वाग्मतीको थापाथली किनार सुकुम्बासीका नाममा अतिक्रमण

डिसी नेपाल
२१ मंसिर २०७६ १५:२६

काठमाडौं । थापाथलीस्थित संयुक्त राष्ट्र सङ्घ (युएन) स्तम्भ क्षेत्रमा रहेको वाग्मती नदी किनारको सबैजसो जग्गा सुकुम्बासीका नाममा अतिक्रमण भएको छ ।
वाग्मती सफाइ महाअभियानको ३४३औँ हप्ताका क्रममा धेरै टहरा बनाएर नदी किनारको जग्गा अतिक्रमण गरेको भेटिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य माला खरेलले जानकारी दिए ।

“एउटै व्यक्तिका पाँचवटासम्म टहरा भेटियो, नदी किनारको जग्गा अतिक्रमण गरी टहरा बनाएर भाडामा लगाउने पनि रहेछन्, धेरै वटा टहराको अघितिर मोटरसाइकल, कारलगायत सवारी साधन पनि देखियो, टहरा बनाउनाका साथै नदी किनारमा तरकारी खेती, गाई, कुखुरा, हाँस, सुँगुरजस्ता चौपाया एवं पक्षीपालन गरेको पनि भेटियो”, उनले भने ।

सफाइका क्रममा अभियानकर्मीले तरकारीबारीमा लगाएको बार भत्काएर बालिदिएका छन् । नदी किनारको जग्गा अतिक्रमण गरी बनाएको बार भत्काएर बालेको केही समयपछि ठूलो सङ्ख्यामा आएको समूहले किन भत्काएको भनी प्रश्न गरेका थिए । सफाइका क्रममा टहरा नभत्काउन माइकिङ गरिएको सञ्चालक सदस्य खरेलले सुनाए ।

नदी किनारको खाली जमीन जति अतिक्रमण गरी बसेको समूहले फोहर जति वाग्मतीमा मिसाउँदा नजीक जानै नसकिने गरी गन्हाउँछ । उपत्यकाको सभ्यताको स्रोत वाग्मती यसरी प्रदूषित बन्दा पनि सरोकार भएका कुनै पनि निकायले ध्यान दिन सकेका छैनन् । थापाथली क्षेत्रमा १३ संस्थाका ३ सय ५० जनाभन्दा बढी अभियानकर्मीको सहभागितामा भएको सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

नदी क्षेत्र अतिक्रमण लगाइएको बारको करिब १० मेट्रिक टन दाउरा सो अवसरमा जलाइएको थियो । लामो समयदेखि सुकुम्बासीका नाममा नदी किनार अतित्रमण गरेर बस्नेलाई सरकारले हटाउन नसक्दा पनि नदी सफाइले मूर्त रुप लिन नसकेको अभियाकर्मीको भनाइ छ ।

सफाइमा काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकार, तीनैवटा सुरक्षा निकायका अधिकारीलगायत सफाइ अभियानकर्मीको सक्रियता थियो । उपस्थित सबैले सुकुम्बासी समस्या समाधान नगरी वाग्मती सफाइले सोचेजति सफलता हासिल गर्न नसक्नेमा सबैको एकमत रहेको जनाइएको छ ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइको ३ सय ५औँ हप्तामा माकालबारी सानो पुल क्षेत्रमा सफाइ गरियो । कुहिने फोहर नदी किनारमा खाडल खनी गाडियो । नकुहिने फोहर गोकर्णेश्वर नगरपालिकाले व्यवस्थापन गरेको जनाइएको छ ।

रुद्रमती सफाइको १ सय ९५औँ हप्तामा रातोपुलबाट सेतोपुलसम्मको नदी किनारमा जमेको धुलोलगायत फोहर व्यवस्थापन गरियो । त्यस क्षेत्रमा रोपिएका बिरुवा गोडमेल गर्नुका साथै स्थानीयवासीलाई नदीमा फोहर फाल्न नदिन अनुरोध गरिएको अभियानकर्मी रोहित गिरीले जानकारी दिनुभयो ।

विष्णुमती सफाइ अभियानको १ सय ७०औँ हप्तामा तारकेश्वर नगरपालिका–१० र टोखा नगरपालिका–९ सीमास्थित शिव मन्दिर क्षेत्रमा सफाइ गरियो । तीनै वटा सुरक्षा निकायका साथै स्थानीय संस्था तथा स्थानीयवासीको सक्रियतामा भएको सफाइबाट एक ट्रक फोहर व्यवस्थापन गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले राससलाई जानकारी दिए ।

मनोहरा सफाइको १ सय ४२औँ हप्तामा मनोहरा काठमाडौँ महानगरपालिका–३२ स्थित कृषि बजारअघिको नदी किनारमा सफाइ गरियो । एक सय ५० जनाभन्दा बढी अभियानकर्मीको सक्रियतामा भएका सफाइबाट एक ट्रक फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक चन्द्रप्रसाद दङ्गालले बताए ।

चक्रपथ पश्चिम खण्ड सफाइको १ सय २२औँ हप्तामा सोल्टी दोबाटोबाट चख्खुमार्गस्थित कुमारी मन्दिरसम्म सफाइ गरियो । सुरक्षा निकायसहित करिब १०० जना अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट एक ट्रक फोहर व्यवस्थापन गरिएको संयोजक ताराबहादुर कुँवरले जानकारी दिए ।

यसैगरी आज उपत्यकाको वाग्मती किनारको तिलगङ्गा, सुन्दरीघाट, चक्रपथको उत्तरी खण्डलगायत स्थानमा पनि सफाइ जारी रहेको अभियानकर्मीले जनाएका छन् । नागरिकस्तरबाट शुरु भएको सफाइ अभियानमा स्थानीय तहका जनप्रतिनिधिका साथै सरोकार भएका सरकारी निकायले पनि दिनुपर्ने जति ध्यान नदिएको अभियानकर्मीको गुनासो छ ।

विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान शुरु भए पनि नदी किनार अतिक्रमण गरी बसेका नक्कली सुुकुम्वासीलाई सरकारले हटाउन सकेको छैन । यसमा अधिकारसम्पन्न वाग्मती एकीकृत विकास समिति र शहरी विकास मन्त्रालयको ध्यान जान सकेको छैन । महाअभियानबाट प्रभावित भई हाल उपत्यकाका प्रमुख नदीसहित चक्रपथलगायत देशभरका १ सय ५ स्थानमा सफाइ भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *