बांगलादेशसँग हार व्यहोरेसँगै नेपालको फाइनल पुग्ने सम्भावना समाप्त

डिसी नेपाल
२१ मंसिर २०७६ १२:५९

काठमाडौ। १३ औं साग अन्तर्गत टि ट्वान्टी क्रिकेटमा नेपाल फाइनलसम्म पनि पुग्न नसक्ने भएको छ। शनिबार बांगलादेश यू २३ सँग पराजित भएसँगै नेपालको फाइनल पुग्ने सम्भावना सकिएको हो। नेपालले जारी प्रतियोगितामा श्रीलंका यू २३ सँग पनि पराजित भएको थियो। नेपाल रनले ४४ रनले पराजित भएको हो।

शनिबार टी यू मैदानमा १५६ रनको लक्ष्य पाएको नेपाल कुनै पनि बेला प्रतिस्पर्धामा देखिएन। कप्तान ज्ञानेन्द्र मल्ल र पूर्वकप्तान पारस खड्काले नेपालको ब्याटिंग शुरुआत गरेका थिए। टिमको स्कोरबोर्डमा ११ रन हुँदा पारस ९ रन बनाएर आउट भए।

त्यसपछि नेपाल कुनै पनि बेला सम्हालिन सकेन। लगातार अन्तरालमा विकेट गुमाइरह्यो। नेपालको दोस्रो विकेटका रुपमा पवन सर्राफ शून्यमा १२ को स्कोरमा गुमेको थियो। तेस्रो विकेट आरिफ शेखका रुपमा १४ को स्कोरमा गुमायो। त्यसपछि मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरीले ३२ रनको साझेदारी गर्दै नेपाललाई उकास्ने प्रयास गरे पनि आस्किंग रनरेट प्रेसरमा ऐरी पनि ४६ को स्कोरमा आउट भए। उनी १६ रन बनाएर आउट भए।

यसपछि मैदानमा आएका रोहित पौडलले पनि खासै राम्रो ब्याटिंग गर्न सकेनन्। उनी नेपालको स्कोर ६६ हुँदा व्यक्तिगत ८ रनमा आउट भए। यसपछि विनोद भण्डारी ३ रन बनाएर आउट भए।

कप्तान ज्ञानेन्द्र मल्ले नेपालका लागि सर्वाधिक ४३ बलमा ४३ रन बनाए। नेपालले २० ओभरमा ८ विकेट गुमाएर १११ बनायो।

यसअघि पहिला ब्याटिंग गरेको बांगलादेश यू २३ ले ६ विकेटको क्षतिमा १५५ रन बनाएको थियो। बांगलादेशका लागि कप्तान नजुमल हुसेन सान्तोले सर्वाधिक ७३ रन बनाएका थिए भने अफिफले ५२ रन बनाएका थिए।

बलिंगमा नेपालका पारसले ४ ओभरमा १५ रन दिएर ३ विकेट लिएका थिए। यस्तै दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए भने अभिनाष बोहोराले १ विकेट लिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *