‘इन्काउन्टर म्यान’ भनिने कमिश्नर सज्जनार, जसले चारैजना बलात्कारीलाई गोली ठोकिदिए

डिसी नेपाल
२० मंसिर २०७६ ९:५५

हैदराबाद। हैदराबादमा महिला डाक्टरमाथि बलात्कार गरेर हत्या गर्ने र उनको शव जलाउने चारैजनालाई पुलिसले इन्काउन्टरमा गोली ठोकेर मारिदिएको छ । शुक्रबार बिहान हैदराबादको एनएच ४४ हाइवेमा पुलिसले चारै जना आरोपीलाई गोली ठोकिदिएको हो । अहिले हैदराबाद पुलिसको बागडोर यस्ता व्यक्तिको हातमा छ जसलाई इन्काउन्टर विशेषज्ञ मानिन्छ । उनी हुन् हैदराबाद पुलिसका कमिश्नर भीसी सज्जनार ।

कमिश्नर सज्जनारलाई ‘इन्काउन्टर म्यान’ भनेर चिनिन्छ । उनले जघन्य अपराधका आरोपीलाई गोली ठोकिदिएको यो पहिलो घटना होइन । यसअघि पनि उनले यतै गरी जघन्य अपराधका आरोपीलाई गोली ठोकिसकेका छन् । तेलंगनाको वारंगलमा यसअघि एक कलेज छात्रामाथि एसिड प्रहार भएको थियो जुन घटनामा निकै विवाद भएको थियो । तर केही समयपछि नै घटनाका तीनैजना आरोपीलाई पुलिसले इन्काउन्टरमा मारिदिएको थियो ।

यो घटना २००८ को थियो । त्यतिबेला पुलिसले बताएअनुसार हिरासतमा रहेका तीनैजना आरोपीले पुलिसमाथि आक्रमण गरेका थिए । पुलिसले आत्मरक्षामा गोली चलाएर तीनैजनालाई मारिदिएको थियो । यतिमात्र होइन उनले कैयौं माओवादी विद्रोहीहरुलाई इन्काउन्टरमा मार्ने टिमको नेतृत्व गरेका थिए । हैदराबादमा कमिश्नरको रुपमा उनले डेढ वर्षअघि नेतृत्व लिएका थिए । यद्यपि यो घटनामा अझै मजिस्ट्रेट जाँच हुन बाँकी नै छ । त्यो जाँचमा इन्काउन्टर गर्नु आवश्यक थियो वा थिएन भन्ने विषयमा जाँच हुनेछ ।

महिला डाक्टरको सामूहिक बलात्कारपछि हत्या गरेर शव जलाउने चारैजना अभियुक्तलाई पुलिसले त्यही ठाउँमा लगेर इन्काउन्टरमा मारिदिएको हो । हैदराबादको एनएच ४४ हाइवेमा उनीहरुले २७ नोभेम्बरको रात महिला डाक्टरलाई बलात्कार गरेर मारेका थिए । तेलंगना पुलिसले त्यही हाइवेमा चारै जना आरोपीलाई इन्माउन्टर गरिदिएको हो ।

हैदराबाद पुलिसले चारैजना आरोपीलाई त्यो ठाउँमा लिएर गएको थियो जहाँ महिला डाक्टरको जलेको शव भेटिएको थियो । पुलिसले चारैजना आरोपीलाई घटनाको ‘रिक्रिएशन’ गर्नको लागि त्यो ठाउँमा लिएर गएको थियो । यो इन्काउन्टर शुक्रबार बिहान भएको हो । यसअघि महिला डाक्टरमाथि भएको क्रुरताविरुद्ध देशभर प्रदर्शन भइरहेको थियो । मानिसहर सडकमा उत्रिएर महिला सुरक्षाका विषयमा प्रश्न उठाइरहेका थिए । पुलिसका अनुसार घटनाको रिक्रिएशनका लागि लगिएका चारैजना आरोपीले भाग्ने कोसिस गरेपछि चारैजनालाई गोली हानेर मार्नुपरेको थियो ।

पुलिसले आरोपीहरुलाई हैदराबादको केराकुल्ली जेलमा राखेको थियो । जब पुलिसले आरोपीलाई लिएर पुलिस थाना पुग्यो, मानिसहरुले यो कुरा चाल पाए र एकैछिनमा सयौं मानिसहरुले पुलिस चौकी घेरेका थिए । त्यसपछि पुलिसले त्यो थानाको सुरक्षा बढाएको थियो र पछि चारैजना आरोपीहरुलाई हैदराबाद जेल ल्याइएको थियो । चारैजना आरोपीहरुलाई केराकुल्ली सेन्ट्रल जेलको फरक फरक ब्यारेकमा राखिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *