सम्झनामा मात्र खुसीरामको खुशी !

डिसी नेपाल
१८ मंसिर २०७६ २१:०१

काठमाडौं । कालो वनको बीचमा एउटा बस्ती । निश्चय पनि त्यहाँ गरीब, निमुखा र सुकुम्बासीको बस्ती थियो । जनगायक खुशीराम पाख्रिनले त्यही बस्तीमा पुगेर वास्तविकता सङ्गीतबद्ध गरे ।

कालो वनको बीचैमा खेतालाको गाउँ
हाम्रो देशको व्यवस्था हेर्न त्यहाँ जाउँ

पाख्रिनको चर्चित उक्त गीतमा मजदूरको कथा र व्यथा छ । गणतन्त्र घोषणा भए पनि बिहान बेलुकाका छाक टार्न धौधौ हुने बस्ती मुलुकमा अझै थुप्रै छन् । उनका गीतले यस्तै झुपडीका जीवन बोलिरहेका हुन्छन् । मजदूरको वास्तविक अवस्थालाई शब्दमा उतारेर उनले सांस्कृतिक आन्दोलन गरे । उनका गीतले क्रान्ति, साहस र मुक्तिका कुरा बोल्छ । निधन भएको दुई वर्ष बिते पनि उनका गीत अहिलेको सामाजिक व्यवस्थासँग मेल खान्छ ।

मानिसको दैनिक जीवनसँग जोडिएका खुसीरामको खुशी भनेकै पछाडि परेका वर्गको उत्थान हो र समाज रुपान्तरण थियो । तर सपना पूरा नहुँदै विसं २०७४ मङ्सिर ५ गते मञ्चमा गीत गाउँदागाउँदै हृदयाघातबाट उनको निधन भएको थियो । बुधबार काठमाडौँमा जनसांस्कृतिक महासंघ नेपालले ढिलै भए पनि सम्झेर कार्यक्रम आयोजना ग¥यो । काठमाडौँको राष्ट्रिय नाचघरमा गृहमन्त्री रामबहहादुर थापा बादलका उपस्थितिम कलाकारले पाख्रिनको ‘कालो वनको बीचै।।।’ मा गीत प्रस्तुत गरे ।

गृहमन्त्री थापाले पाख्रिनसँग भएको सहकार्यको स्मरण गर्दै भौतिक शरीर नरहे पनि सामाजिक रुपान्तरणका निम्ति उनिसँगै रहेको प्रतिक्रिया दिए । “उनले गीत सङ्गीतमार्फत शोषणकाविरुद्ध जनतालाई जागरुक बनाउन ठूलो भूमिका खोल्नुभएको छ, गणतन्त्र स्थापनामा उहाँको योगदान स्मरणीय छ”, उहाँले सोचेको सपना पूरा गर्न अझै समाजवादको आन्दोलन जारी छ”, गृहमन्त्री थापाले भाषणमा थप्दै थिए ।

शुरुमा बेदना सांस्कृतिक समूहमा र पछि सामना सांस्कृतिक परिवारका संस्थापक पाख्रिनका गीत अहिले पनि जीवन्त छ । विसं २००९ कात्तिक ९ गते गोरखाको खरिबोटमा जन्म लिएका पाख्रिन प्रगतिशील र सांस्कृतिक अभियानका अगुवा थिए । झण्डै २ सय गीत प्रकाशित र सङ्गीतबद्ध अनुमान छ धेरै अप्रकाशित छ ।

गायन, सङ्गीत र रचनाकारका त्रिवेणीे पाख्रिन २०३५ सालदेखि औपचारिकरुपमा सङ्गीतमा लागेका हुन् । जनताकै घरदैलोमा रमाउने र जनताकै सुखदुःख र मुक्ति आन्दोलन तथा परिवर्तनका क्षेत्रमा उनको योगदान छ । विसं २०३८ मा उनले ‘सगरमाथाको काखबाट’ भन्ने प्रगतिवादी गीत औपचारिकरुपमै बजारमा ल्याए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा सांस्कृतिक विभाग प्रमुख मणि थापा जनवादी सांस्कृतिक आन्दोलनका सशक्त र प्रतिभाशाली पात्र पाख्रिनलाई भुल्दै गएकामा चिन्ता प्रकट गर्छन् । पाख्रिनले जनजीवनसँग जोडिएका गीत पस्केर लोक जीवनलाई आधुनिकीकरण तथा क्रान्तिकारीकरण गरेको थापा सम्झन्छन् ।

उनको सम्झनामा काठमाडौँमा कलाकारले गीत सङ्गीत र कविता प्रस्तुत गरे । हालसालै भारतले नेपालको केही भूगोल समेटेर सार्वजनिक गरेको नक्शाको मुलुकमा विरोध भइरहेको छ । झण्डैझण्डै पाख्रिनको अभियानसँग मेल खाने गरी तीन वर्षअघि नै गायक उदय श्रेष्ठले सीमारक्षा गर्न गीतबाटै आह्वान गरेका थिए । पाख्रिनको सम्झनामा उनले आज त्यही गीत सुनाए ।

पहाडका कुरा भए मधेशका कुरा
नबिर्सौं है हाम्रो लिपुलेक र लिम्पियाधुरा

यो गीतले वास्तविक राष्ट्रियता कलाकारसँग छ भन्ने देखाउँछ । कलाकारले तीन वर्षअघि गीतमा समेटेको कुरा आज ठूलो चर्चाको विषय बनेको छ । यस्तै राष्ट्रियता, जनजीवन र क्रान्तिकारीधार पाख्रिनको थियो । कवि केशव सिलवालले कवितामार्फत उनको योगदानको सम्झना गरे ।

जनगायक पाख्रिन गीत गाउँदा गाउँदै निधन भएको त्यो दिनको सम्झना अझै ताजै छ । ‘विश्व बदल्ने युवा शक्ति नै हुन् संसारका ठूला विद्रोह र आमूल परिवर्तन युवा शक्तिले नै भएको छ’ यति भनेर उनले चितवनको भरतपुरस्थित केन्द्रीय बस टर्मिनलको चौरमा आयोजना गरिएको एक स्मृतिसभामा गीत गाए ।

युवा हो देश तिम्रै हो, भविष्य तिम्रै हो,
नयाँ नेपाल बनाउने अभिभारा तिम्रै हो

जुन बेला दुई ठूला कम्युनिष्ट पार्टीबीच एकीकरणको घोषणा भएपनि एकता भइसकेको थिएन । विसं २०७४ मङ्सिर ५ गते गीत सङ्गीतको तालमा शरीर हल्लाउँदै तरुण जोशमा उनले गीत पस्किेका थिए । त्यो दिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र प्रकाश दाहालको श्रद्धाञ्जलिसभा आयोजना गरिएको थियो । तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल र तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आउन ढिला हुँदा उनले खाली मञ्चको सदुपयोग गर्दै केही गीत पस्कन भ्याए ।

हजारौँको बलिदानले कालोयुग ढलेको छ
सिर्जना र समृद्धिको बाटो खुल्न थालेको छ

प्रस्तुति सकेर औपचारिक कार्यक्रममा आशनग्रहण गरेलगत्तै उनी अस्वस्थ भए । केहीबेरमा चिकित्सकले हृदयघातका कारण निधन भएको पुष्टि गरे । जोशका साथ गीत गाइरहेका पाख्रिनको एकैछिनमा मृत्युको खबर आउँदा शुभचिन्तक स्तब्ध भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *