माल्दिभ्सविरुद्धको तेस्रो मैत्रीपूर्ण खेलमा नेपाल ‘ए’को जित

डिसी नेपाल
१४ मंसिर २०७६ १७:१९

काठमाडौं। १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको माल्दिभ्सविरुद्धको तेस्रो मैत्रीपूर्ण खेलमा नेपाल ए टिमले सहज जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ८ विकेटले पराजित गरेको हो ।

माल्दिभ्सले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभर ५ बलमा दुई विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । सुवास खकुरेल र सुनील धमलाले अर्धशतकीय साझेदारी गरेपछी नेपालले सहज जित हात पारेको हो ।

३० रनमा २ विकेट गुमाएको नेपालको लागि धमलाले सर्वाधिक ४१ रन तथा खकुरेलले ३६ रन बनाए । यस्तै ओपनर रित गौतमले २४ रन जोड्दा विशाल विक्रम केसीले खाता खोल्न सकेनन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको माल्दिभ्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १३ रन बनाएको थियो । खराब सुरुवात गरेको माल्दिभ्सलाई सस्तैमा समेट्न नेपालका तिलक राज भण्डारीले ३ विकेट लिए । १५ ओभरमा ५ विकेट गुमाएर ५९ रन बनाएको माल्दिभ्सले पछिल्लो ५ ओभरमा ५४ रन जोडेको थियो ।

पहिलो बलमा माल्दिभ्सको विकेट लिएका बिक्रम सोबले २ तथा राहुल प्रताप सिंह, शेर मल्ल र आकास चन्दले समान १-१ विकेट हात पारे । यसअघि पहिलो खेलमा माल्दिभ्सलाई ४९ रनले पराजित गरेको नेपालले शुक्रबार भएको दोस्रो खेलमा १ सय ७ रनको जित निकालेको थियो ।

माल्दिभ्सविरुद्ध नेपालको ए टिममा साग टिम बाहिर रहेका खेलाडी रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *