भुटानमाथि नेपालको १४१ रनको विशाल जीत, बने यस्ता रेकर्ड

डिसी नेपाल
१९ मंसिर २०७६ १२:२४

काठमाडौं। १३ औं दक्षिण एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले भुटानलाई १४१ रनले पराजित गरेको छ । नेपालले दिएको २३७ रनको लक्ष्य पच्छ्याएको भुटानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ९५ रन मात्र बनाउन सकेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २३६ रन बनाएको थियो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले शतक प्रहार गरे । मल्लले ५५ बलमा १०७ रन बनाए । उनले ५ चौका र ९ छक्का प्रहार गरे । पारस खड्काले २८ बलमा ५७ रन बनाए । उनले ९ चौका र १ छक्का प्रहार गरे । दिपेन्द्र सिंह ऐरीले २७ बलमा ४५ रन बनाए । उनले ४ चौका र २ छक्का हाने । भुटानका लागि कर्मा दोर्जीले २ र तोब्देन सिंगेले १ विकेट लए ।

जवाफी ब्याटिङमा आएको भुटानका लागि मिक्यो दोर्जीले सर्वाधिक २७ रन बनाए । उनले ४ छक्का हानेका थिए । सोनाम तोब्गेले १५ र तोब्देन सिंगेले ११ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि पारस खड्काले २, पवन सर्राफ, ललित राजवंशी र करण केसीले २–१ विकेट लिए । यो खेलमा कैयौं रेकर्ड समेत बने ।

नेपालको यो टि–२० अन्तर्राष्ट्रियमा सर्वाधिक स्कोर हो । यसअघि नेपालको सबैभन्दा ठूलो कोर मलेयिाविरुद्ध १७३ रन थियो । यस्तै यो सबै टि–२० अन्तर्राष्ट्रिय खेलमा १७ औं ठूलो स्कोर हो । रनको हिसाबले जीतका आधारमा यो अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै छैटौं विशाल जीत हो । नेपालभन्दा अगाडि चेक रिपब्लिक (२५७ रन), रोमानिया (१७३ रन), श्रीलंका (१७२ रन), पाकिस्तान (१४३ रन) र भारत (१४३ रन) ले विजयी भएका छन् ।

यससँगै ज्ञानेन्द्र मल्ल नेपालको लागि टि–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने दोस्रो कप्तान र दोस्रो खेलाडी बनेका छन् । मल्लले ५२ बलमा अर्धशतक बनाएका हुन् । ज्ञानेन्द्रले पारस खड्काको रेकर्ड पनि तोडेका छन् । पारसले नेपालका लागि एक इनिङमा सर्वाधिक १०६ नटआउट रन बनाएकोमा ज्ञानेन्द्रले १०७ रन बनाएर आउट भएका छन् ।

यसअघि नेपालको कप्तानको हैसियतमा नेपालका लागि पारस खड्काले पहिलो टि–२० अन्तर्राष्ट्रिय शतक बनाएका थिए । पारस नेपालको लागि टि–२० अन्तर्राष्ट्रियमा शतक हान्ने पहिलो नेपाली खेलाडी र कप्तान बन्दै गर्दा उनले लक्ष्य पिछा गर्ने क्रममा शतक बनाउने एकमात्र कप्तानको विश्वरेकर्डसमेत बनाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *