लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको लागि प्रदेश सरकारको १६ लाख बजेट
चिप्लेढुङ्गा । गण्डकी प्रदेश सरकारले महिला सशक्तीकरण सचेतना अभियानका लागि ११ जिल्लालाई १६ लाख रकम विनियोजन गरेको छ ।
महिला हिंसापीडिको सुरक्षाका लागि पोखरा महानगरपालिका वडा नं ३३ मा महिला सुरक्षा आवासगृह निर्माण शुरु गरेको प्रदेश सरकारले सामाजिक न्याय र समनताका लागि हिंसाविरुद्ध महिला–पुरुष दुवै जुट्नुपर्नेमा जोड दिँदै अभियान सञ्चालन गर्न लागेको हो ।
प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भमा हिंसाका विषय महिलाको मात्रै नभई साझा सवाल भएको बताएका छन्।
मन्त्री पुनले भने, “लैङ्गिक हिंसा महिला–पुरुष दुवैमाथि हुने हिंसा हो, यद्यपि तथ्याङ्कमा महिलामाथिको हिंसा बढी भएकाले यसको बुझाई पनि त्यस्तै छ । हामी समुन्नत र समतामूलक समाजको परिकल्पना गरेर अघि बढिरहेका छौँ, यसविरुद्ध पनि महिला–पुरुष दुवै लाग्नुपर्छ ।” मन्त्री पुनले प्रदेश सरकारले महिलालाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालीम प्रदान गरेको पनि जानकारी दिए। “महिलामाथिको हिंसाको अर्को कारण आर्थिक परनिर्भरता पनि हो, महिला सबल र सक्षम भए हिंसाको प्रतिकार गरेर आत्मसम्मान साथ बाँच्न सक्छन्”, मन्त्री पुनले भने।
सन् १९६० मा डोमिनिक गणतन्त्रका मिरावेल परिवारका तीन दिदी–बहिनी पेट्रिया, मिनर्भा र मारियालाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । उनीहरुकै सम्झनामा १६दिने अभियान मनाउन थालिएको हो ।
अन्तरराष्ट्रियरूपमा सन् १९९१ बाट मनाउन थालिएको यस अभियनामा नेपालमा सन् २००६ बाट शुरु गरिएको हो । “समानताको पुस्ता, बलात्कारविरुद्धको ऐक्यबद्धता” यस वर्षको नारा रहेको छ । प्रदेश सरकारले नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने यस अभियान कास्कीका विभिन्न महिला अधिकारसँग सम्बन्धित सङ्घसंस्थाले हिंसा न्यूनीकरणका लागि सचेतना कार्यक्रमको आयोजना गर्नेछ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment