकर्ताको सङ्ख्या १४ करोड ५० लाख भनेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *