बाहिर चिटिक्क भित्र कुरुप दशरथ रंगशाला, दर्शक र खेलाडीलाई आपत हुने निश्चित

डिसी नेपाल
१४ मंसिर २०७६ १४:५२

काठमाडौं । आइतबार १३ औं दक्षिण एशियाली खेलकुद (साग)को उद्घाटन हुँदैछ । सागलाई आकर्षक बनाउन सरकारले भव्य तयारी गरिरहेको छ । उद्घाटन समारोहलाई भव्य बनाउन झण्डै १ हजार कलाकारहरु त्यसको तयारीमा छन् । प्रतियोगिता हुने मुख्य स्थान दशरथ रंगशालालाई सिंगारेर झकिझकाउ पारिएको छ ।

सागका लागि विभिन्न ७ देशका खेलाडीहरु नेपाल भित्रिसकेका छन् । भलिबललगायतका केही खेल सुचारुसमेत भइसकेका छन् । सागका लागि सरकारले सबै तयारी पूरा भइसकेको जनाएको छ । हुनपनि दशरथ रंगशाला बेहुलीझैं सिंगारिएको छ । तर, रंगशाला सिंगारिएकोे अवस्थामा रंगशालाका केही काममा भने वे–वास्ता गरिएको छ । जुन लाजमर्दो छ ।

रंगशाला बाहिरी आवरण हेर्दा चिरिच्याट्ट परेको छ तर यसभित्र छिरेपछि मात्र यसको कुरुप पाटो देख्न पाइन्छ । रंगशालाभित्र शौचको लागि त्यहाँ गएका दर्शक र खेलाडीलाई आपत पर्ने निश्चित छ । रंगशालामा पुरुषका लागि १ र महिलाका लागि १ गरेर दुईवटा मात्रै सार्वजनिक शौचालय निर्माण गरिएको छ । जसमा पुरुषतर्फ पिसाब फेर्नका लागि ३ वटा र दिशा गर्नका लागि मात्रै दुईवटा कमोड जडान गरिएको छ । दशहजार दर्शक अटाउने रंगशालामा एउटा मात्रै शौचालय हुँदा शौच गर्नसमेत लाइन लाग्नुपर्ने अवस्था छ । त्यो पनि अलिकति सफा भए केही इज्जत जोगिन्थ्यो । तर सरसफाइ फिटिक्कै छैन । शौचालय जाँदा नाक थुन्नु पर्ने अवस्था छ ।

यसले विदेशी पाहुनामा हाम्रो कस्तो सन्देश जान्छ ? सायद त्यो कुरामा सरकारले ध्यान दिएको छैन । अझै पनि समय छ । शौचालय थप्न नसके पनि सरसफाई गर्न सकिन्छ । प्रतियोगिता १६ गतेबाट देशका विभिन्न सहरहरुमा संचालन हुँदैछ । तर, प्रतियोगिताका अधिकांश खेलहरु यही दशरथ रंगशालामै हुने तय भएकोले यहाँ दर्शकको चाप बढी हुनेछ । धेरै भन्दा धेरै दर्शक भित्र्याउन प्रयासरत राष्ट्रिय खेलकुद परिषदले ती दर्शकको सहजतामा भने पटक्कै ध्यान दिएको देखिएको छैन ।

तस्वीर : रमण मानन्धर




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *