बलात्कार प्रयासको उजुरी दिन आएकी युवतीलाई पुलिसले भन्यो –‘बलात्कार भएपछि हेरौंला’

डिसी नेपाल
२१ मंसिर २०७६ १५:०९

एजेन्सी। भारतको उत्तर प्रदेशको उन्नावमा बलात्कार पीडित एक युवतीलाई जिउँदै जलाएर हत्या गरेको घटनाले सिंगो भारतमा आक्रोश छ । यही शहरकी अर्की एक युवतीलाई केही युवाहरुले बलात्कार गर्ने प्रयास गरे । युवती उनीहरुबाट बचेर भाग्न सफल भइन् । यो घटको उजुरी गर्न पीडित युवती पुलिसमा गइन् तर पुलिसकर्मीले उनीसँग निकै गैरजिम्मेवार व्यवहार गरेका छन् ।

पीडितले भारतीय मिडिया आज तकलाई बताएअनुसार कुनै पनि पुलिसकर्मी उनको गुनासो सुन्न तयार थिएनन् । पीडितका अनुसार पुलिसकर्मीले उनलाई अहिले बलात्कार नभएको भन्दै जब बलात्कार हुन्छ त्यसपछि हेरौंला भनेर फर्काएका हुन् । पीडितले पुलिसको यस्तो व्यवहारपछि आफूलाई साँच्चै बलात्कार गरेर हत्या गरियो भने पुलिसले के गर्छ भनेर प्रश्न गरेकी छिन् । युवतीका अनुसार यो घटना ३ महिना पुरानो हो । त्यतिबेला उनी औषधी लिएर आउँदा केही व्यक्तिले उनलाई बलात्कार गर्ने प्रयास गरेका थिए ।

पीडितले तत्कालै पुलिसलाई फोन गरेकी थिइन् । पुलिसले गाडीमा केही पुलिसकर्मी घटनास्थल पठाएको भने पनि पुलिस टिम आएन । त्यसपछि उनले सिधै उन्नाव पुलि कप्तानको कार्यालयमा फोन गरिन् । त्यहाँबाट जहाँ घटना भएको हो त्यहीँ मुद्दा दर्ता हुने जवाफ आयो । पीडितका अनुसार उनले अदालतमा पनि उजुरी दर्ता गराएकी छिन् तर अहिलेसम्म आरोपी पक्राउ परेका छैनन् । उनी अहिलेसम्म तीस पटक बिहार थाना पुगिन् तर पुलिसले उजुरी लिन मान्दैन ।

बिहार थाना त्यही थाना हो जहाँ बिहीबार जलाएर मारिएकी पीडितले एक वर्षअघि बलात्कारको मुद्दा दर्ता गराउन निकै सास्ती खेप्नुपरेको थियो । यही थानाको कमजोर केस फाइलका कारण बलात्कारका मुख्य आरोपी जमानतमा जेलबाट छुटेका थिए र छुटेलगत्तै पीडितलाई जिउन्दै आगो लगाएर मारिदिएका थिए । थानाका पुलिसकर्मीले आफ्नो खिल्ली उडाउने गरेको पीडित युवतीले बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *