टि–२० अन्तर्राष्ट्रियमा नेपाली महिला टोलीले बनायो अर्को विशाल विश्वरेकर्ड

डिसी नेपाल
२१ मंसिर २०७६ ११:५३

काठमाडौं। १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेटमा नेपाली महिला टोलीले अर्को विशाल विश्वरेकर्ड बनाएको छ । नेपाली महिला टोली विपक्षी टिमका सबैभन्दा धेरै खेलाडीलाई शुन्य रनको स्कोरमै आउट गराउने टोली बनेको छ । यो रेकर्ड नेपालले रुवाण्डासँग संयुक्त रुपमा साझा गरेको छ ।

आज पोखरामा भएको तेस्रो स्थानको लागि माल्दिभ्सविरुद्धको खेलमा नेपालले माल्दिभ्सका ९ जना खेलाडीलाई शुन्य रनमै आउट गरेको छ । आजको खेलमा माल्दिभ्सकी ओपनर आइमा आइशाथले मात्र १ रन बनाइन् । अन्य सबै खेलाडी शुन्य रनको स्कोरमा आउट हुँदै टिमको स्कोर ८ रन हुँदा अलआउट भएका छन् । नेपालका लागि अञ्जली चन्दले ४, सिता रानामगर र रुबिना क्षेत्रीले २–२ तथा सुमन खतिवडा र करुणा भण्डारीले १–१ विकेट लिए ।

यसअघि विपक्षी टिमका सबैभन्दा धेरै खेलाडीलाई शुन्यमा आउट गरेको रेकर्ड रुवाण्डाको नाममा एक्लै थियो । उसले मालीको महिला टोलीका ९ जना खेलाडीलाई शुन्यमा आउट गरेको थियो । यो खेलमा मालीकी ओपनर मरियम सामाकेले मात्र १ रन बनाएकी थिइन् अन्य सबै शुन्यमै आउट हुँदै टिम ६ रनमा अलआउट भएको थियो । अब यो रेकर्ड रुवाण्डा र नेपालको संयुक्त नाममा लेखिएको छ ।

नेपाली महिला टोलीले विपक्षी टिमलाई सबैभन्दा कम स्कोरमा आउट गर्ने टिमको रुपमा रेकर्ड बनाउन भने चुकेको छ । यो रेकर्ड रुवाण्डाको नाममा छ । उसले मालीका ९ जनालाई शुन्यमा आउट गरेका खेलमा मालीलाई ६ रनको स्कोरमा रोक्दै यो रेकर्ड बनाएको छ । नेपालले आज माल्दिभ्सलाई ८ रनमा रोक्दै विपक्षीलाई कम स्कोरमा रोक्ने टिमको सूचीमा दोस्रो भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *