अमेरिकाको मिसाइल सकिएपछि इरानमाथि आक्रमण रोकिएको खुलासा
काठमाडौं । इरानसँगको युद्धका क्रममा अमेरिकाले आफ्ना ‘गाइडेड’ मिसाइलहरूको लगभग सम्पूर्ण विश्वव्यापी भण्डार (ग्लोबल स्टक) प्रयोग गरिसकेको छ। अमेरिकी सञ्चारमाध्यम ‘सीबीएस न्युज’ लाई उद्धृत गर्दै बीबीसी फारसीले यो खबर प्रकाशित गरेको हो।
यस मामिलाबारे जानकार रहेका दुई स्रोतलाई उद्धृत गर्दै सीबीएस न्युजले जनाएअनुसार, अमेरिकाले ‘अपरेशन एपिक फ्युरी’ का क्रममा विशेष गरी आफ्ना लगभग सबै ‘आर्मी ट्याक्टिकल मिसाइल सिस्टम’ र ‘प्रिसिजन स्ट्राइक’ मिसाइलहरू प्रयोग गरिसकेको छ।
समाचार संस्था रोयटर्सले पनि यसअघि नै अमेरिकाले यस अपरेसनमा आफ्ना “लगभग सबै” दूरगामी (लङ-रेन्ज) मिसाइलहरू प्रयोग गरिसकेको रिपोर्ट सार्वजनिक गरेको थियो।
सीबीएस न्युजका अनुसार अमेरिकाको भण्डारमा रहेका इन्टरसेप्टर मिसाइल र दूरगामी मिसाइलहरूको मौज्दात सकिँदै जानु वर्तमान प्रशासनका लागि ठूलो आन्तरिक चुनौती बनेको छ।
रिपोर्टमा उल्लेख भएअनुसार, अमेरिका अब यही गतिमा अगाडि बढ्न सक्ने अवस्थामा छैन, किनकि उसले इरान युद्धको सुरुआतमै आफ्ना सटीक प्रहार गर्ने (प्रिसिजन-स्ट्राइक) हतियारहरू ठूलो मात्रामा प्रयोग गरिसकेको छ।
अमेरिकी अधिकारीहरूले मिसाइलको भण्डार सीमित रहेको स्वीकार गर्दै मुख्य चिन्ताको विषय ‘प्याट्रिअट’ र ‘थाड’ इन्टरसेप्टर मिसाइलहरूको संख्यालाई लिएर रहेको बताएका छन्। यी मिसाइलहरूको खपत यति तीव्र गतिमा भइरहेको छ कि अमेरिकी रक्षा उद्योगले सोही अनुपातमा उत्पादन गर्न सकिरहेको छैन।
यसैबिच, अमेरिकी रक्षा मन्त्रालयका वरिष्ठ प्रवक्ता सन पार्नेलले सीबीएस न्युजलाई दिएको वक्तव्यमा भनेका छन्, “अमेरिकी सेना विश्वकै सबैभन्दा शक्तिशाली सैन्य बल हो र उनीहरूसँग आफ्नो मिसन पूरा गर्नका लागि आवश्यक सबै स्रोतसाधन उपलब्ध छन्। हामीले विभिन्न क्षेत्रमा धेरै सफल अपरेसनहरू सञ्चालन गरेका छौँ र साथसाथै अमेरिकी सेनासँग देश र आफ्ना हितहरूको रक्षाका लागि पर्याप्त क्षमता र भण्डार रहेको सुनिश्चित गरेका छौँ।”
No ads found for this position

डिसी नेपाल
Facebook Comment