अफगानिस्तानमा सहायता एजेन्सीका पाँच जनाको हत्या, जापानी चिकित्सक मारिए

डिसी नेपाल
१८ मंसिर २०७६ १६:५२

जलालावाद । अफगानिस्तानको जलालावाद शहरमा एक सहायता समूहका पाँच जना कर्मचारीको गोली हानी हत्या गरिएको छ ।

उक्त हत्याकाण्डमा परी एकजना अन्तर्राष्ट्रिय सहायता समूहका कर्मचारी पनि सख्त घाइते भएका बताइएको छ । यस विषयको पूर्ण विवरण भने आएको छैन । एएफपीका अनुसार गोलीकाण्डमा जापानी चिकित्सक ७२ वर्षीय तेत्सु नाकामुराको हत्या भएको छ ।

अफगानिस्तानको पूर्व क्षेत्रमा पर्ने नान्गाहार प्रान्तको जलालावादमा सो हत्याकाण्ड भएको हो । उक्त शहरमा सवारी साधनमा यात्रा गरिरहेका उनीहरुमाथि आतंककारीहरुले गोली हानेका थिए ।

जलालावाद शहरमा यात्रामा रहेको उनीहरुको सवारी साधनमा आतंककारीले गोली चलाएका उक्त प्रान्तका प्रान्तीय प्रवक्ताले जानकारी दिएका छन् ।

नान्गाहार प्रान्तका प्रान्तीय प्रवक्ता अतुल्लाह खोग्यानीले दिएको जानकारीअनुसार उक्त सहायता समूहका कर्मचारी चढेको गाडीमा अज्ञात आतंककारी समूहका व्यक्तिहरुले गोली हानेका थिए ।

त्यस हमलाको बारेमा प्रहरीले अनुसन्धान थालेको प्रवक्ता खोग्यानीले जानकारी दिए । उनले भने– बुधबार बिहान भएको यस हमलाको बारेमा अनुसन्धान थालिएको छ र यस विषयको थप सूचना जानकारी गराइने छ ।

अफगानिस्तानमा कृषि र सिंचाइका क्षेत्रमा काम गरिरहेको संस्था पिस मेडिकल सर्भिस नामको सो गैरसरकारी संस्थाको सवारीमाथि उक्त हमला भएको हो । सो संस्था अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको सहायतामा अफगानिस्तानमा सञ्चालनमा रहेको छ । उक्त संस्थाका निर्देशक गोली लागेर घाइते भएका छन् ।

मङ्गलबार मात्र पनि अफगानिस्तानको राजधानी काबुलबाट केही पूर्वतर्फ रहेको क्षेत्रमा अज्ञात बन्दुकधारीहरुले गोली हानी यहाँको गुप्तचर निकायका दुई अधिकारीको हत्या गरेका थिए ।

त्यस क्रममा गोली लागेर अरु पनि केही व्यक्ति घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार सो क्षेत्रमा गत हप्ता पनि अरु केहीको हत्या गरिएको थियो ।

यी हत्याहरुको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूह या व्यक्तिले लिएका छैनन् । तर पनि अफगानिस्तानमा हिंसा मच्चाइरहेका तालिबानहरुले नै यस्तो हमला गर्ने गरेकोले यी पछिल्ला हत्यामा पनि तिनै समूहको नै हात रहेको अनुमान प्रहरीले गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *