टाईब्रेकरमा पुलिसलाई पराजित गर्दै एपीएफले जित्यो चन्द्रागिरी गोल्डकपको उपाधि

डिसी नेपाल
१४ मंसिर २०७६ १८:४०

काठमाडौं । सशत्र प्रहरीको एपीएफ क्लबले तेस्रो संस्करणको चन्द्रागिरी गोल्डकप फुटबलको उपाधि जितेको छ ।

शनिबार भएको उपाधि भिडन्तमा अर्को विभागीय क्लब नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो । उपाधिसँगै एपीएफले ६ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ । पुलिसले ३ लाख ५० हजारमा चित्त बुझायो ।

नैकापस्थित चन्द्रागिरी नगरपालिकाको खेल मैदानमा निर्धारित समयको खेल र अतिरिक्त समय १-१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा पुलिसका कप्तान जुमानु राई चुक्दा एपीएफ च्याम्पियन बन्यो । जुमानुको प्रहार एपीएफका गोलरक्षक अमृत चौधरीले बचाएका थिए ।

यस्तै एपीएफका लागि नविन लामा, सुदीप सिख्राकार, आशिष लामा, बुद्धिमान राई र रामकुमार कुमालले गोल गरे । पुलिसका अजित भण्डारी, सुमन लामा, हेम तामाङ र भोला सिलवालले गोल गरे ।

यस अघि सातौं मिनेटमा प्रविन स्याङतानको गोलबाट एपीएफले अग्रता बनाएको थियो । तर, पहिलो हाफको अन्तिम समयमा निरकुमार राईले गोल गर्दै पुलिसलाई खेलमा फर्काएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *