भृकुटीमण्डपमा ‘हस्तकला व्यापार मेला’ हेर्नेको घुँइचो

डिसी नेपाल
१४ मंसिर २०७६ १६:५८

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित १७ औं हस्तकला व्यापार मेला तथा १५ औं हस्तकला प्रतियोगितामा अवलोकनकर्ताको घुँईचो लागेको छ ।

हस्तकला व्यापार मेलाको तेस्रो दिन शनिबारसम्ममा एक लाख भन्दा बढीले मेलाको अवलोकन गरेको आयोजक नेपाल हस्तकला महासंघले जनाएको छ ।

नेपाली हस्तकलाको बजार प्रबद्र्धन गर्ने उद्देश्य गरिएको आयोजित मेलामा एक सय रुपैयाँदेखि १५ लाख रुपैयाँ सम्मका हस्तकलाका सामग्रीहरु उपलब्ध छन् । महासंघका उपाध्यक्ष रविन्द्र शाक्यले मेला अवधिभर ३ लाख अवलोकनकर्ताले अवलोकन गर्ने र १० करोड रुपैयाँ बढीको कारोबार हुने अपेक्षा रहेको बताए ।

मेलामा नेपाली र विदेशी हस्तकलासँग सम्बन्धित व्यवसायीहरुको सहभागिता रहेको छ । महासंघका सदस्य, विभिन्न जिल्ला हस्तकला संघ र बस्तुगत संघका स्टलहरु पनि मेलामा छन् ।

मेलामा धातुकला, सुनचाँदी, सुती तथा ढाकाका सामान, पश्मिना, छालाजन्य उत्पादन, प्राकृतिक रेसा र वाँसबाट बनेका सामग्रीहरुमा उपभोक्ताहरुको आकर्षण देखिएको छ । यसबाहेक विदेश निर्यात हुने हस्तकलाका सामग्रीहरु पनि प्रदर्शनीमा राखिएको उपाध्यक्ष शाक्यले बताए ।

मेलामा ८ वटा प्याभिलियन सहित करिब २ सय वटा स्टल रहेका छन् । त्यस्तै भारत, श्रीलंका, बंगलादेश लगायतका मुलुकका व्यापारीहरुको २० वटा स्टल रहेका छन् । मेला मंसिर १६ गते सम्म चल्ने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *