सागको आठौं दिन १५ खेलमा प्रतिश्पर्धा हुँदै

डिसी नेपाल
२२ मंसिर २०७६ ७:१०

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आठौं दिन आज आइतबार विभिन्न १५ खेलमा प्रतिस्पर्धा हुँदैछ। सागको आठौं दिन काठमाडौं पोखरा र जनकपुरमा गरि कुल १५ खेलमा प्रतिस्पर्धा हुनेछ।

सागमा आइतबार आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, ह्यान्डबल, जुडो, पौडी, सुटिङ,स्क्वास, टेनिस, बिच भलिबल, भारोत्तोलन र कुस्तीमा प्रतिस्पर्धा हुनेछ ।

जसमा महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुन्छ । कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछ ।

पदक तालिकामा सातौं दिनसम्म भारतले ११९ स्वर्णसहित अग्रता बनाएको छ । ४३ स्वर्णसहित नेपालले भारतलाई पछ्याईरहेको छ ।

फुटबल

पुरुष फुटबलतर्फ आइतबार नेपालले बंगलादेशको सामना गर्दैछ । नेपाल र बंगलादेशबीचको विजेताले फाइनल पुग्ने अर्काे टिमको टुंगो लाग्नेछ।

भुटान यस अघि नै फाइनल पुगिसकेको छ । त्यसैले आइतबार नेपाललाई फाइनल पुग्न कम्तिमा बराबरीको आवश्यकता हुनेछ । यदि पराजित भएको खण्डमा भने नेपालले कास्य पदकको लागि खेल्नेछ ।

क्रिकेट 

क्रिकेट अन्तर्गत महिला क्रिकेटमा आइतबार स्वर्ण पदकको लागि टेष्ट राष्ट्र श्रीलंका र बंगलादेश भिड्दै छन् । नेपालले भने माल्दिभ्सलाई सहजै पराजित गर्दै कास्य पदक जितेको छ ।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पुरुष क्रिकेटमा टेष्ट राष्ट्र श्रीलंका यू-२३ र बंगलादेश यू-२३ बीच प्रतिस्पर्धा हुनेछ । लिग चरणको अन्तिम खेल बिहान ११ बजे सुरु हुनेछ ।

एक खेल अगाबै श्रीलंका र बंगलादेश फाइनल पुगिसकेका छन् । घरेलु टोली नेपाल भने दुवै टेष्ट राष्ट्रसंग पराजित भएको थियो ।

सुटिङ 

सागको आठौं दिन सुटिङतर्फ एक मात्रै खेल रहेको छ । सातदोबाटोस्थित सुटिङ हलमा एयर पेस्तोल खेल हुनेछ । दुई चरणमा खेलाईने खेलको फाइनल आइतबार नै हुनेछ ।

स्क्वास 

स्क्वासतर्फ आइतबार महिला पुरुष तथा टिम इभेन्टमा प्रतिस्पर्धा हुँदैछ । सातदाबोटोस्थित स्क्वास हलमा हुने खेलमा नेपालले टिम इभेन्ट तर्फमात्रै खेल्नेछ । अन्य विधामा भने नेपाल यस अघिनै बाहिरिसकेको छ । फाइनल खेलमा भारत र पाकिस्तान भिड्नेछन् ।

जुडो 

साग अन्तर्गत जुडोको खेल आइतबारबाट सुरु हुँदैछ । आठौं दिनमा आएर सुरु भएको पहिलो दिन ७ स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ । जसमा नेपालका ४ महिला तथा पुरुषतर्फ ३ खेलाडीले भाग लिनेछन् । खेल त्रिभुवन आर्मी क्लबको शारिरीक तथा प्रशिक्षण केन्द्रमा हुनेछ ।

बक्सिङ 

बक्सिङमा आइतबार विभिन्न १४ तौल समूहको सेमिफाइनल खेल हुनेछ । जसमा नेपालले ६ तौल समूहमा प्रतिस्पर्धा गर्नेछ ।

भारोत्तोलन 

भारोत्तोलनमा आइतबार पनि विभिन्न स्पर्धा हुनेछ । पोखरामा हुने खेलमा पुरुषको ३ र महिलाको २ स्पर्धा हुनेछ । पुरुष तर्फ १०२ केजी, १०९ केजी र १०९ केजी माथि तौल समुहको खेल हुनेछ । यस्तै महिलामा ८७ केजी र ८७ केजी माथिको तौल समुहका खेल हुनेछ ।

ह्याण्डबल 

ह्याण्डबलमा आइतबार अन्तिम दिन स्वर्ण र कास्य पदकको लागि खेल हुनेछ । महिलातर्फको स्वर्णका लागि नेपाल र भारत खेल्ने छन् । पुरुषतर्फ भारतले पाकिस्तानको सामना गर्ने छ । महिलातर्फ कास्यको लागि बंगलादेश र पाकिस्तान भिड्ने छन् । पुरुषतर्फ बंगलादेश र श्रीलंका खेल्नेछन् ।

बास्केटबल 

बास्केटबलमा आइतबार पनि लिग चरणको विभिन्न खेल हुनेछ । आइतबार नेपालले पुरुषमा माल्दिभ्ससँग खेल्ने छन् । महिलामा नेपालले भुटानसँग खेल्नेछ । यस्तै थ्री बाई थ्री बास्केटबलको महिलामा नेपालले श्रीलंका र भारतसँग खेल्नेछ । पुरुषमा नेपालले भारतसँग खेल्नेछ ।

पौडी 

पौडीमा आइतबार विभिन्न इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।

आर्चरी 

आर्चरीमा आइतबार विभिन्न खेलहरु हुने छ । आइतबार विभिन्न विधामा फाइनल खेल हुनेछ ।

फेन्सिङ 

फेन्सिङमा आइतबारदेखि टिम इभेन्टका प्रतिस्पर्धा सुरु हुनेछ । फेन्सिङमा अहिलेसम्म भारतले पाँच र बंगलादेशले एक स्वर्ण जितेको छ ।

टेनिस 

टेनिसमा आइतबार विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ । सातदोबाटोस्थित लनटेनिस कोर्टमा आइतबार विभिन्न स्पर्धाको फाइनल खेल हुनेछ।

कुस्ती 

कुस्तिको खेल जनकपुरमा आइतबार पनि हुनेछ । नेपालले एक स्वर्ण जितिसकेको छ ।

बिच भलिबल 

बिच भलिबलमा आइतबार सेमिफाइनल र फाइनलका खेलहरु हुनेछन् । महिला र पुरुषमा दुवै तर्फा उपाधिका लागि खेल्ने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *