म बोल्छु, बाध्यात्मक भोगाइ

डिसी नेपाल
१९ मंसिर २०७६ २०:३३
8
Shares

काठमाण्डाैं । सबैले आफ्ना पेशा अपनाउँदा आइपर्ने समस्या खुलेर राखिरहेको अवस्थामा देशभरका ५६ हजार यौनकर्मी महिला खुल्न सकेका छैनन् । उनीहरुले आफ्ना दैनिक कार्यबारे बोल्न पाएका छैनन् । यौनकर्मी महिलाको प्रतिनिधित्व गर्दै आएकी कमला खड्काको माग एउटै छ, ‘यौन’लाई पेशाको रुपमा मान्यता दिनुपर्छ ।

“द्वन्द्वको पीडामा परे, पढ्न पाइन, बाल्यकामै म बलात्कारमा परे”, उनले सुनाईन, “१३ वर्षको उमेरमा बलात्कारमा परे भन्ने मलाई के थाहा, तर छोरी बलात्कारमा परेकी भनेर मेरो परिवार नै गाउँबाट निकालियो ।” कमलालाई अपाङ्ग भएका बाबु र बहिनी, बिरामी आमाको उपचार गर्नुपर्ने मात्र होइन, खाने र कोठा भाडा जुटाउनुपर्ने जिम्मेवारी १३ वर्षकै उमेरमा आइलाग्यो । “काठमाडौँ आएर काम गर्न थाले, साहुँले पैसा नदिने, दैनिक यौन शोषण गर्ने गथ्र्यो”, उनले आफ्ना विगतका भोगाइ सुनाउँदै भनिन्, “जुन काम गरे पनि मलाई बलात्कार गर्ने वा यौन कार्यमा जबर्जस्ती लगाउने भएपछि किन यौनलाई पेशा नबनाउने भनेर मैले यही पेशा शुरु गरे ।”

उनको परिवारका लागि महिनामा १५÷१६ हजारको त औषधि नै किन्नुपर्छ । कमला खड्काले यौन व्यवसायबाट आर्जेको रकमबाट बाबुआमा र अपाङ्ग बहिनीको उपचार तथा अर्की बहिनीको पढाइ खर्च धानी रहेकी छिन्। उनलाई आफ्नो पेशाप्रति गर्व छ । “परिवेश, समाज, पारिवारिक अवस्थाले मलाई यौन पेशा गर्न बाध्य बनायो, मैले यो पेशालाई पैसासँग दाँजेर स्वीकार गरेको छु, यति नगरे मेरो परिवारको गुजारा चल्दैन”, उनले भनिन्, “म त प्रतिनिधि पात्र मात्रै हुँ, धेरै दिदी बहिनी यौन पेशामा छन् ।”

कमलाका अनुसार यौन पेशामा रहरले भन्दा पनि बाध्यताले धेरै महिला आएका छन् तर रहरले पुरुषहरु जाने गर्छन् । त्यो पेशामा जाने पुरुष यही समाजका हुन् अरु कहीँबाट आएका होइनन् । यौनकर्मी महिलालाई केही प्रहरीले पक्राउ गर्ने धम्की दिएर यौन शोषण गर्छन् । “मैले भनेको ठाउँमा नआए, पक्राउ गरेर पत्रकारमाझ सार्वजनिक गरिदिन्छु भनेर प्रहरीले तर्साउँछ, अदालतमा मुद्दा पुग्दासम्म अदालतको एक कर्मचारीले पनि मसँग यौन सम्पर्क राख्नुभयो, मैले मुद्दा जिते”, कमलाले आफ्नो भोगाइ सुनाईन्।

मिडिया एडभोकेसी ग्रुप र सम्झौता नेपालले १६ दिने महिला हिंसाविरुद्धको दिवसका अवसरमा लैङ्गिक समानताका लागि ‘म बोल्छु’ नामक कार्यक्रममा यौनकर्मी कमलाले यौनलाई महिलाले पेशाका रुपमा ढुक्कसँग अपनाउन पाउनुपर्ने माग समेत गरिन्।

यही सन्दर्भमा राष्ट्रिय जनता पार्टी (राजपा)का उपाध्यक्ष निलम वर्मासँग सत्य बोल्दा पीडित भएको अनुभव छ । “मलाई अन्याय भयो, न्याय चाहियो भनेर बोल्न नसक्दा धेरै महिला पछि परेका छन्, तर म चाँहि बोलेर पीडित भएको मान्छे हुँ”, संविधानसभा सदस्य वर्माले भनिन्, “पार्टीमा कामको मूल्याङ्कन हुँदैन, काम गर्ने मान्छेको कामको मूल्याङ्कन नगरेपछि बोल्नुपर्छ, त्यही बोलीले पीडित बनाउँछ ।”

‘काम गर्नेको कदर हुनुपर्छ’ भन्ने राजनीतिमा उनको मुख्य माग हो । आफ्ना माग पूरा नभएपछि उनले धेरै पटक पार्टीमा बोल्नुपरेको छ तर सुनुवाइ नहुँदा पीडा त्यतिकै महसुस गरिन । नेत्री वर्मा भन्छिन्, “तराईमा बसेर राजनीति गर्नुको पीडा कति हुन्छ, मैले भोगेको छु, दुःख एउटाले गर्छ, पद नेताको श्रीमती, बुहारी, नाताले पाउँछन्, अनि बाध्य भएर बोल्नुपर्छ ।” निडर स्वभावकी उनि ३५ वर्षदेखि निरन्तर राजनीतिमा क्रियाशील छिन् । नेत्री वर्माले आफ्ना राजनीतिकमा काम गर्दाका अनुभव सुनाईन। तराई दाइजो, छोरालाई पढाएबापत छोरी पक्षले धेरै दाइजो दिनुपर्नेजस्ता अनेक विकृतिमा उनी खरो रुपमा आवाज उठाउने नेत्रीका रुपमा परिचित छन्।

सामान्य परिवार र समृद्ध परिवारमा रहेर काम गर्दाका अनुभव, पीडा र भोगाइ फरक छन् । साथी संस्थाका अध्यक्ष उमा राज्यलक्ष्मी शाह सभ्रान्त परिवारको बुहारी हुन् तर उनीलाई खर्च जुटाउन हम्मेहम्मे छ । “म राणा खान्दानको मान्छे, सभ्रान्त परिवारको बुहारी हुँ तर घरबाहिर काहीँ जान नपाउने”, उनले आफ्नो विगत सुनाउँदै भनि, “साथीले एउटा संस्था खोलौँ भनेर प्रस्ताव ल्याए, संस्था खोल्न पैसा चाहिने रैछ, आफूसँग एक पैसा थिएन, सम्भ्रान्तको बुहारी तर के गर्नु, पछि साथीले पैसा हालेर खोले अहिले पनि चलिरहेको छ ।” हिम्मतले घरबाट निस्किएर उनले उच्च शिक्षा हासिल गरेर सफलतापूर्वक काम गरिरहेकी छन् ।

‘समाजको सोच’ अझै पनि बदलिन सकेको छैन । घरमा श्रीमतीलाई सघाउने श्रीमान्ले ‘जोइटिङ्ग्रे’ को दर्जा पाउँछ । चर्चित फोटो पत्रकार विकास रौनियारको अनुभव यस्तै छ । “म भात पकाउँछु, भाडा माझ्छु, बढार्छु र घर पुस्छु”, उनले आफ्नो भोगाइ सुनाए, “त्यो जोइटिङ्ग्रे भनेको सुन्दा मलाई त गर्व लाग्छ, कम्तीमा मैले घरमा काम गरेर त्यो दर्जा प्राप्त गरेको छु ।” उनकी श्रीमती सम्झना बुढाथोकी चलचित्र निर्देशक हुन्। उनी भन्छन््, “श्रीमती पढाइ र कामका व्यस्त हुँदा सहयोग गर्नुपर्छ ।”

कानूनले समाजमा महिला, पुरुषबीच मात्र विवाह हुन्छ भन्ने परिकल्पना गर्दा ब्लू डाइमन्ड सोसाइटीका पिटर राईले विवाहका लागि ‘वर’ खोज्न पाएका छैनन् । पिटर समलिङ्गी पुरुष हो तर पुरुष÷पुरुष विवाह गर्ने कानून नेपालमा बनेको छैन । “म यही देशको नागरिक हुँ, ३० वर्षमुनिको नागरिकलाई जीवनसाथी चुन्ने अधिकार कानूनले दिएको छैन”, उनले सुनाए, “बाबु आमाले त छोरालाई ‘ज्वाइँ’ खोज्न जाने आँटै छैन, त्यो समाज, त्यो सोच कसरी बाबुआमाले आँट गर्नु, त्यही भएर बाबुआमाले विवाहको कुरै गर्नुहुन्न ।”

नेपालको संविधानले यौनिक तथा अल्पसङ्ख्य भनेर अन्यका रुपमा नागरिकता प्रदान गरेको छ तर समलिङ्गी विवाहका लागि कानूनीरुपमा व्यवस्था गरेको छैन । म बोल्छु कार्यक्रम म्यागले विगत तीन वर्षदेखि सञ्चालन गर्दै आइरहेको छ । म्यागका संस्थापक अध्यक्ष बबिता बस्नेतले आगामी दिनमा पनि यस कार्यक्रमलाई निरन्तरता दिने र फरक क्षेत्रका भोगाइ, सङ्घर्ष सुन्ने अवसरका रुपमा लिने बताईन । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *